सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्यांग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।
कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५ सय ५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७ सय ३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्यांग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए ।
कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम) बाट खसी, बोका तथा च्यांग्राको बिक्री शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्यांग्राको मूल्य निर्धारण गरिएको हो ।
सरकारले दशैंका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झै यस पटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो ।
सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने उनले बताए ।
यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा करीब ३ हजारको संख्यामा खसी, बोका तथा च्यांग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि १ हजार ९ सय २० च्यांग्रा र करिब १ हजार खसी, बोका काठमाडौं ल्याइँदै छ ।
केही खसी, बोका तथा च्यांग्रा काठमाडौँ आइसकेका छन् । अरु १÷२ दिनभित्र ल्याइने महाप्रबन्धक गौचनले जानकारी दिए । कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्यांग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ । सम्भव भएसम्म १ परिवारलाई १ खसी, बोका तथा च्यांग्रा बिक्री गरिने उनको भनाइ छ ।
घाटा खाएर उपभोक्तालाई राहत
सरकारले खसी, बोका तथा च्यांग्रा बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिएको छ । खरीद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको महाप्रबन्धक गौचनले जानकारी दिए । कम्पनीले खसी, बोका ढुवानीबाहेक जिउँदो प्रतिकिलो ५ सय ७० र दाङबाट प्रतिकिलो ५ सय ३५ मा खरीद गरेको छ ।
यस्तै च्यांग्रा जिउँदो प्रतिकिलो ५ सय ६० मा खरीद गरिएको छ । कम्पनीले च्यांग्रा मुस्ताङबाट खरीद गरेर ल्याएको हो । ती च्यांग्रा ४ दिन हिँडाएर ल्याएको बताइएको छ ।
कम्पनीले मुस्ताङबाट १ हजार ९ सय २० च्यांग्रा र मकवानपुर तथा दाङबाट १ हजार खसीबोका खरीद गरेको हो ।
अहिले राजधानीका अन्य खसी बजारमा जिउँदो खसी बोका ६ सय ५० र च्यांग्रा ७ सय ५० प्रतिकिलोमा बिक्री भइरहेको छ ।
सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको खरीद समितिले गरेको मूल्यका आधारमा ती खसी, बोका तथा च्याङ्ग्रा किसानसँग खरीद गरिएको कम्पनीले जनाएको छ ।
सरकारले सिधै किसानको गोठबाट खरीद गर्दा उनीहरूले पनि उचित मूल्य पाएको कम्पनीको महाप्रबन्धक गौचनले बताए । सरकारले खरीद गरेको मूल्यका आधारमा नै अन्य किसानले पनि खसी, बोका तथा च्यांग्रा बिक्री गरेका छन् ।
खसी, बोका तथा च्यांग्रा व्यापारीले किसानबाट सस्तोमा खरीद गरेर उपभोक्तालाई महँगोमा बिक्री गर्ने गर्दछन् । जसबाट किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेका पाइन्छ ।






