ताजा समाचार

भाद्र २४ गते २०७६

सुन्दर सृष्टि, अनुपम दृष्टि (भिडियोसहित)

मान्छेको इतिहासमा प्रतिशोधले जति क्षति अरु केहीले गरेको छैन । यसकै कारण भयानक युद्धहरु भएका छन्, हत्या भएका छन् । विरलै मान्छेमात्र प्रतिशोधबाट माथि उठेका छन्, तिनीहरु मानव सभ्यताकै लागि उदाहरणीय बनेका छन् । गान्धीका हत्यारा नाथुराम गोड्से र गान्धीपुत्रको पत्रव्यवहार हामी चाख मानेर पढ्छौं । यस्तै, कठोर पीडा खेपेर पनि प्रतिशोध नसाध्ने नाम हो ः सृष्टि रेग्मी ।

समयले उनलाई कठिन र विशिष्ट मोडमा ल्याइपु¥याएको छ । जहाँबाट उनलाई पछि फकर्ने छुट छैन, बाटो अगाडिमात्र छ । उनी बाजुराको बूढीनन्दा नगरपालिकाकी उपमेयर हुन् । २४ वर्षअघि उनका बुवा ताराचन्द्र गाविस अध्यक्ष थिए । ताराचन्द्र ग्रामीण स्वास्थ्य कार्यकर्ताको जागीर छाडेर गाविस अध्यक्ष बनेका थिए, सृष्टि बाजुरा जिल्ला प्राविधिक कार्यालयको जागीर छाडेर उपमेयर बनिन् ।

बुवा गाविस अध्यक्ष हुँदा ४ वर्षकी सृष्टिका बुवा अहिले छैनन् । ताराचन्द्रको खप्पर नेकपा बाजुरा जिल्ला कार्यालयको दराजमा छ । त्यही नेकपामा ताराचन्द्रको हत्याको जिम्मेवारी लिने पार्टी पनि मिसिएको छ । साबिक एमालेबाट उपमेयर निर्वाचित सृष्टि आफ्नै बुवाको हत्या गर्ने पार्टीका कार्यकतासँगसँगै सहकार्य गरिरहेकी छन् । सशस्त्र विद्रोहका हत्या, बेपत्ताका घटना मिलाउन मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग बनेका छन् । आयोग बनेपछि काम हुन सकेको छैन । बरु समयले विस्तारै युद्धका घाउहरु थाक्दै गएका छन् । कतै कतै उकुच पनि पल्टिएका छन् ।

तत्कालीन नेकपा (एमाले) को बाजुरा उपसचिव ताराचन्द्र ‘शान्ति र प्रजातन्त्रका लागि जनअभियान’ का क्रममा सदरमुकाम मार्तडीबाट हिडेर २०६० फागुन १३ गते कुल्देवमाण्डौको मौरे पुगेका थिए । तत्कालीन नेकपा माओवादी कार्यकर्ताले उनलाई त्यहींबाट नियन्त्रणमा लिए । अपहरण भएको अलि दिनपछि ‘म सकुशल छु, चिन्ता नमान्नू, आइहाल्छु’ भन्ने चिठी घर आयो । चिठी केही आश्वास्त भएको परिवारले त्यसको केही दिनमै हत्या भएको खबर सुन्यो । युद्धविरामका बेला माओवादीले चैत १२ गते उनलाई ’सफाया गरेको’ विज्ञप्ति निकाल्यो ।

उनले भनिन्, ‘त्यो बेला माओवादीका नरेन्द्र र पवनले हत्या गरेको सुनेको हो । अब न्याय पाउनुप¥यो । सहिद घोषणा हुनुप¥यो ।’ ताराचन्द्रसँग माओवादी ३० लाख चन्दा मागेको थियो । सृष्टिकी आमा शान्तालाई पनि असार २०५९ मा माओवादी कार्यकर्ताले मरणासन्न हुने गरी पिटेका थिए ।

युद्धविराम भइसकेपछि पार्टीले शान्ति अभियान चलाउँदा हत्या गरिएका ताराचन्द्रका ४ सन्तान छन् । यो घटना राजनीतिक नभएर व्यक्तिगत पूर्वाग्रहका कारण भएको उनको दाबी छ । ‘त्यो घटनालाई विरोधको रुपमा हेर्नुभन्दा रचनात्मक रुपमा लिएर, कसरी हामीले देशको लागि गर्न सकिन्छ भन्ने सोच्नुपर्छ,’ मेलमिलाप र समृद्धिको अनुपम उदाहरण उनी पेश गर्छिन् ।

बुवाको हत्या जसले गरे, तिनै मान्छेसँग सहकार्य कसरी भन्ने प्रश्नमा उनी यसलाई फरक कुरा भएको बताउँछन् । उनले भनिन्, ‘फरक कुरा हो यो । त्यो घटना पूरै राजनीतिक हो जस्तो लाग्दैन । त्यो छानबिन पनि होला । जुन बलिदान उहाँले गर्नु भो, उहाँको सपना, जिम्मेवारी कहीकतै हामीलाई छाडेर जानुभएको छ जस्तो लाग्छ ।’ बुवाले छाडेका बाँकी जिम्मेवारी पूरा गर्न पनि सकारात्मक रुपमा लिएर म आफैं राजनीतिमा होमिएको उनको भनाइ छ । उनी थप्छिन्, ‘अहिले उनीहरुसँग पनि सहकार्य भइरहेको छ । ढिलोचाडो छानबिन हुन्छ भन्ने विश्वास छ ।’

समयले उनलाई कठिन र विशिष्ट मोडमा ल्याइपु¥याएको छ । जहाँबाट उनलाई पछि फकर्ने छुट छैन, बाटो अगाडिमात्र छ ।

ताराचन्द्र बाजुरामा नून चामल सजिलै पु¥याउन घोडेटो बनाउन चाहन्थे । अहिले छोरी बावुको सपना साकार पार्न तम्सिएकी छन् । स्थानीय तहका उप–प्रमुखलाई दिएको जिम्मेवारी पूरा गर्दै बुवाको सपना पूरा गर्न लाग्ने उनी बताउँछिन्, । उनले भनिन्, ‘पूर्वाधार विकासलाई अगाडि बढाएर बुवाको सपना साकार पार्छु ।’ उनको जिल्ला मानव विकास सूचकांकमा ७५ औं नम्बरमा छ । सृष्टिले थपिन्, ‘समग्र विकाससँगै छाउपडी प्रथा र बालविवाहको अन्त्य मेरा प्राथमिकता हुन् ।’
बुढीनन्दा नगरपालिका ३ गाविस मिलेर बनेको हो । सदरमुकाम मार्तडीबाट ४० किमीमा पर्ने यसको जनसंख्या करिब १६ हजार छ । सदरमुकामपछिको दोस्रो ठूलो ठाउँ हो यो । मार्तडी एअरपोर्ट यही नगरपालिकामा छ । साबिक कोल्टी गाविसमा जन्मिएकी हुन् सृष्टि । रोड पुगेको, बत्ती पुगेको भए पनि विकासको हिसाबले धेरै पछि छ ।

उनको परिवारै राजीतिक पृष्ठभूमिको हो । बुवा गाविस अध्यक्ष भएका थिए । काका बलदेव अहिले प्रदेशसभा सदस्य छन् । कोल्टीमा शिक्षा आर्जन गर्ने राम्रो अवसर थिएन । द्वन्द्व कालको असहताले पनि पढ्ने क्रममा सधै घरबाहिरै भइन् । स्कुल नेपालगञ्ज, कक्षा ११ र १२ काठमाडौं, ब्याचलर पोखराबाट गरेकी उनी मास्टर चितवनबाट गर्दै छिन् । उनले भनिन्, ‘२५ वर्षको उमेरमा १६, १७ वर्ष घरबाहिर बिते ।’

परिवार राजनीतिक भए पनि उनलाई कसैले राजनीतिमा ल्याएका होइनन् । जुन राजनीतिकै कारण उनका बुवा बितेका थिए । उनी स्वतःस्फूर्त राजनीतिमा होमिएकी हुन् । निजी स्कुलमा पढेकी उनी विद्यार्थी संगठनमा संलग्न थिइनन् । ७ वर्ष भो राजनीतिमा लागेको । तीतो अनुभव हुँदहुँदै राजनीतिमा केले आकर्षण ग¥यो भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘हाम्रो परिवार र देशकै लागि ठूलो पीडाको कुरा भयो । धेरै सुन्दर उपलब्धि पनि छन् । लोकतन्त्र, गणतन्त्र आएको छ । हामीले व्यक्तिगत रुपमा धेरै गुमायौं । हाम्रो जस्तो परिवार धेरै होलान् ।’ सृष्टि जति स्पष्ट विचार राख्छिन्, त्यति नै यथार्थ पनि बोल्छिन् । विश्वविद्यालयमा पढ्न सुरु गर्दा पनि उनमा राजनीतिक चेत थिएन । ‘पारिवारिक पृष्ठभूमि भए पनि मलाई अखिल भन्ने नाम पनि थाहा थिएन । म स्वीकार गर्छु,’ उनले भनिन् ।

पोखरा विश्वविद्यालयमा अनेक विकृति थिए । अझै छन् । उनले विभिन्न अनियमितता देखिन् । विद्यार्थी राजनीति सुरु गर्नुको कारण उनी खोल्छिन्, ‘कन्हैयाकुमार जसरी राजनीतिमा आए नि । डुबिराको मान्छेलाई बाहिरबाट हेरेर बचाउन सकिन्न, हामै फाल्नुपर्छ । मेरो दिमागमा यो कुरा आएको हुनुपर्छ । विश्वविद्यालयमा सुधार गर्न राजनीतिमा लागें ।’ उनी अनेरास्ववियुकी केन्द्रीय सदस्य र पोखरा विश्वविद्यालयको महिला विभाग प्रमुख हुन् ।

एउटा सामान्य खुसी परिवार कसरी तहसनहस हुन्छ र अभिभावकको परिवारलाई मृत्युले कहाँ पुरयाइदिन्छ उनले भोगिन् । अभिभावकको छायाँ नहुँदाको संघर्ष सम्झिदा उनी भावुक भइन् । ‘आर्थिक समस्या त स्वभाविकै थियो, त्योभन्दा ठूलो मानसिक समस्या,’ उनी विगतमा पुगिन् ।
सानैमा बुवाको हत्या भएपछि आमा शान्ताले चारै सन्तानलाई राम्रो शिक्षादीक्षा दिइन् । शान्ता अनमी हुन् । उनीहरुले छात्रवृत्ति पाए । नेपालगञ्जमा घर थियो, त्यसको भाडा आउथ्यो । परिवार चलाउन थप भरथेग मामाहरुले गरे । विश्वविद्यालयबाट इन्जिनियरीङ गरेपछि उनी जागिर खान बाजुरै पुगिन् ।

डुबिराको मान्छेलाई बाहिरबाट हेरेर बचाउन सकिन्न, हामै फाल्नुपर्छ । मेरो दिमागमा यो कुरा आएको हुनुपर्छ । विश्वविद्यालयमा सुधार गर्न राजनीतिमा लागें ।’

बाजुरा गएपछि उनलाई परिवर्तनका लागि फेरि राजनीति चाहिने महसुस भो । उनले परिस्थितिको मूल्यांकन गरिन् । राजनीति गर्ने सुर कसिन् । बावुको हत्यापछिको साहनुभूति र उनको इच्छाशक्ति हेरेर उनका अग्रजहरुले पनि उनलाई पालो दिए । बूढीनन्दा नगरपालिकाको चुनावमा उनले ऐतिहासिक जित हात पारिन् । मेयरसहित सबै वडाध्यक्ष नेपाली कांग्रेसले जित्यो । उनले डेढ सय भोटले जितिन् । एमालेबाट मेयर उम्मेदवारले करिब डेढ सय भोटले हारे । मतदाता करिब ७ हजार थिए । उनी भन्छिन्, ‘बाजुरमा सक्षम नेता नभएर मैले पालो पाएको होइन । हामी युवाले पनि केही गर्नुपर्छ भन्ने हो ।’

नगरमा नेपाली कांग्रेसको बहुमत आयो । भर्खरै राजनीति सुरु गरेकी २२ वर्षे युवतीको जित पार्टीका अरु सबैको हार भयो । यसका कारणबारे पनि उनले मिहिन तवरले सोचेकी छन् । उनी पब्लिक सेन्टीमेन्टले पनि काम गरेको बताउँछिन् । उसो त पुरानो अंकगणित अनुसार बूढीनन्दा एमाले बलियो भएको ठाउँ हो । निर्माण व्यवसायीले त्यहाँ मेयर जितेका हुन् । स्थानीय चुनावको महत्व बुझाउन नसक्नु, जित पक्का छ भनेर ढुक्क हुनुले पनि पराजय भएको उनको ठम्याइ छ । चुनावी परिणाममा पैसाको चलखेल पनि निर्णायक भएको उनले देखिन् ।

मेयरसहित सबै वडाध्यक्ष फरक पार्टीका भएपछि नगरपालिकाको काम सहज भएन । पहिलो वर्ष बजेट पनि बहुमतले पारित गरियो । उनलाई जुन गतिमा काम गरौंला भन्ने थियो, त्यो हुन सकेन । उपप्रमुखलाई पनि कानुनले शक्तिशाली बनाएको छ । योजना अनुगमन, न्यायिक समिति, संघ, संस्था समन्वय, बजेट तर्जुमा समिति संयोजक पनि उपप्रमुख छन् । उनले भनिन्, ‘चुनौती नै छ काम गर्न । पहिलो वर्ष उहाँहरुलाई आडम्बर थियो । १ वर्षमा रिजल्ट देखिएन । दोस्रो वर्षबाट काम स्वभाविक गतिमा हुन थालेको छ ।’

धेरै स्थानीय तहमा झै बूढीनन्दामा पनि प्रमुख–उप्रमुख टकराव देखियो । पहिलो वर्ष बजेट सर्वसम्मत आएन । बिलको भुक्तानी दिने विषयमा विवाद भयो । ऊर्जाशील सृष्टिलाई अनियमितता भएको छनक आयो । उनले आफैं रोड नाप्न गएर भुक्तानी रोकिन् । नगरमा टुक्रे योजना बढी भएको, शिक्षाको विकासमा ध्यान दिन नसकिएको उनलाई अनुभव भएको छ ।

बूढीनन्दाले आफ्ना सम्भावना र चुनौती पहिचान गरेको छ । नगरको गुरुयोजना बनाइएको छ । भौतिक पूर्वाधारलाई नै पहिलो नम्बरमा राखिएको छ । रोड, खानेपानी र शिक्षासँगै सामाजिक विकासलाई लैजाने खाका बनेको छ । कृषि र पर्यटनको सम्भावना पनि यहाँ छ । संसारमा तिलिचोपछि उच्च स्थानमा रहेको भूनन्दा ताल यही छ । पाटनहरु छन् । केन्द्र सरकारले पनि १ सय गन्तव्यमा यसलाई समेटेको छ । सृष्टि यहाँका ओखर, टिम्मुर, सिस्नो प्रवद्र्धन गरी ग्रामीण पर्यटनमा टेवा पु¥याउने योजना सुनाउँछिन् ।

कहिले हेलिकोप्टरबाट सुत्केरीको उद्धार त, कहिले छाउघरमा महिलाको मृत्युका समाचारमा बाजुरा जोडिइरहन्छ । मानव सूचकांकको पुछारमा रहेको बाजुरामा महिलाको अवस्था दर्दनाक छ । कामको विभाजन अन्यायपूर्ण छ । महिलालाई कुनै पुरुषले कुटे राम्रो नारीले सहनुपर्छ भन्ने मान्यता छ । अप्ठ्यारो काम महिलालाई, सजिला पुरुषलाई । समाजको बिब्ल्याटो न्याय उनी देखिरहेकी छन् । यसैलाई परिवर्तन गर्ने योजना पनि बनाउँदै छिन् ।

निर्वाचित भएको पहिलो वर्ष नै छाउगोठ हटाउन पहल थालियो । निर्वाचित भएको साढे २ वर्षमा १ सय २५ छाउगोठ भत्किइएका छन् । अझै १० देखि १५ छाउगोठ रहेको उनी स्वीकार्छिन् । अझै महिला आफैं छाउगोठ हटाउन तयार छैनन् । सृष्टि थप्छिन्, ‘मेरो कार्यकालसम्म निर्मूल पार्छु भन्ने आन्तरिक प्रतिवद्धता छ मेरो ।’ यहाँका ८ वडामा यो समस्या सामान्य छ, २ वडामा बढी छ । कोठामा आउनेको संख्या औंलामा गन्न सकिन्छ ।

उनैको जोडबलमा कार्यपालिकाबाट छाउगोठमा बस्नेलाई नगरपालिकाबाट दिइने सम्पूर्ण सेवा, सुविधाबाट वञ्चित गराउने, सिफारिससहित नदिने निर्णय भयो । कार्यविधि पनि बन्यो । पहिलो वर्ष यो अभियान मेयरलगायत वडाध्यक्षहरुले सकारात्मक रुपमा लिएनन् । १० वडाका अध्यक्ष सबै पुरुष छन् । दोस्रो वर्ष अम्बिका बोहोराको सन्तानसहित निस्सासिएर मृत्यु भयो । विपत्तिबाट पाठ सिकेर मेयर र वडाध्यक्षहरुले यो काममा सहयोग गरे ।

स्थानीय तह प्रमुखमा महिलालाई अवसर दिइएन, उपप्रमुखमै राखियो भन्ने भनाइसँग उनी पूरै सहमत छैनन् । उनी अहिले भइरहेको अवस्थालाई पनि सकारात्मक रुपमा लिनुपर्ने विचार राख्छिन् । उनी भन्छिन्, ‘कसमेकम यति महिला त आयौं । विकास र सिक्ने अवसर पायौं ।’ अब धेरै महिला आरक्षणभन्दा पनि समाजबाट आफैं आउने उनको ठम्याइ छ । विश्वविद्यालयमा प्राविधिक शिक्षा आर्जन गर्दागर्दै उपमेयर बनेकी सृष्टिले राजनीति गर्ने भावी खाका बनाएकी छैनन् ।

अवसर सिर्जना नभए वैकल्पिक जीवन पनि रहेको भन्दै उनी ढुक्क छिन् । २४ वर्षीया सृष्टि अहिले बूढीनन्दाको विकास र समृद्धिको मार्गचित्र कोर्नै व्यस्त छिन् । आफ्नो वैवाहिक जीवनबारे नसोचेको उनले बताइन् । अन्त्यमा उनले भनिन्, ‘सानै उमेरकी छु विवाहका लागि । जुन दिन आवश्यकता महसुस हुन्छ । त्यो जिम्मेवारीमा म जान्छु ।’

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।