नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा नयाँ नेतृत्वका लागि फेरि लबिङ सुरु भएको छ ।
काँग्रेसभित्र भदौ २४ गतेको पूर्वनिर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि भ्रातृ सङ्गठनमा नेतृत्व चयन गर्ने कसरत भइरहेकाले नेविसंघमा पनि नेतृत्वका लागि आकाँक्षीहरुले लबिङ तीव्र पारेका हु्न् ।
१२औँ महाधिवेशन गराउन नसेकेको भन्दै गत माघ २८ गते नैनसिंह महर नेतृत्वको ११ औँ निर्वािचत कार्यसमितिलाई राजीनामा गराउन लगाइए पनि ६ महिना बित्दासमेत नेविसंघ ले नेतृत्व पाउन सकेको छैन ।
गत फागुन २ गते बसेको केन्द्रीय समिति बैठकले महरको राजीनामा स्वीकृत गर्दै नेविसंघमा तदर्थसमितिबाट नेतृत्व चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो ।
आफू निकटका विद्यार्थी नेतालाई नेविसंघको नेतृत्वमा ल्याउन देउवा निकटकै नेताहरु यतिबेला बूढानीलकण्ठ धाउन थालेको पाइएको छ ।
सभापति देउवा निकट नेताहरु उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामनत्री प्रकाशशरण महत, नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदलगायत आफूनिकट विद्यार्थी नेतालाई नेविसंघको नेतृत्वमा ल्याउने लागि परेका छन् ।
यस्तै संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडले र महामन्त्री शशांक कोइरालाले पनि आफू निकट विद्यार्थी नेतृत्वमा ल्याउन देउवालाई दबाब दिँदै आएका छन् ।
उमेर हदबन्दी र कुन संरचनामा तदर्थ समिति गठन गर्ने भन्नेमा पार्टीभित्र विवाद छ । तर विधानमा ३२ वर्षीय उमेरको हद १२ औँ महाधिवेशनबाट लागू हुने भएकाले पनि तदर्थ समितिमा उमेर हदबन्दी लागू नहुने संस्थापन पक्षको तर्क छ ।
सोही तर्कमा टेकेर संस्थापन पक्ष तदर्थ समितिको संयोजकमा ३२ वर्ष उमेर माथिका विद्यार्थी नेतालाई ल्याउन सहमत देखिएको छ ।
गत बुधबार देउवा निवासमा बसेको पदाधिकारी बैठकले नेविसंघमा ३२ वर्ष उमेरमाथिको विद्यार्थीलाई ल्याउने सहमति भएको बैठकमा सहभागि एक नेताले बताए।
उमेर हदबन्दी विना नै नेविसंघमा नेतृत्व ल्याउने सहमति भएसँगै शुभराम बस्नेत, राजिव ढुंगाना, मनोजमणि आचार्य, ऋषिजंग शाह र पुष्पबहादुर शाहको नाम देउवासामू प्रस्तुत गरिएको बुझिएको छ ।
नेविसंघ स्रोतका अनुसार महामन्त्री खड्काले कृष्णप्रसाद सिटौलालाई पनि विश्वासमा लिएर बस्नेतलाई नेतृत्वमा ल्याउन सुझाएका छन् । बस्नेतको नाममा उपसभापति निधि पनि सकारात्मक देखिएका छन् ।
खड्काले बस्नेतको नामअघि सारेपछि निधिले नेविसंघका पूर्व महामन्त्री सरोज थापालाई नेतृत्वमा ल्याउनुपर्ने अडान छोडेको स्रोतको दाबी छ । योसँगै बस्नेतको सम्भावना बलियो भन्दै गएको छ ।
बस्नेत नेविसंघको ११ औँं महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । यता उपसभापति विजयकुमार गच्छदार, ज्ञनेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजालले ढुंगानाको नाम अघि सारेको छन् ।
ढुंगानालाई महामन्त्री कोइरालाको पनि साथ रहेको छ । यद्यपि यसमा नेता शेखर कोइरालाको विमति रहेको बुझिएको छ ।
११ औँ महाधिवेशनमा महरका निकटतम प्रतिस्पर्धी आचार्यलाई वरिष्ठ नेतादेखि केही युवा नेताहरुको पनि समर्थन रहेको छ ।
जसमा संस्थापन निकट पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र प्रदीप पौडेल लगायतका नेताहरुले १२ औैं महाधिवेशनको सुनिश्चिताका लागि आचार्य उपयुक्त पात्र सुझाएको स्रोतको दाबी छ ।
यता शाहद्वायका लागि सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद र बालकृष्ण खाँणलगायतका नेताले लबिङ गरिरहेका छन् । पुष्प शाहको सम्भावना पनि राम्रै देखिन्छ । उनलाई देउवा पत्नी आरजु राणा देउवाको साथ रहेको बुझिएको छ ।
पार्टीदेखि भ्रातृ संगठनमा हुने निर्णयमा आरजु हावी हुने गरेको पाइएकाले पनि पुष्प शाहले पनि नेविसंघको नेतृत्वको जिम्मेवारी पाउन सक्ने आकलन गरिएको छ । यता ऋषिजंग शाहलाई बोक्ने नेता खासै कोही देखिँदैन ।
तर ऋषिजंग शाहलाई विद्यार्थीमाझ जमेका नेताका रुपमा हेरिन्छ । शाहलाई क्याम्पस लेबलमा विद्यार्थी नेताहरुको बलियो साथ छ । तर केही समयअघि वैदेशिक रोजगारीको मामिलामा विवादमा परेकोले पार्टी नेताहरु उनीसँग त्यति सकारात्मक भने देखिँदैनन् ।






