नेपाल विद्यार्थी संघ लगायत कांग्रेसका सबै भातृ संगठनहरू पुनः व्युँताइएको छ ।
नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थप गरेसंगै सबै संगठनहरू पुनः व्युँतिएका हुन् ।
नेविसंघ लगायत सबै भातृ संगठन, शुभेच्छुक संघसंस्था र जनसम्पर्क समितिहरूको महाधिवेशन गर्नकै लागि पार्टीले यसअघि ३ पटकसम्म म्याद थप गरेको थियो । तर असफल भएपछि ५ महिना अघि स्वतः विघटनमा परेका थिए ।
अब यो अवधिमा वर्तमान कार्यसमिति अधिवेशन तयारी समितिका रुपमा रहनेछन् र ६ महिनाभित्र अधिवेशन गरिसक्नु पर्नेछ ।
मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ ।
साथै भ्रातृ संगठनहरुको मापदण्ड बनाउन एनपी साउदको नेतृत्वमा ७ सदस्यीय समिति बनेको छ । बैठकले प्रवास सम्पर्क समितिहरुको म्याद पनि ६ महिना नै थप गर्ने निर्णय गरेको छ ।
नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले पार्टीको यो निर्णय निकै सकारात्मक भएको बताए ।
उनले पार्टीको निर्देशन बमोजिम नेविसंघ समयमै महाधिवेशनतर्फ लाग्नुपर्ने खाँचो औंल्याए ।
उनले भने, ‘नेविसंघ लगायत सबै भातृ संगठनका लागि यो सुवर्ण अवसर हो । समयमै जिम्मेवारी पूरा गर्न नसके ठूलो दुर्घटनातर्फ जान्छ । यसमा पार्टीका जिम्मेवार नेताहरू तथा संगठनका नेतृत्वदायी भूमिकामा रहेकाहरू गम्भीर बन्न आवश्यक छ ।’






