एटीएम ह्याक प्रकरण : पक्राउ परेका सबै भरिया, मालिक को हो ?

बैंकिङ प्रणालीमा ‘मालवेर’ आक्रमण गरेर करिब दुई करोड रुपैयाँ लुट्ने योजनकारले स्पेनमा बसेर नेपालमा समूह परिचालन गरेको खुलासा भएको छ ।

शनिबार मध्यराति काठमाडाैं प्रहरी परिसर, टेकुले चलाएको अपरेशनका क्रममा पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएका हुन् ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार स्पेनमा बसेर परिचालन गरे पनि ती व्यक्ति चिनियाँ नागरिक नै हुन् ।

शुक्रबार साँझ एयर चाइनाको उडानमार्फत काठमाडौं ओर्लिएका झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ नाइकेले भाडामा प्रयोग गरेका व्यक्तिमात्रै भएको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीले सीसीटीभी फुटेजको आधारमा अर्का एक चिनियाँ नागरिकलाई पनि विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांश पहिलो पटक नेपाल आएका हुन् ।

योजनाकारसँग भएको सहमतिअनुरुप उनीहरु शनिबार एटीएमबाट लाखौं निकालेपछि माया मनोहर बुटिक होटलबाट अन्यत्र सर्ने योजनामा थिए । आइतबार फर्किनलाई उनीहरुको टिकट थियो ।

स्रोतका अनुसार होटलमा बस्ने व्यवस्था पनि विदेशबाटै अनलाइन सिस्टमको प्रयोग गरेर भएको थियो । ‘यो सबै काम पनि स्पेनबाटै भएको हुनसक्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसतर्फ पनि अनुसन्धान गरिरहेका छांै । तर, यो पाटोको अनुसन्धान त्यति सहज भने छैन ।’

पक्राउ परेकामध्ये लियांग प्रविधिमा समेत दख्खल राख्छन् । उनले नै स्पेनमा रहेका ‘मास्टरमाइन्ड’सँग ल्यापटपमार्फत कम्युनिकेट गर्ने गरेको देखिएको अनुसन्धान अधिकृत स्रोत बताउँछ ।

‘विदेशमा रहेको व्यक्तिबाट प्राप्त कोडलाई नक्कली एटीएममा उनैले इन्स्टल गर्ने गरेको देखिएको छ’, एक अधिकृतले अनलाइनखबरसँग भने, ‘इन्स्टल गरेपछि सबै बाहिर एक्टिभेट भएको खुलेको छ ।’

अधिकृतहरुका अनुसार दुई समूहमा खटिएका व्यक्तिले झोलाभरि रकम ल्याउँदै कोठामा जम्मा गर्ने गरेका थिए ।

तर, दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमममा अस्वाभाविक रुपमा रकम निस्किएको देखिएपछि प्रहरीले यो समूहको योजना विफल पारिदिएको छ ।

चिनियाँ दूतावासको चासो

बैंकिङ प्रणाली ह्याक गरेर करिब दुई करोड चोरिएको घटनामा चिनियाँ दूतावासले चासो देखाएको छ । प्रकरणमा ६ जना चिनियाँ नागरिक पक्राउ परेपछि दूतावासले चासो देखाएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकु स्रोतका अनुसार दूतावासबाट आएको एउटा टोलीले हिरासतमा रहेका अभियुक्तलाई पनि भेटेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी भने दूतावासका अधिकारीले भेट्नु सामान्य प्रकृया भएको बताउँछन् ।

उनले भने, ‘विदेशी नागरिक पक्राउ पर्न साथ हामी सम्बन्धित देशको नेपालस्थित दूतावासमा खबर गर्छौं । त्यही अनुसार भेट भयो होला ।’

स्रोतका अनुसार दूतावासबाट आएका अधिकारीले सुवेदीसँग पनि भेटेका थिए । टोलीले अनुसन्धानमा सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको प्रहरीसमक्ष बताएको जनाइएको छ ।

यो समाचार अनलाइनखबरले प्रकाशित गरेको छ ।