ताजा समाचार

भाद्र १० गते २०७६

सरकार नै भ्रष्टाचारको सूत्राधार र संरक्षक : चालिसे

देवराज चालिसे नेपाली कांग्रेसका वैचारिक र तार्किक नेता हुन् । महासमिति सदस्य चालिसे गएको प्रतिनिधिसभा चुनावमा कास्की क्षेत्र नं. २ बाट उम्मेद्वार थिए । उनी वाम गठबन्धनका उम्मेद्वार रवीन्द्र अधिकारीसँग पराजित भएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका अधिकारीको गत फागुन १७ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुँदै छ । मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा कांग्रेसले वडा वडामा प्रतिनिधि खटाइसकेको छ । उपनिर्वाचनमा कांग्रेसको तर्फबाट कास्की २ मा चालिसे स्वभाविक र बलिया दाबेदार मानिएका छन् । चालिसेसँग नेपालदुतले गरेको कुराकानी :

एउटा संसदीय निर्वाचनमा उम्मेद्वार हुनु भो । फेरि उपनिर्वाचन आउँदै छ । यसलाई एकातिर नागरिक र अर्कातिर उम्मेदवारको हैसियतमा यहाँले कसरी मूल्यांकन गर्नु भएको छ ?

मैले अहिलेसम्मको प्रतिक्रिया दिँदा गत निर्वाचनको आधारमा दिनुपर्छ । ५ वर्षमा आवधिक निर्वाचन हुने सिस्टममा हामीले भाग लियौं । त्यस क्रममा मैले जिते पनि हारे पनि जनताको बीचमा रहन्छु । जीवनको सेवकको रुपमा रहन्छु भन्ने मान्यताले काम गरेको छु । यस हिसाबले समय छुट्याएको छु । गएको निर्वाचनमा स्थानीय, राष्ट्रिय विभिन्न परिस्थितिले गर्दा जनताले मेरो अर्काे मित्र रोज्नु भो । रोजेको साथीको दुर्घटना भयो, दुखान्त परिस्थिति बन्यो । फेरि निर्वाचिन त हुनै प¥यो । यस्तो अवस्थामा गएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी भएकाले स्वभाविक प्रश्न ममाथि तेर्सिने भयो ः तपाई के गनुहुन्छ ? यसले मलाई नैतिक घेराबन्दी गरेको छ ।

सामान्यतया ५ वर्षका लागि आएको मान्छे साढे २ वर्ष बिते पनि साढे २ वर्ष बाँकी रहला नि त । यो राजनीतिक अर्थमा चाहिँ बिल्कुल पार्टीको प्राधिकारको विषय हो । कसलाई उम्मेद्वार बनाउने भन्ने कुरा । यसका आफ्नै प्रक्रिया छन् ।

मैले टिकट पाऊँ वा नपाऊँ यो विषय गौण हो । म साढे २ वर्ष अझै जनताकै बीचमा रहनुपर्छ । टिकट कसलाई दिने भन्ने पार्टीको विषय हो । केही प्रक्रिया, मान्यता, नीति, मापदण्डका आधारमा यसको निर्णय हुन्छ । मेरो बर्गत, क्षमता, समयले भ्याएसम्म जनतासँगै रहनुपर्छ । यो मेरो जिम्मेवारी, कर्तव्य र नैतिकता हो । टिकट र चुनावलाई म विषय बनाउन चाहन्न । चुनावलाई मैले सामान्य रुपमा लिएको छु ।

५ वर्ष जनतालाई छुट्याएको उल्लेख गर्नु भो, चुनावपछि कसरी जनताको बीचमा रहनुभयो ?
जनतामा जाँदा जनताको जीवन प्रणालीसँग जोडिने हो । उनीहरुको सुखमा पनि सहभागिता, दुःखमा पनि सहभागिता, आत्मीयता वृद्धि गर्ने हो । मतदाता जसको मत मैले पाएको थिएँ, उसले आफ्नो दुःखमा मेरो आँखामा आँसु र सुखमा हासो देख्न चाहन्छ । मेरो भूमिका फरक रह्यो परिस्थितिले कानुन बनाउने ठाउँमा पुगिनँ तर जनतालाई साथ दिने ठाउँमा त छु नि । म यो रुपमा गएको न अरुले देख्छन्, न मिडियाले देख्छ ।

आफ्नो सरकार, सुनुवाइ हुने ठाउँ नभए पनि जनताको आवाजमा आवाज त म मिसाउन सक्छु नि । म त्यही गरिरहेको छु, जुन म गर्न सक्छु । गर्नुपथ्र्याे ।

५ वर्षसम्म दुःखसुखमा जोडिएपछि अर्काे बाटो सम्भव होला फेरि ?

प्रश्न सही हो, ५ वर्षपछिको मेरो रोजाइ एउटा पाटो हुन्छ, पार्टीको जिम्मेवारी दिने अर्काे पाटो । मलाई कुन भूमिका रुचिकर र प्रितीकर हुन्छ भन्ने पनि हो । त्यो तत्कालीन समयले निर्धारण गर्ने कुरा हो । जहिले पनि परिस्थितिले माग गर्छ । त्यति खेर चुनावै नहुने प्रणाली आयो भने नि । सरकार जुन बाटोमा हिड्दै छ, यो बाटोबाट कुन परिणाममा पुगिन्छ भन्ने तपाई अनुमान गर्न सक्नुहुन्न ।

बरु मुख्यमन्त्री कमजोरै भए पनि हुने रहेछ, मेयर शक्तिशाली हुनुपर्ने रहेछ । कतिपय देशका राष्ट्रपति त मेयरबाटै गएका छन् ।

तीन तहका सरकार बने, अहिलेको सरकारको कार्यप्रणाली कस्तो लागेको छ ?

हामी आफ्नो असक्षमतालाई देख्दैनौं । किताबमा समाधान खोज्छौं, अरुमा समस्या देख्छौं । आफ्नो विवेकमा खोज्दैनौं । जतिसुकै सरकार र तह बनाए पनि यही बुद्धि हो भने केही काम लाग्दैन । योजना, विवेक भए एक तह पनि काफी हुन्छ । तीन तहमा गरिएको अधिकार वितरण नै प्राविधिक रुपमा ओभरल्याप छ । केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारको विवाद छ । सरकारहरुबीच विवाद देखिएको छ । हामी परीक्षणकै क्रममै छौं । जनतालाई राम्रो लाग्छ, निरन्तरता होला । राम्रो लागेन जनताले नै बदल्छ । कसैको दाबीमा होइन, जनताको अनुभवमै सफल र असफल भएको आधारमा प्रणालीको भविष्य निर्धारण हुन्छ ।

प्रमुख प्रतिफलको भूमिका पनि जनअपेक्षा अनुरुपको भएन भन्ने टिप्पणी भइरहँदा यहाँको अनुभव चाहिँ कस्तो छ ?
मेरो विचारमा अहिलेको प्रतिपक्ष भनेको जनता हो । मिडिया हो । पार्टी प्रतिपक्षको हैसियतामा छैन । मैले किन इमान्दारीका साथ भन्नुपर्छ भने पछिल्लो जानकारीमा सरकारले बनाएको कानुनको खिलाफमा जनता सडकमा आए । मैले थाहा पाएको नेपालमा र हङकङमा । कानुन बनाउने प्रक्रियामै जनताले प्रतिरोध गर्नुको अर्थ विशेष छ । सरकारले राजनीतिक रुपमा राजीनामा गर्नुपर्छ । जनताले कानुनमै हस्ताक्षेप गर्यो । जनताको इच्छाविपरीतका, सार्वभौमसत्ता खल्बल्याउने, लोकतन्त्रलाई कमजोर पार्ने, विकास निर्माण विरोधी कानुन पाइप लाइनमा छन् । यो पार्टीहरुको बोर्डर लाइन क्रस गरेर जनताको बीचमा पुगिसक्यो । अहिलेको द्धन्द्ध भनेको सिधै सरकार भर्सेस जनता हो । पार्टी त जनताभित्रै पसिसक्यो । कांग्रेस पनि त्यसभित्र मिसियो । जनताको ज्वारभाटामा कांग्रेस मिसिएको छ ।

सरकारलाई अनेक कोणबाट आलोचना गर्न सकिएला । देशमा हुनुपर्ने चाहिँ के थियो ?
छोटकरीमा भन्दा, जनउत्तरदायी सरकार हुनुपर्यो । जनताको इच्छामा आधारित कानुन बन्नुपर्छ । सत्ताको इच्छामा होइन, ओलीजीको इच्छामा होइन, जनताको आकांक्षा अनुरुपका कानुन बन्नुप¥यो । सरकारमा म जनताको प्रतिनिधि हुँ भन्ने चेतनाबोध हुनुपर्यो ।

गण्डकी र पोखरा सरकार कत्तिको प्रभावशाली र जनउत्तरदायी पाउनुभएको छ ?
अब यो त मलाई अनुभवै छैन । प्रदेश सरकारको अस्तित्व, मेरो जीवनमा यसले कहाँ छोएको छ ? जीवनप्रणालीमा यसको उपस्थिति भए पो अनुभव हुनु ? मैले अनुभव एउटैमात्र ठाउँमा गरेको छु, त्यो मैले कर तिर्ने ठाउँमा । मेरो सेवा, सरोकारका क्षेत्रमा यसको अनुभव जुन दिन म गर्छु, त्यसपछि म यसको मूल्यांकन गरौंला । म कामना के गर्छु भने मैले महसुस गर्ने गरेर यसले चाडै काम गरोस् ।
महानगर अल्प बुद्धि, अल्प ज्ञानले चलाइँदै छ । स्रोतमात्र भएर चल्दैन, त्यसलाई परिचालन गर्ने क्षमता चाहिन्छ । यो हाम्रो आँगनमा छ, शक्तिशाली पनि छ । शक्तिलाई व्यवस्थापन गर्न नजानेको हो । बरु मुख्यमन्त्री कमजोरै भए पनि हुने रहेछ, मेयर शक्तिशाली हुनुपर्ने रहेछ । कतिपय देशका राष्ट्रपति त मेयरबाटै गएका छन् । मेयरलाई सामान्य रुपमा व्यक्ति र पार्टी दुवैले आक्नु हुँदैन ।

तपाई आफैं अनुमान गर्नाेस्, अहिले प्रक्षेपण गरिएका कार्यक्रमहरु ५० वर्ष, सयपछिका चुनौतीलाई सामना गर्ने, त्यो बेलाको अवश्यकता अनुरुपका छन् ? पोखराको सुन्दरता, स्रोतलाई उपयोग गरी प्रतिव्यक्ति आए कयौं गुणा बढाउन सकिन्छ । कानुनले नै स्रोत पहिल्याउँछ । नयाँ बस्ती निर्माण, पर्यटन विकासको योजना, भएका स्रोतलाई व्यवस्थापन गर्ने योजना चाहियो । अहिले नै पोखरामा जाम बढेको छ । पोखरालाई ५० वर्षमा कस्तो बाटो चाहिन्छ, हामी महानगरको योजना र प्रस्ताव हेर्न चाहन्छौं । छ महानगरसँग ?

प्राध्यापनबाट सक्रिय राजनीतिमा आउनुभयो । नेपाली लोकतन्त्रचाहिँ कस्तो रहेछ ?
अध्यारोमा पनि उज्यालोको सम्भावना खोज्नुपर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्रै हो । लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्रविरोधी शक्तिलाई पनि लिएर हिडेका छौं हामी । उसैको साथ लिएर यो प्रणालीलाई बलियो बनाउनुपर्ने अवस्था छ । यो चुनौती अरु देशले सामना गर्नु परेन । लोकतन्त्रभित्रका खेलाडीहरुको गन्तव्यको भिन्नताको परिणाम हो यो । प्रजातन्त्रवादी पनि अल्मलिएका छन् । जसले पार्टीलाई मार्गदर्शन गरेको छ, पार्टीको विधानले लोकतन्त्र मान्नुपर्छ । एउटा चुनावमा भाग लिँदैन, कोही सच्चा लोकतन्त्रवादी भइहाल्दैन । लोकतन्त्रको मौलिक पहिचान नै क्षतविक्षत भएको छ । शासन चलाइरहेको पार्टीको दस्तवेजले नै लोकतन्त्रलाई उपयोग गरेको जनाएको छ । उपयोग गरिएको अवस्था र निष्ठावान् रुपमा आत्मसात् गरिएको लोकतन्त्रबीच फरक त हुन्छ नै ।

पुरानो पार्टी कांग्रेस किन हा¥यो ? हारपछि पनि त्यसको समीक्षा भएको देखिँदैन । हैन यो पार्टी कता जाँदै छ ?
कांग्रेस हार्नुको कारण अन्त होइन, कांग्रेसभित्रै खोज्नुपर्छ । यसमा दुइमत छैन । यसको प्रमाण के हो भने १५ सालमा ७ प्रतिशत मत पाएको कम्युनिस्टको अहिले ४६ प्रतिशत छ । १५ सालमै ३७ प्रतिशत मत भएको पार्टीको मत घटेर अहिले ३२ प्रतिशत छ । राष्ट्रिय राजनीतिक विचारधारा त कांग्रेसको अनुकूल छ । मतदाताले स्वीकार्न नसक्नु, देशले स्वीकार्नुको कारण के हो कांग्रेसले समीक्षा गर्नु जरुरी छ । कांग्रेसले कांग्रेसलाई नै भोट नदिनुको कारण के हो ? अराजक भएको हो कि ? सिद्धान्त, अनुशासनको लगाम छुटेको परिस्थितिको आंशिक शिकार त कांग्रेस भएकै हो ।

अहिलेको द्धन्द्ध भनेको सिधै सरकार भर्सेस जनता हो । पार्टी त जनताभित्रै पसिसक्यो । कांग्रेस पनि त्यसभित्र मिसियो ।

जनतामा बिक्ने मुद्धाहरु, रुचाएका विषयहरुलाई हामीले सम्बोधन गरेनौं कि ? विपक्षीका रणनीतिलाई क्रस गर्न नसकेको हो कि ? हामी चुनाव सञ्चालन गर्ने धेरै पक्षमा अल्मलिएको हो । यो सबैको कुल परिणाम हो चुनावी पराजय । धेरै कुरा सुनियो, यसपालि जनताले नेकपालाई हेरेको पनि हुन सक्छ । कुनै कानुनले नरोक्ने सर्वसक्तिमान सरकार बनाएर हेरौ भनेको पनि हुन सक्छ । ५ वर्ष हेरेर जनताले फेरि उचित निर्णय गर्छन् ।

यो त नीति, रणनीतिको कुरा भयो, कांग्रेसले आफ्ना कमजोरीको समीक्षा गरेन ?
समीक्षा गरे त नेता नेतै रहँदैन ! जो जिम्मेवारीमा बसेको छ, समीक्षा गर्ने बित्तिकै त्यसको दायित्व आफूतिर तेर्सिन्छ । त्यसो गर्न को चाहन्छ र ? हामीसँग यसको समीक्षा गर्ने माध्यम छ ः त्यो हो महाधिवेशन । अरुमा समधान खोज्ने हाम्रो संस्कार छ । यो संस्कारबाट कांग्रेस पनि अछुतो छैन । दुनियाँको लोकतन्त्रमा के हुन्छ भने जनमत गुमाइसकेपछि नेतृत्व छोडिन्छ । तर हाम्रो देश अपवादमा छ । हामी चुनाव हार्न तयार छौं, कुर्सी हार्न तयार छैनौं ।

चुनाव असाध्य खर्चिला देखिएका छन् । धेरैजसो नेताको आम्दानीका स्रोत पनि देखिएका छैनन् । तपाईको अनुभव कस्तो छ ?
यो सर्वाधिक चुनौतिपूर्ण र सुधार गर्नुपर्ने विषय हो । अख्तियारले मन्त्रिपरिषद्ले गरेका निर्णयमा हात हल्न पाउँदैन भन्ने विषय के हो ? क्याबिनेटबाट पास हुनेबित्तिकै सबै भ्रष्टाचार स्वीकृत हुने ? सरकार नै भ्रष्टाचारको सूत्राधार, संरक्षक र अभियानकर्ता भएको यसले प्रमाणित गरेको छ । यस्तो देशमा कसरी राजनीतिक शुद्धिकरण हुन्छ ? लोकतन्त्रले समानताको माग गर्छ कि गर्दैन । सांसदले बजेट बाड्न पाउने भनेको के हो ? ५ वर्षमा ३० करोड एउटा व्यक्तिले बाड्छ, अर्काे व्यक्तिको हातमा आर्थिक स्रोत छैन भने प्रतिश्पर्धा कसरी स्वच्छ हुन्छ ?

पैसाको भरमा गैरराजनीतिक मान्छेले चुनाव जित्दा अनेक विकृति आउँछन् । नीतिगत भ्रष्टाचारभन्दा ठूलो अनियमिता अरु छैन ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...