यस्तो बन्दैछ नेपालको नयाँ संघीय संसद भवन (फोटो फिचरसहित)

सरकारले ३ वर्षभित्र सम्पन्न गर्ने गरी सङ्घीय संसद भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । सहरी विकास तथा भवन निर्माण विभागले संसद् भवन निर्माणका १७ वटा बोलपत्रको प्राविधिक मूल्याङ्कन गरिरहेको बताएको छ ।

सिंहदरबारस्थित पुतली बगैंचामा कलात्मक परम्परागत मल्लकालीन वास्तुकलामा संसद् भवन निर्माण गरिने भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकीर्ण तुलाधरले जानकारी दिए ।

३ वर्षमा निर्माण सकिने योजना राखिएको संघीय संसद् भवनको कुल लागत भ्याटबाहेक ७ अर्ब अनुमान गरिएको छ । यो आर्थिक वर्षमा २ अर्ब रुपैयाँ छुट्याइएको छ ।

पुतली बगैँचाको १ सय ७३ रोपनी ८ जना जमिनमा भन्ने संघीय संसद् भवनअन्तर्गतका सम्पूर्ण कार्यालय, हल रहनेछन् ।

संसद् भवन परिसरभित्र ११ वटा विभिन्न प्रकारका भवन तथा पूर्वाधार रहनेछन् । भवनको दायाँ भागमा राष्ट्रियसभा र बायाँ भागमा प्रतिनिधि सभाको भवन रहनेछ ।

संसद् भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, कमन लबी, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस तथा छपाइ भवन र ७ सयवटा सवारी साधन पार्किङ र सुरक्षाकर्मीको भवन रहनेछन् ।

नयाँ संसद् भवनमा प्रतिनिधि तथा राष्ट्रिय सभाका २ हलमा झन्डै १५ सय जना अट्ने क्षमताको सिट हुनेछ । प्रतिनिधिसभामा ४ सय जना संसादहरु अट्ने भुइँतलामा ठूलो हल हुनेछ ।

यता राष्ट्रिय सभामा १ सय जना सांसद अट्ने ठूलो हल, २ सय जना अट्ने बाल्कोनी हल, ३ सय जना अट्ने सुरक्षाकर्मीको हलका साथै स्टुडियो, भिडियो कन्ट्रोल लगायतका प्राविधिक कक्ष, राष्ट्रिसभाका अध्यक्षको कक्ष लगायतका संरचना रहनेछ ।