प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् ।
यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखे पनि ओलीले नै प्रस्ताव गरेको यो पहिलो पटक हो ।
बालुवाटार स्रोतका अनुसार केही दिन अगाडि बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रस्ताव गरेका हुन् ।
‘पार्टीले जिताउने पूरै कोशिष गर्छ । र, त्यो सम्भव पनि छ,’ प्रधानमन्त्री ओलीले गौतमलाई भनेको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तपाईं कास्कीबाट चुुनाव लड्नुस् ।’
तर, प्रधानमन्त्री ओलीको प्रस्तावमा गौतमले अन्तिम निर्णय नदिइसकेको स्रोतको भनाई छ । ‘पार्टी र रवीन्द्र अधिकारीको परिवारका सदस्यले निर्णय गरे मात्रै चुनाव लड्न सकिने मनस्थितिमा उँहा भएको देखिन्छ । तर हुन्छ, म चुनाव लडुछु, भन्ने उहाँको निर्णय आएको छैन,’ प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो ।
यस अघि नेता गौतम काठमाडौं, डोल्पा, प्युठानलगायतका जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । तर, पाटीभित्र सहमति जुटन नसक्दा उपचुनाव लड्ने उनको चाहना अधुरै रहेको थियो ।
विगतमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नै गौमतलाई चुनाव लड्न रोकेको आंशका पनि गरिएको थियो । तर, ती आंशका चिर्दै प्रधानमन्त्री ओलीले अहिले आफै नै नेता गौमतलाई चुनाव लड्न प्रस्ताव गरेका छन् ।
ओलीको प्रस्तावप्रति बामदेव निकटका नेताहरूले फसाउने तरिकाले प्रस्ताव आएको हो कि होइन राम्रोसंग बुझ्न बामदेवलाई सुझाव दिएको बताइन्छ ।
पछिल्लो समय ओली गौतमप्रति उदार बन्दै गएका छन् । केही दिन अगाडि नेकपामा संगठन विभागको जिम्मेवारीका विषयमा पनि ओलीले लचकता देखाएका थिए ।
यसै शिलशिलामा प्रधानमन्त्री ओलीले गौतमलाई कास्कीबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा नेता गौतम सम्पर्कमा आएनन् ।
रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्कीमा कतिपयले उनकै पत्नीलाई चुनाव लडाउन पनि प्रस्ताव गरेका छन् ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने घोषणा छ ।






