ताजा समाचार

जेठ ३ गते २०७६

चित्रबहादुरको विचित्र जीवनयात्रा

चित्रबहादुर केसी नाम सुन्ने बित्तिकै स्थानीय लबजमा खाँट्टी कुरा गर्ने नेताको तस्बिर हामी सामु आउँछ । संघीय लोकतान्त्रिक गणतन्त्रमा उपप्रधानमन्त्रीसम्म बनेका उनी संघीयताका भने ‘मुख्य दुस्मन’ नै हुन् । संघीयता खारेज नगरे यसले देश नै खारेज गर्छ भन्ने केसी एक बिहान राजनीतिभन्दा जीवनका फरक पाटाबारे कुराकानी गर्न तयार भए ।

७९ वर्षका राष्ट्रिय जनमोर्चा अध्यक्ष केसीको राजधानीमा आफ्नो घर छैन । बागलुङमा भएको घरको ठेगाना पनि अहिले गलगोट नगरपालिका भएको छ । किसान परिवारका जन्मिएका उनको घर साबिक मल्म गाविसमा पर्छ । यो कुनै बेला गलकोट राज्यमा पथ्र्याे । उनले थाहा पाउँदा बार्टर सिस्टम थियो । उनी आफैं बागलुड बजारसम्म गहुँ बोकेर नून साट्न गएका थिए । पैसाको प्रयोग ज्यादै कम थियो । चाडवाडमा कसैले ५ पैसा दिए दिनभरमा खर्च गर्नै नसकिने ।

प्रायःलाई किसानी गरेर खान पुग्थ्यो । केही मान्छे घरबार चलाउन भारत, बर्मातिर जाने गर्थे । उनका बा गलकोटबाट काठमाडौ ११ दिनमा पुगिन्छ भनी सुनाउँथे । काठमाडौं जाँदा खाजासामल, ओढ्ने ओच्याउने सबै बोकेर जानुपथ्र्याे । स्कुल कतै थिएनन् । संस्कृत पढेका पण्डितहरुले अक्षर चिनाउथे । केसीले पनि त्यस्तै बाहुनसँग साँवाअक्षर सिके ।

जनतालाई शिक्षा दिने सरकारी नीति पनि थिएन, स्कुल पनि थिएन । जनताका छोराछोरी जान्ने भए हामीलाई शासन गर्न दिन्नन् भन्ने थियो । उनले ६५ वटा बाख्रा चराएँ । उनी सम्झन्छन्, ‘चराउन जाँदा एकै दिन बाघले १४ वटा बाख्रा मा¥यो ।’ १०, २० गाईवस्तु सबैका घरमा हुन्थे । हिजोआज त्यही गाउँका कसैको घरमा छैन गाईवस्तु ।

गलकोट चौबिसे राज्य हो । त्यहाँ सुवर्ण शमशेरका भिनाजु राजा थिए । उनको राज्य १५ सालसम्म थियो । डा. केआइसिंहले प्रधानमन्त्री भएका बेला उन्मुलन गरिदिए । राज्य खोसियो । स्थानीयलाई बागलुङसम्म सरकारी कामका लागि आउन टाढा भयो । गाउँमा सल्लाह भयो ः राज्य खोसियो भइहाल्यो । सेवा केन्द्र जस्तो देवानी अड्डा गलकोटमै रहोस् भनेर काठमाडौं डेलिगेसन जाने । केसीका बुबा गलकोटे राजाको भान्से थिए । उनका बुवा पनि काठमाडौं जाने भए । डेलिगेसन जाने ७ जनाको टोली तयार भयो ।

यो १४ सालतिरको कुरा हो । केसी भारतीय सेनामा भर्ती हुनलाई छानिएका थिए । अग्लो कदका केसीलाई आइरन लगाएका सैनिक ड्रेसमा अदबसँग गाउँ छुट्टीमा आउने सैनिकहरु जस्तै बन्ने इच्छा थियो । उनले सम्झिए, ‘म ३०, ४० जना केटामा उचाई, छाती नापिएर १ नम्बर भएको थिएँ भारतीय सेनामा भर्ती हुनलाई । साहिलो भाइ पनि छानिएको थियो ।’

डेलिगेसन टोली काठमाडौं जाने कुरो भयो । नून, गहुँ, चामल, भटमास बजार लगेर साट्ने चलन थियो । अचानक उनका बाले भने, ‘गहुँ लगेर बागलुङ जानुपरो । माहिलो बागलुङ जान्छ । १० पाथी गहुँले नून साटेर फर्कन्छ ।’ टोली बागलुङ पुग्यो । नून साटियो । इन्डियन होइन, भोटको नून । नून भारी हालेर केसी काठमाडौं जाने टोलीलाई छाडेर फर्किन ठिक्क थिए । राजाको भान्छे भएपछि उनका बाले भारी बोक्ने कुरा भएन । बाको बेडिङ थियो, बोकेर पोखरा लैजाने मान्छे कोही पाइएन ।

कात्तिकको धान, पराल स्याहार्ने बेला थियो । बाले चित्रबहादुरलाई भने, ‘पोखरासम्म जाम ।’ उनलाई घरै जान मन थियो । १ नम्बरमा भारतीय सैनिकमा छानिएका उतै जान मन थियो । बाको आदेश आएपछि केही बोल्न सकेनन् । उनी पोखरा हिडे ।

बागलुङ बजारसम्म आएका चित्रबहादुर हिडेरै पोखरा पुगे । पोखराबाट फर्किने कुरा थियो । हिडेर एक दिनमा बागलुङ पुगिन्नथ्यो । एक्लै छोरालाई घर फर्काउन उनका बाको मन मानेन । बाले नयाँ योजना ल्याए, ‘भो माइला काठमाडौं जाम ।’ मलाई काठमाडौ जान मनै थिएन । बालाई उ बेला भन्न नसकेको कुरो खुलाए, ‘इन्डियामा लाहुरे भएर, जल्फी लर्काएर, ठाटिएर आउन मन छ । बासँग जान्न भन्न सकिएन । बाको आदेश खसेपछि सकियो ।’ पोखरा काठमाडौं हवाइजहाजको भाडा ६० रुपैयाँ थियो । ८ जानै प्लेनमा गए । गलकोटे राजाको घर नक्सालमा बसे उनीहरु । महेन्द्रलाई बिन्तिपत्र दिन आएको भने । बिन्तीपत्र बुझाइयो ।

गलकोटे राजाको दरबारमा भाडा माझ्ने मान्छे कोही नटिक्ने रहेछन् । काम गराउने, पैसा नदिने भएपछि को टिकोस् ? रानीले बालाई छोरा यही छाड, पढाइदिन्छु भनिन् । केसीका बाले रानीको अनुरोध नकारेनन् । बा बसुन्जेल राम्रै खानै दिए । बा फर्केपछि केसीका दुःखका दिन सुरु भए । अनेक पाहुना आउथे, मीठो पकाउथे, खान्थे । मासुको गन्धमात्रै उनको नाकले फेला पाथ्र्याे । स्कुलको त कुरै भएन । उनी सम्झिन्छन्, ‘भरत बम मल्लकी श्रीमती । चैतन्यकुमारी नाम ।’ दिउसो ३ बजे उसिना चामलको भात र गुन्द्रुक खान दिन्थे । त्यो पनि पेटभरि पनि होइन ।

१७ वर्षमा स्कुल जान थालेका उनी बिए पास गरी हेडमास्टरसम्म भए । संसदीय व्यवस्थालाई प्रतिक्रियावादी भन्ने उनी त्यही व्यवस्थामा उपप्रधानमन्त्री बने ।

चित्रबहादुरलाई आफैंले भोगेपछि थाहा भयो शोषण शब्दको खास अर्थ । आधा पेट खाएर जुठा भाडा माझ्दै गए केही महिना । २, ४ महिनापछि आमालाई उनले लामै चिठी लेखे । मान्छेका हात पठाएँ । चिठीको सार यस्तो थियो ः बाले खर्च पठाउनुहुन्न । म बितरा परे, खान पनि पाउन्न ।बाटो खर्च पाऊ, घर आउँछु ।

गाउँ जाने मान्छेका हातमा चिठी पठाए । नेपाल गएको छोराको उन्नति सुन्न लालायीत आमाको मन नराम्ररी दुख्यो । आमाले ४ तोला सुन काठमाडौं आउनेका हातमा पठाइन् । मितबाले सुन ल्याइदिए । सुन हात परेपछि चित्रबहादुरको मनमा अर्काे बहादुर विचार आयो । केसी अतीतमा फर्किए, ‘विचार बदलियो । यो बेच्छु र स्कुल भर्ना हुन्छु भन्ने सोचें ।’ सुन पसलेले ३ सय ९८ रुपैयाँ दियो ।

हातमा पैसा त थियो, पढ्ने इच्छा पनि थियो । तर उनी तन्नेरी भइसकेका थिए, १७ वर्षका । कहाँ छन् स्कुल, कसले पढाउँछ भन्ने थाहा थिएन उनलाई थाहा थिएन । सोधखोज गर्दै उनी नन्दी रात्री पाठशाला हाइस्कुल नक्साल पुगे । ३ वर्षमा एसएलसी पास हुने, भर्ना हुने मान्छे १६ वर्ष काटेको हुनुपर्ने, निरक्षर भए पनि हुने प्रावधान रहेछ । बेलुका ६ देखि ९ बजेसम्म स्कुल जानुपर्ने । अरुसरह एसएलसी दिनुपर्ने । केसीलाई आफूले खोजेजस्तै भयो ।

नन्दी रात्री पाठशालाका शिक्षकहरु निकै दक्ष थिए । पहिलो वर्षमा १ देखि ७ सम्मको पढाइ हुन्थ्यो । अक्षर चिन्नेदेखि अरु सबै एकै वर्षमा पढ्नुपर्ने । केसीमा त्यति बेलासम्म राजनीतिक चेतना थाहा थिएन । घरायसी नोकर बन्नुपर्दा पैदा भएको तीव्र घृणाले उनलाई प्रेरणाको काम ग¥यो । स्कुलमा उनका सहपाठी भए प्युठानका सिद्धिमान जिसी । आन्दोलमा लागेका, कम्युनिस्ट पार्टी सदस्य भइसकेका र जेल बसिसकेका सिद्धिमान सिद्ध कार्यकर्ता थिए ।

सिद्धिमानले व्यवहारिक तवरले केसीलाई कार्यकर्ता बनाए । केसी भन्छन्, ‘उसले मलाई समातेको समात्यै छाड्दैन । सुरुमा सिद्धान्त, राजनीतिको कुरै गरेन । म उसलाई छाड्नै नसक्ने भएँ ।’ मोहनविक्रम सिंहसँग उनको १५ सालमा भेट भायो पहिलोपटक । सिद्धिमानले नै मोहनविक्रमसँग भेटाएका थिए । एक दिन एउटा पातलो, अग्लो मान्छे तल आयो । सिद्धमान केही नभनी त्यता गयो र त्यो मान्छेको झोला बोक्यो । चित्रबहादुर चूपचाप सँगसँगै उनीहरुको पछि लागेर कमलपोखरी पुगे । बल्ल चिनजान भो । सिद्धिमान र मोहनविक्रमले राजनीति कुरा गरे । केसीलाई बल्ल थाहा भो ः सिद्धिमान कार्यकर्ता रहेछ । त्यो रात उनीहरुसँगै बसे ।

चित्रबहादुर सेकेन्ड डिभिजनमा एसएलसी पास भए । उनीहरुलाई पुष्पलाल, केशरजंगले प्रशिक्षण दिएका थिए । केशरजंगले दिएको कक्षा धेरै राम्रो रहेको उनी अझै सम्झिन्छन् । पहिलो वर्ष पढ्दै २०१४ सालमा उनले पार्टी सदस्यता लिए । केसीलाई कम्युनिस्ट बनाउने सिद्धिमान पछि पार्टी छाडेर पञ्चायतमा लागे । पञ्चायतमा सामेल भएर बागलुबाट आउनुपर्छ भनेर जोडबल गरे । केसीले भने, ‘अब तपाई सिद्धिनु भएछ । पार्टीलाई गद्धारी गरेर, नैतिकताबाट च्यूत हुनुभो । अब तपाईले मलाई अर्ती दिने ?’

पढाइताको दुःख आजैभोलिको झैं लाग्छ उनलाई । घर जान ६० रुपैयाँ भाडा, पोखराबाट गलकोट जान ५, ७ रुपैयाँ भए पुग्थ्यो । काठमाडौं गएपछि ७७ रुपैयाँजति नमासी राख्थे । एसएलसी दिनेबित्तिकै २०१७ सालमा हटिया, हरिचौर, काँडेबासबाट मास्टर बनाउन उनलाई लिन आए । रिजल्ट आएकै थिएन । उनी काँडेबासको स्कुलमा पढाउन गए । स्कुलको स्वीकृति थिएन । भवन थिएन । ढाँक्रे बस्ने ठाटीमा पढाउनुपर्ने । आफ्नो पहिलो स्कुल केसीले सम्झिए, ‘मलाई एउटा कुर्सीसम्म बनाइदिएका थिए ।’ गाउँमा घुम्दै आएका अञ्चल शिक्षा अधिकारी विन्धेश्वर प्रसादले उनलाई भेटे । साहले ११ जना किसानको सञ्चालक समिति गठन गरी जनजागृति प्राइमरी स्कुललाई वार्षिक ११ सय दिने निर्णय गरिदिए । उनले महिनावरी डेढ सय पाउने भए । ऊ बेलाको खुसी अझै उनको अनुहारमा देखियो, ‘खोलैमा मेरो नामै १८ सय भो । उ १८ सय आयो भन्ने गर्र्थे ।’

मल्मको उनको घर भत्किइसकेको थियो । १८ सय कमाउँदा उनले नयाँ घर बनाएँ । घर थियो ब्यारेक जस्तो । फेरि मास्टरी छाडेर उनी इन्टर पढ्न काठमाडौं गएँ । कमाएको पैसा घर बनाउँदा सकिएको थियो । ऋण गरें ८ सय मामाघरका बाजेसँग । त्रिचन्द्रमा भर्ना भए । राजीतिमा हिड्ने भएकाले हाजिरी पुगेन । परीक्षा दिनका लागि ७५ प्रतिशत हाजिरी पुग्नुपथ्र्याे । कर्मचारीलाई ५० रुपैयाँ हातमा हालिदिए, काम भइहाल्यो । आइए पास भएपछि हरिचौरको मिडिल स्कुलमा पढाए ४ वर्ष । २१ सालसम्म बसेका उनले त्यहाँ भूमिगत पार्टी गठन गरें । पढाउँदा पढाउँदै प्राइभेट परीक्षा दिएर डिप्लोमा गरे । उनले थपे, ‘डिप्लोमाको पाठ्यक्रममा के थियो भन्ने नै थाहा थिएन । पास भएँ ।’ पञ्यायत बेला उनी हाइस्कुलको हेडमास्टर थिएँ गलकोटमा । ७ वर्ष पढाए। पूर्वप्रधानमन्त्री झलनाथ खनालले उनी उनीसँगै १ वर्ष पढाए ।

भारतीय सैनिकमा १ नम्बरमा छानिएका उनी परिबन्दले राणाको घरायसी नोकर बन्न पुगे ।

हेडमास्टर हुँदाहुँदै भूमिगत भए । यो विषयमा घर बाआमा सबैभन्दा बढी विरोध गर्थे । १३, १४ भाइ दाजुभाइ, ११ जना दिदीबहिनी । उनका आमाहरु धेरै थिए । केसीले चलाखीपूर्वक कतिवटा आमा थिए भनेनन् । ‘प्रशस्तै आमाहरु’ शब्दले काम चलाए । भूमिगत भएपछि मावल जाँदा बुढा हजुरबा, हजुरआमा रातभरि रुन्थे । घर बाले त्यही नजा भन्थे । आमा भने सुरो थिइन् । उनी भन्छन्, ‘ससुराली गयो त्यस्तै । त्यस्तो बेला हामी कसरी टिक्यौं होला ।’

माक्र्सवादी दर्शनले यस्तो ऊर्जा दिएको उनी दाबी गर्छन् । युवालाई उनको सुझाव छ, ‘कार्ल माक्र्सको जीवनी पढ्नुहोस् । यसले मानिसलाई चट्टान बनाउँछ ।’ भूमिगत कालमा घर जाँदा राति १२, १३ जना प्रहरीले समातेर लगे उनलाई २०२८ सालमा । २६ दिनसम्म अनवरत पिटाइ खाए । उनलाई बाच्छु भन्ने नै थिएन । ९ महिना जेल बसे । छुटेपछि फेरि राजनीतिमै लागे । उनको आत्मकथा बजारमा आउँदै छ । केसीले घोषणा गरे, ‘बजारमा आयो भने सनसनी फैलाउँछ त्यसले । पत्रकारहरुले लेख्दै छन् ।’

अहिलेको सरकार र सरकारले दाबी गरेको समाजवाद उन्मुख नीति कुरा मात्रै भएको उनको भनाइ छ । उखान, टुक्कामा पारांगत केसील्े भने, ‘कृषिमा हामी पूरै परिनिर्भर भएका छौं । नाउँ चाहिँ सुब्बिनी के खाएर उभिनी जस्तो भएको छ ।’

भारतीय सामानलाई कम भन्सार, भारतबाहेक अरुबाट आउनेलाई सामानलाई बढी भन्सार लगाएर सरकारले सधै भारतमै निर्भर बनाएको उनी बताउँछन् । ‘हाम्रो आफ्नो भन्नु खाने मुखमात्र छ,’ केसी भन्छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।