खसशब्द भारतवर्षमा रामायण कालदेखिनै उल्लेख भएको देखिन्छ । महाभारत कालसम्म आइपुग्दा यो शब्द निकैप्रशिद्ध बनिसकेको भेटिन्छ । खस जातिहरूले इशाको सातौ-आठौ शताब्दीदेखिनै वर्तमान पश्चिम नेपालको विशाल पहाडी भूभागमा लामो समयसम्म शासन गरेका थिए । उनीहरूको इतिहास पढ्दा थाहा हुन्छ– खसहरू वीरत्ँँ र बुद्धिम्ँत्तँमा निकै कहलिएका जाति थिए । विविध सभ्यता एवम् संस्कृति निर्माताका रूपमा परिचित खसहरू अहिले पनि राष्ट्रिय परिचयजस्तै बनेर प्रसिद्ध एक प्राचीन नेपाली जातिका रूपमा मानिन्छन् ।
अहिलेका लेख रचनाहरूमा खसशब्द कसैले खसानका बासिन्दाका निम्ति प्रयोग गरेको पाइन्छ भने, कसैले यसैलाई प्राचीन क्षत्रीको एकजाति भनेका छन् । कसैलेत यस शब्दलाई ककेशियन जातिसँग पनि जोड्ने गर्छन् । ऐतिहासिक तथ्यहरूका आधारमा विश्लेषण एवम् संश्लेषण
गर्दैजाँदा यसको सम्बन्ध सबैतिरबाट माथि उल्लेखित प्रशिद्ध खसजाातिहरूसँग जोडिन आउँछ ।अहिले खसभाषा भन्नाले नेपालका बिभिन्न जातजाति एवम् जनजातिहरूलगायत संसारका विभिन्न ठाउँहरूमा रहेका अन्य मातृभाषी नेपालीहरूले बोल्ने सामुहिक सम्पर्क भाषाका साथै बाहुन, क्षत्री, दलितआदिले मातृभाषाका रूपमा बोल्ने नेपाली भाषा भन्ने बुझिन्छ । तत्कालीन खसजातीहरूले बोल्ने यो भाषानै आधुनिक नेपाली भाषाको पुरानो रूप हो भन्ने कुरा प्रमाणित भईसकेको छ ।
खस आर्यपरिवारकै एक शाखा हो । प्राचीन आर्यहरू दुईप्रकारका थिए, अवैदिक र वैदिक, अर्थात् वेदमा बताएअनुसार आचरण गर्ने र नगर्ने (वेद मान्ने र नमान्ने) । खसहरू अवैदिक आर्यहरू हुन् । समानता के मात्रै हो भने वैदिक आर्यहरूजस्तै यिनीहरू प्नि पहिले मध्यएशियाबाट भारतवर्षमा प्रवेश गरेका थिए । विभिन्न ऐतिहासिक सामाग्रीहरूका आधारमा विश्लेषण गर्दा यिनीहरू भारतवर्षमा वैदिक आर्यहरूभन्दा पछि प्रवेश गरेका थिए भन्ने प्रमाणित हुन्छ । मुख्य प्रमाण के हो भने वैदिक साहित्यका कुनै पनि (पाठ) ठाउँमा यिनीहरूको नाम र कुनै परिचय उल्लेख भएको पाइदैन । भारतवर्षमा पनि यिनीहरू भिन्दाभिन्दै समय र ठाउँहरूबाट प्रबेश गरेको देखिन्छ । वैदिक आर्यहरू भारतवर्षमा आउँदा गंगाको सम्मो मैदानबाट प्रवेश गरेका थिए, भने अवैदिक आर्यहरूको प्रवेश चाहीँ वर्तमान भारतको उत्तराखण्ड हिमालय नजिकबाट नेपालको हिमवत् खण्ड (सायद बर्तमान चीनको तिब्बत ) मा भएको थियो ।
अर्को एउटा कथनअनुसार खस भनेका ककेशियन कसजातिहरू हुन् । यिनको भाषा पनि यै ककेशियन परिवार भित्रकै एउटा उपशाखा हो । पहिले यी ककेशिया पर्वतमा बस्थे । त्यहाँबाट अष्टिया, मेसोपोटानिया, इराक, सुडान, इयोथोपिया आदिदेशहरू हुँदै गंगा जमुनाको जलप्रवाह क्षेत्रमा आइपुगेका थिए । त्यसै समयदेखि यिनीहरूलाई कसबाट खस भन्न थालिएको थियो । त्यसपछि उनीहरू मानसरोवरतिर लागे । त्यहाँ केही समय शिकारी जीवन बिताए । उनीहरू खेतिका लागि उर्वर जमिनको खोजी गर्दै जाँदा सिञ्जा उपत्यकामा आइ पुगेका हुन् । त्यहाँ आएर बसेको ४ सय वर्षपछि मात्र यिनीहरूले खससाम्म्राज्य बिस्तार सुरु गरेका थिए ।
उनीहरू अत्यन्त मिलनसार थिए । जुन जुन ठाउँहरूबाट उनीहरू घुम्दै आए ती ती ठाउँहरूमा रहेका आफूभन्दा उन्नत जातिका भाषा, संकृति, ज्ञान र सभ्यताहरू सिक्दै र आत्मसात् गर्दैै पनि आए । यिनीहरू सिक्ने र जान्ने कलामा निपूर्ण थिए । आफ्नो धर्म र संकृतिप्रति कहिल्यै पुर्वाग्रही रहेनन् । उनीहरू इरानमा आइपुगेपछि आफूलाई आर्य घोषणा गरेका थिए । किनभने त्यहाँआर्यहरूको नाम प्रशिद्ध थियो । भनिन्छ “जून, सेरा” आदिजस्ता वर्तमान नेपाली भाषामा प्रयोग हुने खसभाषाका केही शब्दहरू ककेशियन परिवारका भाषाहरूसँग मिल्छन् । वनारस लगायतका भारतका विभिन्न ठाउँहरूमा बस्ने कतिपय बाहुनहरूले नेपालका पहाडे बाहुनहरूलाई ब्रात्य भन्दछन् । यसको अर्थ असभ्य र संस्कारहीन भन्ने हुन्छ । आर्यहरूले मान्ने धर्म र संस्कृति प्रचारप्रसार गर्ने सर्तमा यहाँँका आर्यहरूले खसलाई आर्यबाहुन बनाइ दिएका हुन् भन्ने पनि गरिन्छ । वास्तवमा यी कथनहरूले ऐतिहासिक यथार्थसँग मेल खादैनन् ।
प्राचीन अभिलेखहरूमा कुमाउ र गडवाललाई खसमण्डल भनिएको छ । सायद खसहरूले त्यहाँ लामो समयसम्म शासन चलाएका हुँदा यसो भनिएको होला । पश्चिम नेपालमा भने खसहरूको पहिलो प्रवेश इशाको पाँचौ शताब्दीदेखि सुरु भएको मानिन्छ । पूर्र्व मध्यकालमा उनीहरूले वर्तमान नेपालको पश्चिम भूभागमा विशालराज्य खडा गरेका थिए । तिनका मौसमअनुसारका राजधानीहरू सिञ्जा र दुल्लु थिए ।
यी खसहरू चलाक र शक्तिशाली देखिन्छन् । पहिले यिनीहरू वैदिक आर्यहरूद्धारा निर्मित वर्णव्यवस्थासम्बन्धी नियमहरू मान्दैनथे । किनकि यिनीहरू अवैदिक आर्यहरू थिए । वैदिकआर्यहरूले सञ्चालन गरेको समाज संरचनाअनुसार वर्णव्यवस्था मान्दा समाजका सबै पक्षहरूमा अधि बढ्न सकिने देखेपछि उनीहरूले उक्त संरचना मान्न लागेका हुन् । समयक्रममा यिनीहरूमध्ये केही कर्मअनुसार परिस्कृत ब्राह्मणहरू पनि बन्दै गए ।
महाभारतमा यिनीहरूलाई संस्कारहीन वेद एवम् यज्ञ ज्ञान नभएका जाति भनिएको छ । मनुस्मृतिमा झल्ल, मल्ल, लिच्छवी, नट, करण, खस र द्रविडहरूलाई एकमुष्टरूपमा ब्रात्य क्षत्री भनिएको छ । कतिपय अभिलेखहरूमा यिनीहरूलाई वृषल क्षत्री पनि भनिएको छ । भनियो खसहरू आउनुभन्दा पहिलेनै वैदिकआर्यहरू यय क्षेत्रमा आएका थिए । पछि दुवैको संमिश्रण भयो । अतः अहिलेका केही बाहुन, ठकुरी र विभिन्न प्रकारका क्षत्रीहरू यी दुबै आर्यहरूको संमिश्रणबाट बनेका देखिन्छन् । पहिले केही खसहरूका गुरु पुरेतहरू वैदिक बाहुनहरू थिए । खसजातिमा वैश्य भन्ने थर थिएन । किनकि खसहरू आफुँलाई बैश्य भन्न रुचाउदैनथे । पछि उनीहरूले वैश्य पेशा अवलम्बन गरेर थर पनि स्वीकारे । विधवा र अन्तर्जातीय विवाहजस्ता आधुनिक र प्रगतिशील प्रथाहरू यिनैले चलाएका हुन् । जुन परम्परागत वैदिक आर्यहरूमा थिएनन् ।
नेपालका जुम्ला, बजाङ र जाजरकोट जिल्लाहरूमा अझै पनि घोषितरूपमा हामी मतवालीखस हौँ भन्नेहरू पाइन्छन् । यिनीहरूलाई पावइ भनिन्छ । पाखापखेराहरूमा बसोबास गर्ने हुनाले यसो भनिएको हुनसक्छ । यिनीहरू अझै पनि जनै लगाउँदैनन् । जातले पाएको भन्दै आधिकारिक र खुलारूपमा मदिरा पान गर्दछन् । आफूलाई हामी खाटी क्षत्री हौँ भन्दछन् । यी जातिहरूमा कुनै धार्मिक कार्यका लागि पुरेतको आवश्यकता पर्दैन । आफूलाई चाहिनेजति धार्मिक सामाजिकआदि नियमहरू आफै बना उँछन् र गर्दछन्, तर थर, गोत्र, प्रवरआदिहरू भने तागाधारी क्षत्री र यिनीहरूका एउटै हुन्छन् । राउत, भण्डारी, थापा, ऐडी आदि यिनका मुख्य थरहरू हुन् ।
भनिन्छ पहाडी बाहुन, ठकुरी आदि जाति प्रजातिहरू भारतमा मुसलमानहरूले आक्रमण गरेपछि कान्यकुब्ज, राजस्थान, उत्तरप्रदेश आदि ठाउँँहरूबाट भागेर समय समयमा बर्तमान नेपालमा पसेका हुन् । १७ औँ शताब्दीतिर आएपछि केही मतवाली क्षत्रीहरूले जुम्लाका राजा गगनीराजबाट जनै पाएका थिए भन्ने अभिलेख पाइन्छ । अहिले पनि यसका सन्तानहरू छदैछन् ।
खसहरूले खस राज्यको स्थापना कहिले गरेका थिए ?
१२०७ को कुमाउ बालेश्वर मन्दिरको ताम्रपत्रअनुसार नागराजका छोरा क्रचल्ललाई पाचौँ उत्तराधिकारी मानिएको छ । यिनको राज्य बिस्तारको वर्णन प्रसङ्गमा सपाद लक्ष्य पर्यन्त फैलिएको भनिएको छ । यसको अर्थ शिवालिक पर्वत्, सबालाख पर्वत् दुबै हुन्छ । अशोक चल्लको राज्य भने पूर्वमा नारायणीदेखि पश्चिममा सतलजसम्म फैलिएको थियो भनिएको छ । यिनकै पालामा गण्डकी प्रदेश पनि खसराज्यमा आइसकेको देखिन्छ । आदित्य र पुण्य मल्लका समयमा गोरखाको ताघवाइ गुम्वा व्यवस्था विवरणसहितको ताम्रपत्र आदेश पनि पाइएको हुँदा यो राज्य त्रिशुलीसम्म फैलिएको हुन सक्ने देखिन्छ ।
तिब्वत क्षेत्रमा भेटिएका अधिकांश वंशाबलीहरूले पनि नागराजलाई तिब्वतका तत्कालीन शासकका रूपमा उल्लेख गरेका छन् । केही बंशालीहरूमा नागराजलाई तिब्वतकै खरीप्रदेशबाट आएका हुन् भनिएको छ । वालेश्वरको ताम्रपत्रमा यीनलाई जीनिकुल कमल दिवाकर भनिएको छ । यी बौद्धधर्मावलम्वी भएकोले यसो भनेको हुन सक्छ । यो पद र सम्मान दिने परम्परा बौद्धधर्ममा अन्यत्र पनि उल्लेख भएको देखिन्छ ।
खसहरू कुमाउबाट यतातिर किन आए ?
जतिखेर खसहरू यतातिर आए त्यतिखेर भारतको मैदानी भूभागहरूमा चन्दबंशका राजपुतहरूले राज्य गर्दथे । उनीहरू अत्यन्त शक्तिशाली थिए । चारैतिर आफ्नो राज्यबिस्तार गर्ने क्रममा उनीहरूले खस शासकहरूलाई बिना युद्ध लखेटी कुमाउराज्यमा पनि आधिपत्य जमाए । यसरी चन्दराजपुतहरूले लखेटेपछि खसहरू यत्रतत्र लागे । त्यही क्रममा यतातिर पनि आए ।
खसहरू भोटमा कसरी पुगे ?
त्यतिखेर भोटका राजा लाङदर्माको हत्या भएको थियो । त्यसैकारण त्यहाँको राज्यव्यबस्था र राजवंशमा गोलमाल आइ विखण्डनको स्थिति सिर्जना भयो । यस्तो अवस्थामा खसहरूलाई त्यहाँ गएर प्रभाव जमाउन सजिलो भयो । खसहरू पहिले मस्टो धर्म मान्थे । त्यहाँ गएपछि बुद्धधर्म अपनाएर उनीहरूको समाजमा घुलमिल भए । धार्मिक सम्बन्ध सुमघुर बन्दै गयो । त्यसपछि बिस्तारै त्यहाँका भाषालगायत हरेक क्षेत्रहरूमा आफ्नो प्रभुत्व जमाउँदै गए अतः त्यहाँको शासक बन्न सजिलो भयो । केही पुस्तापछि यिनै खसहरूले नागराजको नेतृत्वमा कर्णालीका पालहरूलाई पनि परास्त गरी सिञ्जामा राजधानी बनाए । खसराज्यको स्थापना १२ रौँ शताब्दीतिर भएको देखिन्छ ।
त्यसभन्दा पहिले १८ पुस्तासम्मका पालहरूले शासन चलाएका थिए भन्ने कुरा विभिन्न अभिलेखहरूमा उल्लेख भएको पाइन्छ । खसहरूको वंशबिवरणअनुसार यिनीहरूको शासन नागराजदेखि प्रताप मल्लसम्म १० पुस्ता चलेको देखिन्छ । अशोक चल्लका पालामा खस राज्यमा निर्वाण र लक्ष्मणसेन नामक सम्वत् चलेको पाइन्छ ।
अशोक चल्ल, खस मल्लराजहरूमा सबै भन्दा प्रतापी राजा मानिन्छन् । उनका समयमा कर्णाली, गण्डकी, खारी एवम् केदारखण्डदेखि लद्धाखसम्मको विशाल भूभागमा खसराज्य फैलिएको थियो । उनी महायानीबौद्ध मतका महान् उपासक थिए । सामान्यत बौद्धमार्गीहरू अहिंसक हुन्छन् तर उनले बौद्धमत र हतियारशक्तिलाई बराबरी महत्व दिए । अर्थात् हतियार त्यागेनन् । निरन्तर दिग्विजय गर्दैै रहे । उनको सेनालाई सर्वागिनी बाहिनी भनिन्थ्यो । उनले धार्मिक, भाषिक आदि क्षेत्रमा पनि उल्लेखनीय काम गरेका थिए । सुर्खेतको ऐतिहासिक काँक्रेविहार उनैका पालमा बनेको हो । वर्तमान नेपाली भाषाको जननी जसको जन्म खसभाषाको सिञ्जाली शाखाबाट भएको हो यसको अभिलेखिकरण परम्परा उनैका समय र राज्यबाट सुरु भएको थियो ।
खसहरूले नेपाल उपत्यका अभियान कहिलेदेखि सुरु गरेका थिए ?
बंशावली अनुसार अशोकचल्ल पछि उनका छोरा जितारी मल्ल राजा भए । तिनैका पालादेखि यो अभियान प्रारम्भ भएको थियो । जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल र पुण्य मल्लसम्म अर्थात् १२८८ देखि १३३८ सम्मका शासकहरूले काठमाडौं उपत्यकामा ७ पटक आक्रमण गरेका थिए ।
आक्रमणको उद्धेश्य के थियो ?
यसको खास उद्धेश्य आर्थिक लाभनै देनिन्छ । त्यतिखेर सापेक्ष रूपमा उपत्यका अरुभन्दा सम्पन्न राज्य थियो । अर्को कुरा लुम्बिनी, कलिबस्तु राज्यहरूजस्तै उपत्यका पनि धार्मिकरूपबाट प्रशिद्ध थियो ।
समय समयमा विजय हाँसिल गरेर पनि उपत्यकामा खसहरूको शासन किन चलेन ?
यसका खास् कारणहरू भनेका आफ्नो राज्यकेन्द्रबाट उपत्यका टाढा रहेको, उपत्यकाका जनताहरूले बारम्बार कडा प्रतिरोध गरेको, यतातिर लाग्दा उत्तर पश्चिमतिरका देशहरूले आक्रमण गर्ने सम्भाबना प्रवल रहेको, तिरहुतेहरू (डोए)सँग पनि बारम्बार लढ्नुपर्ने भएको, किनकि उपत्यकाका राज्यहरूसँग डोएहरूले पनि कर लिन्थे ।
खसराज्यको विखण्डन कसरी भयो ?
बिभिन्न ऐतिहासिक सामग्रीहरूका अनुसार सम्पूर्ण मल्लराजाहरूमध्ये पृथ्वीमल्ल लामो र प्रभावशाली शासन चलाउने शासक थिए । उनको इ.१३५७ को दुल्लुमा रहेको शिलालेखले पनि कतिपय कुराहरू स्पष्ट पारेको छ । यिनी पनि बौद्धमार्गी थिए । नाउलीको लघुचैत्य यिनैले बनाएका हुन् । सबै इतिहासबिद्हरूले यिनलाई धार्मिक र दानी राजा मानेका छन् । बौद्धदर्शनको चिन्तनमा गहिरिदै जाँदा उनी राज्य व्यबस्थाप्रति बिरक्त रहन थाले । उनको यही अहिंसाबादी धार्मिक बिरक्तिका कारणले गर्दा सिङ्गो खसराज्यको बिघटन भएको देखिन्छ । यिनैका पालामा डोटी र खारी प्रदेश स्वतन्त्र भए ।
यिनका यशोवर्मा नाम गरेका अमात्य शक्तिशाली थिए । बौद्धमार्गी राजँ विरक्तिएर राजकाज छाडेपछि यिनै हर्ता कर्ता बने । केही समय यिनैका वंशले राज गरे । पछि ठकुरी वंशका शाही, वम, मल्ल आदि राजा भए । यिनैबाट बाइसे चौबीसे राज्यहरूको प्रारम्भ भयो । पछि पृथ्वीनारायण शाहले एकीकरण गर्ने समयमा यी राज्यहरूको संख्या ५२ पुगेका थिए ।
सिन्जाली भाषाको उत्पत्ति र विकास ।
माथिनै भनियो खसहरू पहिले पश्चिमोत्तर दिशातिरबाट नेपालमा प्रवेश गरेका अवैदिक आर्यहरू थिए । नेपालका धेरै बिद्धान्हरूको कथन छ खसभाषा अर्थात् वर्तमान नेपाली भाषा भारोपेली परिबारअन्तर्गत आर्यइरानेली शाखाहरू मध्येको भारती उपशाखाबाट वैदिकसंस्कृतको जन्म भयो । त्यही वैदिक संस्कृत विकसित हुँदै जाँदा विभिन्न लौकिक संस्कृतका प्रकारहरू जन्मे । लौकिक संस्कृतको उत्तरी शाखाबाट जन्मेका विभिन्न प्राकृत भाषाहरूमध्ये शौरसेनी प्राकृत शाखाबाट नेपाली भाषा जन्मेको हो ।
वास्तवमा खसभाषाको जननी संस्कृत होइन । बरु खस र संस्कृत दिदी बहिनी भाषाहरू हुन् । यी दुवैको मूल भाषा चाहीँ भारोपेली परिवारको आर्यइरानेली शाखा हो । दिदी बहिनीका नाताले दुवै भाषामा केही समानता देखिनु स्वभाबिक हो, त्यसैका आधारमा जननी भन्न मिल्दैन । खसभाषाका तीन प्रकार पश्चिमी महाडी, मध्यपहाडी र पूर्वी पहाडीमध्ये सिञ्जाली पूर्वी पहाडीशाखामा पर्दछ । पश्चिमी नेपालमा खसराज्यको स्थापना भएपछि खसभाषा देशको राज्य भाषा बनेको थियो । त्यसपछि यसले प्रगति गर्दै गयो । भाषाले एउटा वैज्ञानिक आकार ग्रहण ग¥यो । कालान्तरमा खसराज्यहरूको क्रमश बिगठन हुँदै गयो तर भाषा भने बाइसे चौबिसे कालसम्म पनि राज्यभाषाकै रूपमा बिकसित हुँदैरह्यो । पहिले यो नेपाली भाषालाई खसबाहुन भाषा भनिन्थ्यो । अधिकांश खसबाहुन समुहहरूले मातृभाषाका रूपमा बोल्ने भएकोले यो नाम पाएको हो । अधिकांश पहाडी भूभागमा यही मातृभाषाका रूपमा बोल्ने भएकोले यसलाई पर्वते भाषा पनि भनियो । गोरखाका राजा पृथ्वीनारायण शाहाले नेपालको एकीकरण गरेपछि नेपाललाई “गोरखा राज्य” भनेजस्तै विजेता गोरखाकै नामबाट “गोर्खाभाषा” भन्ने प्रचलनमा आयो भने अहिले यसैलाई नेपाली राष्ट्रभाषा भन्न थालियो ।
अतः नेपाली भाषाको जननी ककेशियन र संस्कृत दुवै नभइ आर्य इरानेली शाखाबाट मौलिकरूमा विकास हुँदै आएको हो ।









