ताजा समाचार

वैशाख ९ गते २०७६

सत्ता दोहनमा नेकपा : कहरमा जनता, प्रधानमन्त्रीलाई रमिता

माक्र्सको सदावहार वाणी छ, ‘जनताबाट कर उठाऊ, तर त्यो कर जनताकै लागि खर्च गर ।’ नेपालका सत्ताधारी कम्युनिष्टहरुको हकमा यो बिल्कुल लागु हुँदैन । हुन त कम्युनिष्ट मात्र किन, सत्तामा आउने जुनसुकै दलको प्रवृत्ति उस्तै छ । प्रसँगवश कुरो वर्तमान सत्तासीनकै गरौँ ।

सत्तासीन नेकपाका नेताहरु अजिबका छन् । यिनले माक्र्सवादको सिद्धान्त मान्ने कसम खान्छन् । तर, माक्र्सले भनेको भन्दा ठीक उल्टो गर्छन् । किनकि नेपालका कम्युनिष्ट (सत्तासीन)ले झुटैझुटका खुड्किला चढेर यो स्थान प्राप्त गरेका हुन् । घोषणापत्रमा माक्र्सका शब्द खर्चेर भोट माग्छन् । तर जब सत्तामा पुग्छन्, अनि जनताबाट कर उठाउँछन् र आफ्नै सुविधा बढाउँछ्रन्, खान्छन् । अहिले नेकपाले प्रमाणित गरेको विषय यही हो ।

यो भ्रष्टको दौडलाई नेकपाका नेताले आफ्नै आर्दश ठान्छन् । किनकि यिनीहरु सिद्धान्तको परिभाषा आफु अनुकुल गरिदिन निकै सिपालु छन् । भ्रष्टलाई ढाकछोप गर्न यिनले जनताको परिभाषा नै बदलिदिएका छन् । यिनको भ्रष्टाचारलाई विरोध गर्ने जनता होइनन् । जो यिनीहरुको नाजायज चर्तिकलालाई समर्थन गर्छन्, उनीहरु यिनका आँखाले जनता भनिदिन्छन् । जनताको परिभाषा यिनीहरुले भिन्न रुपले गरेर देखाइदिएका छन् ।

नेकपाको नजरमा जनता भनेका उसका कार्यकर्ता मात्र हुन् । जो नेकपालाई समर्थन गर्छ, तिनै मात्र जनता, अन्यथा सबै नागरिक गैरजनता बनेका छन् । झन विरोधीहरु त जनता नै होइनन्, भन्न मिल्ने भए नेकपा नेताहरुले आलोचना गर्नेलाई ‘नेपाली नै होइनन्’ भन्थे । खासमा नेकपाले जब सत्ता हातमा लियो, जनताको परिभाषा नै बदलिदियो । एकथरीलाई भ्रम पनि भयो, ‘जनता को हुन् ? सत्तालाई समर्थन गर्ने कि नगर्नेहरु ?’ नेकपाले परिभाषित गर्ने जनता को हुन् त ?

घोषणापत्रमा माक्र्सका शब्द खर्चेर भोट माग्छन् । तर जब सत्तामा पुग्छन्, अनि जनताबाट कर उठाउँछन् र आफ्नै सुविधा बढाउँछ्रन्, खान्छन् ।

मेलम्ची खानेपानी आयोजनाकी मन्त्री विना मगर छिन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालकी ‘नक्कली’ बुहारी हुन् । खास असली बुहारी त दाहाल परिवारले दिलदेखि टाढा राखिदिएका छन्, सृजना त्रिपाठीलाई । सिद्धान्त नै शिरमा नक्कली सिउरिएर सत्तामा पुगेका नेताले नक्कली काम गर्नु के अनौठो भयो र ?

गत वर्ष काठमाडौंमा मेलम्चीको पानी आउने निश्चित थियो । आयोजना करिब सकिनै लाग्दा विना मगरले खानेपानी मन्त्रालयको जिम्मा पाइन् । जब यिनी मन्त्री भइन्, आयोजनाको नाममा खान पल्केकाहरुलाई ‘दशैं’ आयो । अनि रोकियो आयोजनाका कामहरु । विना मगर मन्त्री हुनुभन्दा पहिल्यै पानी वितरण गर्न काठमाडौंका गल्ली–गल्ली खनेर पाइप बिछ्याइएको थियो । आयोजनाका ठेकेदारले पनि काम समयमै सकिने (२०७४ असोज) भनेर घोषणा गरेका थिए । उनी मन्त्री भएपछि एकाएक यी सबै रफ्तारहरु रोकिए । विदेशी ठेकेदार फर्कियो । आयोजनाका प्रमुखदेखि सम्पुर्ण अधिकारीहरुले विना मगरको साथ पाए । आउने पानी रोकियो । अहिले खर्च र क्षतिपुर्तिका नाममा हरेक महिना सरकारले खर्च दिन्छ । आयोजनाका बिचौलियादेखि पार्टीका झोले नेताहरुसम्मलाई आयोजनाको पैसा पुग्छ ।

मेलम्ची आयोजनाको काम सकियो भने सत्ताबाट दुहेर पैसा खान पाइंदैन भन्ने हिजो बिचौलियाले त बुझेका थिए । आज मन्त्री विना मगरले पनि राम्रोसँग बुझिन् । अनि सत्ता र शक्तिमा भइन्जेल आयोजना कुनै हालतमा नसक्ने निर्णयमा पुगे । हो, यिनै बिचौलिया, कामचोर ठेकेदार, जल माफिया, भ्रष्ट नेता र मतियार कार्यकर्ताहरु सत्तासीन दल नेकपाका ‘असली जनता’ हुन् । यिनैलाई नेकपाले जनताको पगरी गुथाइदिएका छन् ।

नेपालसँग समुन्द्र जोडिएको छैन । नदीको केही फराकिलो भाग मात्र नेपालसँग छ । यी नदी हिन्द महासागरसम्म त पुग्छन् तर नदीको बहाव, सतह र क्षेत्रफल एकनासको छैन । कतै फराकिलो छ भने कतै साँगुरो । फलस्वरुप भारतले पानीजहाज नेपालसम्म चल्न सक्ने कुनै प्रतिक्रिया जनाएको छैन ।

नेकपा निकटका कर्मचारी र सहयोगीले जागिर पाए । हो यिनै ताली बजाउनेहरु, बफादार बनेर जागिर पाउनेहरु नेकपाले भन्ने गरेका ‘खास जनता’ हुन् ।

नेपालले एकतर्फी पानीजहाजको रटान लगाए पनि भारतीय जानकारहरुले यसमा खासै चासो दिएका छैनन् । नदीमा चल्ने डुंगा हुन् । डुंगा र पानीजहाजको परिभाषा निकै भिन्न छ । सुविधा अलग छ । तर, नेकपा सरकारले पानीजहाज कार्यालय नै खोलिदियो । प्रधानमन्त्रीले पानीजहाज कार्यालयको उद्घाटन नै गरिदिए । पार्टीका कार्यकर्ताले ताली बजाए । नेकपा निकटका कर्मचारी र सहयोगीले जागिर पाए । हो यिनै ताली बजाउनेहरु, बफादार बनेर जागिर पाउनेहरु नेकपाले भन्ने गरेका ‘खास जनता’ हुन् । अहिले यो पानीजहाज कार्यालय बन्द हालतमा छ ।

नेपाल राष्ट्रिय अनुसन्धान विभाग सरकारको एक सुरक्षा अंग हो । तर, यो विभाग सुरक्षा क्षेत्रको स्वायत्त निकाय हो । यसले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाउने अधिकार राख्छ । हरेक प्रजातान्त्रिक मुलुकमा हुने यही नै हो । तर, अहिले यो विभाग प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको छ । अब यो विभागका कर्मचारी, सुरक्षा अधिकारीहरुले स्वतस्फुर्त काम गर्न पाउँदैनन् । सत्ता निकटका व्यक्तिहरु, सत्ताधारी दल नेकपा, प्रधानमन्त्री लगायतसँग जोडिने गलत ब्यक्तिहरुको विवरण संकलन गर्न विभागका कर्मचारीलाई ‘फलामको च्युरा’ जस्तै भएको छ । अब यो विभागले कसरी स्वतन्त्र ढंगले काम गर्न सक्छ ? यस्तो काममा सत्ता र प्रधानमन्त्री कार्यालयलाई साथ दिने नेकपाले भन्दै आएका ‘खाँटी जनता’ हुन् । अहिले यो विभाग प्रधानमन्त्री कार्यालयको इशाराबाट सञ्चालित छ ।

माथिका केही उदाहरण हुन्, जुन नेकपाको कब्जाभित्र रहेर सत्ता दोहनको सिलसिला द्रुत गतिमा चलिरहेको छ । यी सञ्चालनमा नेकपाले भन्ने गरेका ‘जनता’को खटाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतहरु, लोकसेवा, प्रहरी, निजामति निकाय, स्वास्थ्य, खानेपानी, पूर्वाधार, शिक्षा, सरसफाई, वनलगायत सबै विभाग र अड्डाहरु करिब नेकपाको ‘भर्तीकेन्द्र’ मात्र बनेका छन् । नेपालका सत्तासीन कम्युनिष्टले यिनै अड्डामा भर्ती गरिएका मान्छेहरु, अड्डा आफ्नो हातमा लिने कार्यकर्ताहरुलाई गज्जबसँग ‘जनता’को परिभाषा गरिदिएका छन् ।

चीनबाट के सिक्ने ?

आफ्नै छिमेकी मुलुक चीनले साँच्चीकै कम्युनिष्ट शासनको नाममा देशलाई समृद्ध बनाएको नेपालका कम्युनिष्टले सिक्दैनन् । विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको देश चीन । आफ्नै कम्युनिष्ट पार्टीका करोडौं कार्यकर्ता भएका नेता । विश्वकै सर्वशक्तिमान र उच्च शक्तिशाली व्यक्ति । दिनरात जनताको लागि मात्र काम गर्न दौडधुप । काम, काम, काम । विकास, विकास, विकास । मात्र यही मूल मन्त्र । कम्युनिष्ट पार्टीका नेता हालका राष्ट्रपति सि जिङपिङ गाउँगाउँमा विनातामझाम, विनाकार्यकर्ता जनतासँग डुल्छन् । कुराकानी गर्छन् । इमान्दारीपुर्वक चीनको विकासका लागि त्यहाँका कम्युनिष्ट नेताहरु खटिएका छन् । असली कम्युनिष्ट चरित्र यही थियो, जुन सर्वहारा वर्गका लागि संघर्ष गर्ने भनेर कम्युनिष्ट घोषणापत्रमा लिपिबद्ध गरिएको हुन्छ ।

विश्वका करिब ४२ वटा देशमा (मात्र चीन बाहेक) कम्युनिष्ट शासन पतन भइसक्यो । यही कुबाटो हिँडिरहेका नेपालका भ्रष्टीकृत सत्तासीन कम्युनिष्ट पार्टी सम्भवत समाप्तितिर गइरहेका छन् ।

विश्वका धेरै देशमा कम्युनिष्ट व्यवस्था तहसनहस भए, कारण थियो– हालका नेपालकै जस्ता कम्युनिष्ट भएर । नेपालका कम्युनिष्टले गतिलो पाठ सिकेनन्, असफल क्युवाली कम्युनिष्ट शासनमा जस्तै भ्रष्टीकरण मात्र सिके । देशलाई बर्बाद बनाउने पेरुको गोन्जालो स्टाइल मात्र सिके ।

आफ्ना आसेपासे र कार्यकर्ताको भंगालोमा परे भने नेताहरु गलत बाटो हिँड्छन् । पुँजीवादको बाटो समाएर कम्युनिष्ट समाजवादमा पुग्न नसक्ने ठोकुवा गरेका नेपालका कम्युनिष्ट नेताहरु सत्तामा पुगेपछि सबैभन्दा विलासी, भ्रष्टको कुबाटोमा हिँडिरहेका छन् । यहि बाटो पछ्याउँदा विश्वका करिब ४२ वटा देशमा (मात्र चीन बाहेक) कम्युनिष्ट शासन पतन भइसक्यो । यही कुबाटो हिँडिरहेका नेपालका भ्रष्टीकृत सत्तासीन कम्युनिष्ट पार्टी सम्भवत समाप्तितिर गइरहेका छन् । समाप्तितिरको बाटोमा जान उक्साउनेहरु नै नेकपाका ‘असली जनता’ ठहरिएका छन् । खराब बाटोमा नजाऊ भन्ने आमजनताहरु नेकपाका लागि विरोधी विदेशीजस्तै भइसके ।

चीनले जनताको परिभाषा पार्टीको च्यादरमा लेखेर गरेन । विश्व आर्थिक दुनियासँग टक्कर दिन उसले कम्युनिष्टकै जगमा टेकेर सारा जनताका लागि काम गर्यो । दुनियाँका लागि आज चीन सफल सावित भयो । किनकि कार्यकर्ता र जनताको परिभाषा नै अलग छ भन्ने जिम्मेवार पार्टीले बुझ्न आवस्यक छ । नेपालको नेकपाले सत्ताको दोहनलाई समृद्धिको अर्को परिभाषा बनाइदिएको छ । सत्ता दोहन गर्यो, कार्यकर्ता पाल्यो, देश कंगाल बनायो । अहिले यहि नै नेकपाको लागि समृद्धिको नारा उर्लिएको छ ।

कहरमा जनता : प्रधानमन्त्रीलाई रमिता

सरकारी अस्पताल खराब छन् । पैसा छैन भने जनताले उपचार पाउँदैनन् । सरकारी स्कुल झन् खराब छन् । गरिबका छोराछोरी पढ्न सक्ने अवस्था छैन । सडक दिनदिनै फोहोरका ल्याण्डफिल्ड साइटमा परिणत भइरहेका छन् । जनताले सडकको उपयोग गर्न सक्दैनन् ।

असली जनताले भोेगेको दुर्दशा कहालीलाग्दो छ । उता प्रधानमन्त्री एकोहोरो रटान लगाउन छोड्दैनन्– ‘अब कोहि भोको बस्नु पर्देन । अब कसैले उपचार नपाएर मर्नु पर्देन । आदि आदि ।’ प्रधानमन्त्रीका यी भनाईले जनताको मुटुमा चसक्क घोचेको छ । गरिब परिचयपत्र बाँडिएको छ । धनीले मात्र परिचयपत्र ओगटेका छन् ।

नेकपाका कार्यकर्ताको सिण्डिकेटले गैरराजनीति गरिब जनताले परिचयपत्र पाउने सम्भावना छैन । गाउँगाउँमा नेकपा कार्यकर्ताको दबावमा सरकारी सुविधा लिनुपर्ने बाध्यता छ । नेकपालाई समर्थन नगर्नेहरुले सरकारी सुविधा पाउन पापड पेल्नुपर्छ । अनेक झमेला झेल्नुपर्छ । के यही हो असली कम्युनिष्ट शासन ? छिः यस्तो पनि सर्वहाराको शासन !

यिनले सत्ता नपाउन्जेल सर्वहाराका नारा दिएर राजनीति गरे । अहिले सत्ता दोहन गरेर नेता कार्यकर्ता पालेको देख्दा यिनलाई भोट दिने जनतालाई कति ऐठन भएको होला । आखिर सत्तामा रहेका नेकपाका लागि जनता भनेका कार्यकर्ता मात्र रहेछन् । अन्य सबै फगत कीराहरु ।

जबसम्म नेकपाले जनतालाई कीरासरह देख्छ, नेकपाबाट जनताका लागि काम भएको मिथ्या सावित हुनेछ । किनकि सत्ता दोहनको रसरसमा डुबेर नेकपा अहिले पूरै अन्धो बनिरहेको छ ।


Loading...