ताजा समाचार

वैशाख ७ गते २०७६

पाराग्लाइडिङ कसरी उड्छ, उड्न कति खर्च लाग्छ ?

बेलुनमा हावाको माध्यमबाट आकाश उड्ने रोमाञ्चक उडान वा यात्राको नाम हो पाराग्लाइडिङ। नेपाल पर्यटकीय देश, त्यसमाथि पोखरा देशकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्य। त्यसैले पोखरामा पाराग्लाइडिङका लागि दैनिक सयौं मानिसहरु लालयित हुने गरेका छन्। पाराग्लाइडिङ के हो, कसरी गरिन्छ, कस्तो छ शूल्क र व्यवस्था ? यसबारे संक्षिप्त चर्चा गरौं।

पाराग्लाइडिङ कसरी पढाइन्छ ?
नेपालमा हवाई उडानलाई व्यवस्थित गर्ने सरकारी संरचनाको नाम हो नेपाल नागरिक उड्डयन प्राधिकरण। पाराग्लाइडिङ सम्बन्धि कम्पनिहरुको अनुमति, पाइलटहरुको प्रशिक्षण स्कूलको अनुमति लगायतका सबै कुराको अनुमति र नियमन यही प्राधिकरणले नै गर्दछ। नेपालमा पाराग्लाइडिङ पढाउने तीन स्कूल छन्, जसलाई प्राधिकरणले अनुमति दिएको छ, स्याङ्जा, धरान र पोखरा। अन्यत्र पनि स्कूल सञ्चालनको प्रक्रिया सुरु भएको छ। तर, यी तीन स्कूलले नै हालसम्म पाराग्लाइडिङका लागि पाइलट उत्पादन गरिरहेका छन्।

पोखरा र आसपासका क्षेत्रमा पाइलटका लागि बढी रोजाइमा पर्छ स्याङ्जा। स्याङ्जाको स्वरेक सबैभन्दा राम्रो मानिन्छ, कारण हो हावाको बहाव। त्यसकारण यस क्षेत्रका धेरैजसो विद्यार्थी स्वरेक नै पुग्छन्। पोखरामा पनि पोखरा ब्लु स्काई पाराग्लाइडिङ स्कूल छ, जसले पाइलटका लागि सैद्धान्तिक र व्यवहारिक शिक्षा पढाउँछ।

पाराग्लाइडिङ पाइलटका लागि १५ दिनको कोर्ष हुन्छ। बिहान सैद्धान्तिक र दिउँसो व्यवहारिक शिक्षा सिकाइन्छ। सैद्धान्तिक कक्षामा हावाको गति, मौसम, ग्लाइड र विभिन्न उपकरण सम्बन्धि जानकारी, हवाई यात्रुलाई दिनुपर्ने जानकारी र सूचना लगायतका विषय पढाइन्छ। एउटा हवाईजहाजको पाइलटले मौसम सम्बन्धि जति जानकारी राख्नुपर्ने हुन्छ, त्यसभन्दा बढी जानकारी चाहिन्छ ग्लाइडका पाइलटका लागि। हावाको बहाव र गतिको ज्ञान त उसलाई प्रतिसेकेण्ड हुनुपर्छ।

हावाको गति र बहावले उडानमा विशेष महत्व राख्दछ। मौसम जति सफा हुन्छ, जति तातो हावा बहन्छ, ग्लाइड त्यति नै फुक्दै जान्छ। ग्लाइड जति फुक्दै जान्छ, त्यति नै यात्रुलाई धेरै माथिसम्म उडाउन सकिन्छ। ग्लाइडको ‘बडी’मा हावाले फुलाउने बेलुनजस्तो भाग हुन्छ, त्यसमा जति हावा भरिन्छ, ग्लाइड त्यति नै माथि पुग्छ। यसबारे पाइलटले राम्रो जानकारी राखेको हुनुपर्छ।

१५ दिने पाइलट कोर्षमा ५ दिन सामान्य र बाँकी १० दिन विशिष्ट कक्षा दिइन्छ। पहिलो ५ दिनमा जम्मा ५ मिनेट बराबरको परीक्षण उडान गर्न लगाइन्छ। यस अवधिमा सानो चुचुरोबाट फेदीमा उडान भरिन्छ। बाँकी १० दिन २० देखि २५ मिनेटसम्मको परीक्षण उडान हुन्छ। मान्यताप्राप्त स्कूलले प्रमाणपत्र दिएपछि उनीहरु उडानका लागि योग्य मानिन्छन्। एसएलसी उत्तीर्ण विद्यार्थीले मात्र पारा–पाइलट कोर्ष पढ्न पाउँछन्। सरकारले यसलाई बढाएर ‘प्स–टु’सम्म बनाउने तयारी गरिरहेको छ।

पाइलट पढ्न सजिलो छैन। पोखरामा ८ वर्षदेखि ग्लाइडको पाइलटिङ गरेका यमबहादुर खत्री भन्छन्, ‘पाइलट पढ्न २० देखि २२ लाख लाग्छ। वर्षेनि कोर्ष पनि गर्नुपर्छ। त्यसपछि उडानका लागि चाहिने उपकरण हामीले नै किन्नुपर्ने हुन्छ। बाहिरबाट हेर्दा जति सजिलो ठानिन्छ, त्यति सजिलो छैन पाइलटिङ। तर, यो पेशामा लाग्दा स्वर्णीम् आनन्द चाहिँ लाग्छ। गर्मी मौसम र खुल्ला आकाशमा ग्लाइड उडाउनुको मजा नै बेग्लै हुन्छ।’

कसरी उडाइन्छ पोखरामा ग्लाइड ?
पोखराको लेकसाइडबाट १५ देखि २० मिनेट गाडीमा हिडेपछि पुगिन्छ सराङकोटको तोरीपानी, जहाँबाट ग्लाइड ‘टेकअप’ हुन्छ। यात्रुले सबैभन्दा पहिले उडान कम्पनिसँग सम्पर्क गर्छन्, त्यसपछि ग्लाइड र यात्रु कम्पनिले आफ्नै गाडीमा तोरीपानी पु¥याउँछ। तोरीपानीको भिरालो जमिनबाट पाइलटले ग्लाइड उडाउँछन्। ग्लाइड उडाउँदा यात्रु जति छिटो दौडन्छ, त्यति नै सुरक्षित मानिन्छ। ‘टेकअप’ हुँदा यात्रु बसेमा दुर्घटना पनि हुन सक्छ।

ग्लाइडले भुइँ छोडेपछि पाइलटिङका साथ यात्रु हावामा दौडिन्छ। खुल्ला र गर्मी मौसम छ भने ग्लाइड धेरै माथिसम्म पुग्छ। पाइलट खत्री भन्छन्, ‘म ४२०० मिटर उचाईसम्म उडेको छु, ग्लाइड लिएर बाग्लुङको ढोरपाटन, अन्नपूर्ण बेसक्याम्प लगायतका ठाउँमा गएको छु।’ सुन्दा अनौठो लाग्छ, बेलुनको सहारामा उनी ढोरपाटन र बेसक्याम्प पुगे होलान् ? तर, त्यो यथार्थ हो, कुशल पाइलटले ग्लाइड चाहेको गन्तव्यमा लैजान सक्छ।

पाराग्लाइडिङमा विभिन्न उपकरण हुन्छन्। आकाशमा उड्ने ठूलो बेलुनलाई ग्लाइड भनिन्छ। यसको औसत आयु डेढदेखि २ वर्ष मानिन्छ। एउटै ग्लाइडको ३००० युरो पर्छ। कोरिया, चेक रिपब्लिकमा बनेको ग्लाइडलाई गुणस्तरीय मानिन्छ। अहिले युके, इजराइल, अमेरिका लगायतका देशबाट पनि ग्लाइड आयात गर्न थालिएको छ। सिकारु पाइलट र कुशल पाइलटले प्रयोग गर्ने ग्लाइड पनि फरकफरक हुन्छ।

उडानको अवधिमा यात्रु बस्ने एउटा झोला हुन्छ, त्यसलाई हार्नेस भनिन्छ। हार्नेसभित्र हावा ड्रयाग गर्न एयरब्याग, रेस्क्यु सम्बन्धि सामग्री हुन्छ। तर, पाइलटको ब्याग र क्याराभानामा त्यसभन्दा बढी उपकरण हुन्छ। ग्लाइड र हार्नेस जोड्न विभिन्न डोरीको प्रयोग गरिएको हुन्छ। त्यही डोरीबाट नै पाइलटले एयर ड्रयाग गर्दछ, त्यसलाई ट्रिमर भनिन्छ। सवारीसाधनमा प्रयोग गरिने ब्रेकजस्तै पाइलटले डोरीबाटै ब्रेक, एक्सिलेटरको काम गर्छ। डोरी खिच्ने, छोड्ने प्रक्रियामा नै उडानको सम्पूर्ण यात्रा सुरक्षित गरिएको हुन्छ।

दशैं–तिहारको मौसममा ग्लाइडिङ गर्ने यात्रुको संख्या बढी हुन्छ। अरु बेला दैनिक १५० को हाराहारीमा हुने यात्रु दशैं–तिहार र फेब्रुअरीमा झण्डै ५०० पुग्छन्। त्यो बेला एयर ट्राफिक पनि हुन सक्छ। त्यस्तो अवस्थामा जुन ग्लाइड सबैभन्दा तल छ, त्यसलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ। ल्याण्डिङलाई नियमन गर्ने कुनै टावर र संरचना बनिसकेको छैन, अहिले यो सबै कुरा पाइलटको विवेकमा नै भर पर्नुपर्ने हुन्छ।

करीब आधा घण्टाको उडानपछि ग्लाइड फेवातालको मुहाननेर अवतरण हुन्छ, जुन ठाउँलाई ‘इण्ड अफ दि लेक’ भनिन्छ। पोखरामा ‘टेकअप’ र ‘ल्याण्डिङ’का लागि अलगअलग ५÷५ ठाउँ तोकिएको छ। यात्राको अवधिमा पाइलटसँग अत्याधुनिक सेल्फी क्यामेरा हुन्छ। त्यही क्यामेराको सहायताले पाइलटले यात्रा अवधिको फोटो र भिडियो लिन्छन्। जब यात्रु फर्केर कम्पनिको कार्यालय पुग्छ, फोटो र भिडियो पेनड्राइभवा मोबाइल उपलब्ध गराउँछन्।

कति लाग्छ उडान शूल्क?
नयाँ वर्ष २०७६ बाट यात्रुको भाडादर बढेको छ। ग्लाइड गर्ने नेपाली यात्रुले प्रतिव्यक्ति रु. ८ हजार तिर्छ, विदेशीका लागि भने रु. १० हजार भाडादर निर्धारण गरिएको छ। त्यसमध्ये करीब १ हजार सरकारलाई तिर्ने करमा जान्छ। ४ हजार ७ सात पाइलटको तलवमा जान्छ भने बाँकी कम्पनिको ब्यय र नाफा हो। तर, उडान सम्बन्धि सम्पूर्ण उपकरण पाइलट आफैले किन्नुपर्ने हुन्छ। पाइलटले प्रतिवर्षको सरकारलाई २५ हजार ट्याक्स पनि तिर्नुपर्ने व्यवस्था छ।

पोखरा क्षेत्रमा अहिले २६० तालीमप्राप्त पाइलट छन्। त्यसका अलावामा २० देखि ३० जना विदेशी पाइलटले पनि यस क्षेत्रमा उडान भर्दछन्। विदेशी पाइलटका लागि वर्क परमिट चाहिन्छ। तर, त्यस्तो परमिटको अवधि बढीमा ६ महिनाको मात्र हुन्छ। फ्लाइटमा पाइलटले जिपिएस लगायतका उपकरण प्रयोग गर्न सक्छन्।

कसरी हुन्छ दुर्घटना, बच्ने कसरी ?
अघिल्लो महिना पोखरामा पाराग्लाइडिङ दुर्घटनाका घटना भए। त्यसैकारण केही दिन ग्लाइडको काम नै अवरुद्ध भयो। त्यसको प्रमूख कारण थियो, बिना जानकारी विदेशी पाइलटले उडान भर्नु। उडानका क्रममा कहिले हावाहुरी आउँछ, कहिले असिना पर्छ, कहिले हावाको वेग ठीक उल्टो हुन्छ, त्यस्तो बेला विदेशी चालकले नेपालको ‘लोकालिटी’ बुझ्न सक्दैनन्। दुर्घटनाको प्रमूख कारण यही हो।

दोस्रो कारण हो ओभर एक्साइटिङ। उडानका क्रममा असीम आनन्दको अनुभूति हुन्छ। तर, चालकले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन। आकाशमा पुगेपछि बढी उत्तेजित वा रोमाञ्चक भएर ड्राइभको जिम्मेवारी भुल्दा पनि दुर्घटनाको खतरा बढी हुन्छ। ल्याण्डिङको बेला हावाको बहाव बुझेर ड्राइभ गर्न नसके ग्लाइड जुनसुकै ठाउँमा खस्न सक्छ, त्यसले पनि दुर्घटनाको सम्भावना बढाउँछ।

खत्रीका अनुसार पानी परेको बेला ग्लाइड उडाउनु निकै जोखिमपूर्ण हुन्छ। जब पानी पर्छ, तब पानीले बेलुनलाई खुम्चाइदिन्छ, जब बेलुन खुम्चन्छ, त्यस्तो बेला आकाशमा उड्न सकिँदैन। आकाशमा उडिरहेको बेला पानी पर्ने लक्षण देखिए ग्लाइड ढिलो नगरी ल्याण्ड गर्नुपर्ने हुन्छ। तर, कतिले उडेसम्म चलाउँ न भन्ठान्छन्, त्यसले दुर्घटना निम्ताउँछ। त्यसैगरि रोमाञ्चक भएर उड्दा आकाशमा ग्लाइड ठोक्किने खतरा हुन्छ, त्यो पनि दुर्घटनाको अर्को कारण हो।

यात्रु र पाइलट बस्ने ब्यागभित्र उद्दार उपकरण हुन्छ। जब दुर्घटना भएर ग्लाइड पानी वा तालमा खस्छ, त्यस्तो बेला झोलाको पछिल्लो भागमा रहेको रेस्क्यु उपकरण आफै खुल्छ। त्यसले पानीमा तैरिन सकिन्छ। तर, कहिलेकाँही टाउकोतिरबाट दुर्घटना भएमा उक्त ब्याग खुल्न नपाई डुब्न सक्छ, त्यस्तो बेला बढी जोखिम हुन्छ। तर, पाइलट र यात्रुले पूर्वसचेतना अपनाए दुर्घटनाबाट ९९% बच्न सकिन्छ। पाराग्लाइडिङ उडानमा हवाई उडानकै बराबर पाइलट र यात्रुका लागि वीमाको व्यवस्था छ।

नेपालमा पाराग्लाइडिङ कति उत्तम ?
विश्वमा पाराग्लाइडिङका लागि सर्वोत्तम मुलूक हो स्वीट्जरल्याण्ड, दोस्रोमा नेपाल। हावाको बहावका दृष्टिले नेपाल नै पहिलो हो। तर, हामीसँग स्वीट्जरल्याण्डसँग जति अत्याधुनिक उपकरण छैनन्, त्यसकारण हामी दोस्रोमा छौं। टेकअप, ल्याण्डिङ र उडानमा अत्याधुनिक उपकरणको व्यवस्था गर्न सके नेपाल नै विश्वको सर्वोत्तम गन्तव्य हो। नेपालका भिराला प्रत्येक डाँडा पाराग्लाइडिङका लागि सम्भावित गन्तव्य हुन्।

विश्वका १८ देश सहभागी भएर नेपालमा पाराङलाइडिङ विश्वकप समेत सम्पन्न भइसकेको छ। सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा घोषणा गरेको छ। पोखराको हलनचोकस्थित माउण्टेन ओभरभ्यू पाराग्लाइडिङका सञ्चालक कुमार तिमिल्सिना भन्छन्, ‘नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो। हामीले राम्रो व्यवस्थापन गर्न सकेमा अरबौं विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, लाखौंलाई रोजगारी दिन सकिन्छ। यो क्षेत्रले निकै ठूलो सम्भावना बोकेको छ।’

तिमिल्सिनासँगै मिलन तिवारी, भक्तबहादुर केसी र दीपेन्द्र पौडेलको सहलगानीमा सञ्चालित माउण्टेन ओभरभ्यूले तीन वर्षको अवधिमा हजारौं स्वेदशी र विदेशी यात्रुलाई नेपाली आकाशमा उडाएको छ। ओभरभ्यूका प्रबन्धक भुवन रोका भन्छन्, ‘नेपालमा यति सुन्दर पर्यटकीय गन्तव्य छन्, हामी अझै पनि हनिमुन मनाउन थाइल्याण्ड र सिङ्गापुर जान्छौं। अब नेपालीले आफ्नै देशमा स्वर्णीम् आनन्द लिन सक्नुपर्छ।’

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...