जेनीको ममी (कथा)

शैलेन्द्र दाइ प्रभावशाली नेता उनी फुर्सदमा पत्रपत्रिकामा साहित्य लेख पनि लेख्छन् । विशम समय चल्दा पनि उनको कलम कहिल्यै रोकिएन । संकटकालमा त झन के कुरा सरकारलाई खुसी पारीपारी सरकारकै विरुद्धमा खूब लागे । सरकारलाई पत्तो भएन कि शैलेन्द्रले यसरी विद्रोहको आवाज बुलन्द गर्न सक्छ । सुरा सुन्दरीको सामिप्यमा बस्न रमाउने उनको पुरानो आद्दत अहिलेसम्म पनि सुध्रेको छैन भन्छन् । निर्माण व्यवसायी सघंको अध्यक्ष भएपछि दाइलाई अस्ति बल्ल भेट्ने मौका मिल्यो संघको कार्यालयमा । दाइले ठेक्का हाल्न खोजेको ठाममा मैले नि हाल्दै थिए ठेक्का । चिनेका डिभिजन इन्जिनियर भएर हौसिएका थिए बुढा । इन्टरनेटबाट टेन्डर हाल्ने चलन आएसी बुढाले आफूलाई कम्प्युटरमा झनै अब्बल बनाएछन् । दाई नमस्कार भनेर उनको आडैमा टुक्रुक्क बसें ।

कताबाट आयौं हो भाइ भनेर ढाप मारे बुढाले । आफ्नै रेट हाल्दै रहेछन एक्सलमा । दाइ मेरो टाइप अलिकति फास्ट छ, कि म सहयोग गरुला भनेर बुढाको ल्यापटप मैले काखमा लिएँ । कलरिङ बिथ डबल कोटेड डिस्ट्यामपरको रेट प्रति घन मि २८३.५० हान्दा हान्दै बुढाको फर्म भरेर सकियो । पेन ड्राइभमा हालेर बुढा प्रिन्ट गर्नतर्फ लागे । उनको ल्याप्टपको फोल्डरमा भएको एउटा फाइलको नामले मलाई निकै आकर्षित ग¥यो ।

त्यो फोल्डर को नाम थियो ‘जेनीको ममी ।’ भित्र यसो लेखेका खरीहरु रहेछन् ।

भर्खर भर्खर सेना परिचालन भएको थियो गाउँ घरमा । सामरिक हिसाबले महत्व पूर्ण ठाममा सेनाहरुले कमाण्ड समालिसकेका थिए । टेलिकम, विद्युत गृह, अड्डा, अदालत आदिमा सेनाको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो । सेना ब्यारेकबाट निस्केको सम्भवतः यो पहिलो पालि थियो बहुदलयता ।

पुलिस र सेनाको युनफाइड कमाण्डमा गस्तीहरुले सुरक्षा प्रदान गर्थे । शैलेश श्रेष्ठ नेपाल प्रहरीका हवल्दार थिए । उमेरमा २६ वर्ष जुंगा पालेर उसको छुट्टै पहिचान बनेको छ । सबले उसलाई ‘जुंङ्गे हवल्दार’ भन्थे । हिड्दा डुल्दा हासेर बोल्नु, अप्ठारो परेकालाई सहयोग गर्नु उसको पहिचान नै बनेको थियो त्यो टोलमा । निस्फिक्री हिड्डुल गर्नेहरुलाई त उसले पहरा नै दिन्थ्यो । एउटी स्वास्थ्यमा काम गर्ने अनमीसँग उसको चक्कर चलेको भनेर हल्ला थियो ।

बिहे गर्नुपुर्व नै उनीहरुको हिमचिम यति बढ्यो कि उनीहरुले मायाको पेटमा ‘मायाको चिनो’ राखिसकेका रहेछन् । लाहुरे बाकी एक्ली छोरी माया अब दुई जिउकी भैछ्न । घरमा जानकारी नहुँदै यो एक कान दुई कान गरेर यो हल्ला मायाको घरसम्म पुग्यो । जागिर खाने छोरीले यसरी आफ्नो सुरले काम गर्ली भनेर कसैले कल्पना पनि गरेका थिएनन् ।

आमा सुन्दा बित्तिकै बेहोस भैछन् । यता दुई जिउ भएकी केटीलाई सिन्दूर हाल्न हुन्न भनेर सामाजिक वैधानिकतामा उसको बिहेलाई अगाडि बढाउन दिइएन । पेटको बच्चालाई पिर्छ रे सिन्दूर हाले भनेर उसको सम्बन्धको बैधता नि निल्नु न ओकल्नु बनाइदिए । त्यसै बेला सैलेशको पल्टन जाजरकोट सरुवा भयो । जागिर नगए हाकिमको धप्की, जाउ भने बढेको पेट लिएर जान कम्ता सकस हुन्न । एउटा बच्ने आधार भनेको नै सैलेश .. उसको पनि सरुवा भएसी लग्भग एक्लै जस्ती भएको थिई माया ।

एक दिन सैलेशको पल्टन माओवादीसँगको भिडन्तमा परेको र सो क्रममा धेरै सेना तथा प्रहरीको हताहती भएको खबार आयो । तेस्को दुई दिनपछि जिल्लाबाट मारिनेमध्ये सैलेश श्रेष्ठ पनि भएको कुरा मायाले सुनी । माया छागबाट खसे जस्तै भई । जेनतेन हुर्काउन सकुला कि भनेर आफ्नो ‘पेटको नासो’ लाई क्युरेट गर्ने बारे उसले सोचिन । खरिदार लेभलको सरकारी जागिर भएसी आर्थिक रुपमा उसलाई सास्ती बेहोर्नु पर्थेन । यसो हुँदा जीविकोपार्जनमा उसले सहजै होला भन्ठानेर आफूलाई समाल्ने गर्थी ।

नौ महिना बित्यो । जिल्ला अस्पतालमा उसले छोरीको जन्म दिई ।सबै नर्मल भयो । सङ्गैका साथीहरु सहकर्मीले उसलाई सहयोग गरे, कसैले मानो मानो घ्यू ल्याइदिन्थे भने कसैले खसीको मासुको झोल ल्याइदिन्थे । अस्पातलबाट डिस्चार्ज भयो । भाडाको कोठामा आउनुको विकल्प थिएन । बच्चा जन्मेको ५ दिनबाटै ऊ आफ्नु दैनिक काम सुरु गर्न वाध्य भई ।

बिहान उठ्नु बच्चालाई खुवाउनु ,बच्चाका फोहोर लुगा धुनु उसको दैनिकी भएको थियो । पुलिसकी स्वास्नी, पछि लागि हिड्थी नखरमौली बल्ल खाइ… भनेर उसलाई समाजले खराब देखाउन खोज्थे । पुलिस कि हिजडा हैछ, अर्की स्वास्नी नि बनाएको रहेछ । उतै उसलाई त सिन्दूर हाल्न भ्याएको रहेछ भनेर उसलाई झन चिन्ता दिने काम गर्थे पधेर्नीहरु ।

छोरी विस्तारै हुर्कदै, उसको नाम जेनी राखियो । न्वारनसम्म गर्न पण्डित नपाएकी हो मायाले । आफै नाम जुराएर जेनी राखी । तोते बोली फुट्दै गर्दा उसलाई भेट्नेहरुले नि पुलिसकी बतासे भनेर नराम्रो गरी उछितो काट्थे । बाबु चिन्ने बेला भयो जेनीको !!

नेपालको युद्धको भुमरीमा डुबेको बेला यस्ता हजार जेनी टुहुरा भएका छन्, जसले आफ्नै बाबुका धमिला तस्बिरहरु पनि याद गर्न सक्दैनन् । युद्धको बेलामा जन्मेका यस्ता जेनीहरु ती सिपाहीका मात्र नभएर सिङ्गो युद्धाका चिनारी हुनझै लाग्छ । युद्धका त्यस्ता विधवाहरु ती युद्ध वा क्रान्तिका साक्षी हुन् । पटयामा बसेर तेल घसिरहेकी मायाको दृश्यले एकाएक मलाई मौन बनाउछ । बाबा खै भन्ने जेनीको प्रश्नमा आउने मायाको उत्तरको अनुमान गर्न नि मलाई धौ हुन्छ । मेरो बार्दलीबाट देखिरहेको यो दृश्यले मलाई प्रश्नका चाङ तेर्साउछन् । र भन्छन् आखिर देशमा के परिवर्तन भयो खै ?

जेनी ठूली हुन्छे । मायाले सुख दुःख गरी पढाएकै छ । घर परिवार वा अन्य कसैको सहयोग बिना नै निरन्तर देशको सेवा गर्दै घर धान्ने उसको दैनिकी नै भएको छ । डेरा धनीले कति पटक वेश्याको सां दिदै संज्ञालाई घर छोड्न धम्की नदिएका पनि होइनन् । तर अनुनय विनय गरेर उसले घरबेटीलाई बस्न दिने बनाउछे । डेराको जिन्नगी बढ्दो छोरीको उमेर, महंङ्गो बजारले उसलाई आर्थिक जोहो गर्न धौधौ परेको हुन्छ ।

धेरै पैसा खेलाउने खुसन साहुँजी सँग उसले सरसापटी गरीगरी काम चलाऊथी । समाजले उसैसँग पल्कीछे भनेर कुरा काट्न थालेपछि अचेल सहयोग नि माग्न छोडी । गंगाराम कहिलेकाँही हासेर बोल्थ्यो मायासँग समाजले उसैसँग नाम जोड्न नि पछि परेन ।

जेनी बढ्दै गाई स्कुलमा प्राविधिक बिषय लिएर पढ्न थली साथीहरु उसलाई बाउ नभएकी भनेर जिस्काउछन् । स्कुलमा टिचरहरु नि पढाइदिने वा कुनै अभिभावक बन्ने निहुमा जेनीसँग नजिकिन्छन्, उसको मस्त शरीरलाई भोग गर्छन्, आफूलाई ससम्मान चोखो देखाएर जेनीलाई वेश्याको संज्ञा दिन्छन् । यैचो पैचो नगरिकन माया दैनिकी चलाइरहेकी छ । स्कुल नजिकैको डेरा सरेर उनीहरु अलिकति टाढा गएका छन् । कारण अरु केही नभएर उही समाजको तिरस्कार हो । उही भुक्त भोगीहरुको उपयोग र तिरस्कारको सञ्जालबाट बाहिरिनु हो ।

अचेल मेरो दैनिकी पनि फेरियो । मेरो बार्दलीले देखाउने एकल महिला र त्यो युद्धकी पीडित जेनीको दैनिकी अचेल कल्पनामा बित्छ । उसँगै जन्मेकी परीनिता वा नारायणी अचेल डिलतिर बसेर दिल बेच्छन् । जेनी मनले काम गर्छे तर उसको मनको होली खेल्छ समाज । त्यो निरस जिन्नगीको रस लिन खोज्ने जेनी र त्यो रसिलो जिन्दगीको रस छचल्काउने परीनिताहरु बीचको दूरी हेर्दा म आmँै अचम्मित हुन्छु ।

नखुलेको टेन्डर कहाँ गएर हाल्नू ? यो समाज सुधार्न मलाई नि टेन्डर हाल्न मन छ । महिलाको जिन्दगीलाई सुधार्नेतर्फ बढ्दो राज्यको लगानी समाजका आधारभूत मानसिकता परिवर्तन गर्नेतर्फ पनि लाग्नु पर्छ भन्ने कुरा फेरि पनि रटाउन मन लाग्छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।