सांस्कृतिक कार्यक्रममार्फत पाल्पाको चिनारी

पाल्पाली समाज पोखराले शनिबार ‘सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा अग्रजलाई सम्मान गरेको छ ।

पाल्पाको पर्यटन प्रर्वद्धन, कला तथा लोक संस्कृतिको जगेर्ना गर्न कार्यक्रम गरिएको हो । समारोहमा नेपाल सरकार मन्त्री परिषदका पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सार्वजनिक अभिनन्दन गरिएको छ ।

नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुवेरसिंह राना, कलाकारहरु राजेश हमाल, नारायण रायमाझी, दुर्गा रायमाझी, वद्री पंगेनी, इन्द्र जिसी, लगायतलाई सम्मान गरिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरे जानकारी दिए । पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका रामपुरको बालन, निस्दी गाउँपालिका मित्यालको कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरिएको छ ।

समारोहमा पाल्पाली ढाकाको उत्पादनका प्रदर्शनी तथा पाल्पाको पहिचानको रुपमा रहेका आलुको चुकाउनी, बटुक(बारा), हाँसको छोइला लगायतको खानाका परिकार प्रदर्शनी गरिएको थियो ।

पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय स्थल रहनसहन, मौलिक संस्कृति, कला, भेषभूषा लगायतको पहिचान गरी श्रव्य–दृश्य सामग्रीमार्फत् प्रदर्शन गरिएको थियो । पाल्पा चिन्ने र चिनाउनको लागि गरिएको कार्यक्रममा पोखरा सभागृहको गेटमा पाल्पा दरबार सचित्र रुपमा सजाएर राखिएको थियो । सभागृहको मञ्चमा बनाइएको रानीमहलको आकृतिले मिनी पाल्पाको झल्को दिएको थियो ।

नेपाल सरकार मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले समाजले पोखरामा बसेर पाल्पाको गौरव बढाएको बताए । ‘समाजको गतिविधिले पर्यटन प्रवद्र्धनको अलवा समग्र पाल्पाको विकासमा सहयोग पुग्ने छ,‘पूर्व अध्यक्ष रेग्मीले भने, ‘समाजले पाल्पा र पोखराको अन्तर सम्बन्ध बढाउने काम गरेको छ ।’

स्वाभिमान, अस्तित्व, हक अधिकार,संस्कृति संस्कार र जीवन पद्धति लगायतका सबाल पहिचानसँग जोडिएको उल्लेख गर्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीशसमेत रहेका रेग्मीले पाल्पाली समुदायमा आधारित पहिचानलाई सबैले स्वीकार गर्नु पर्ने र बाँड्न पर्ने बताए ।

नेपाल विविधतामा एकता भएको देश भएको चर्चा गर्दै रेग्मीले कला संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँधेको धारणा राखे । महानायक राजेश हमालले देश, विदेश जहाँ रहेको भए पनि पाल्पाको विकासमा जुट्न सबैमा आह्वान गरे ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य सोमप्रसाद पाण्डे, प्रदेशसभाका सदस्यहरु पुरन बज्राचार्य, युवराज खनाल, वीरबहादुर राना, तानसेन नगरपालिका मेयर अशोककुमार शाही, रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापा लगायत गाउँ पालिकाका अध्यक्ष तथा उपाध्यक्ष, उद्योगी, पर्यटन व्यवसायीको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा कलाकारहरु नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसी, जमुना राना, दुर्गा पाण्डे लगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा काठमाडौं, चितवन, नवलपरासी, रुपन्देहीमा क्रियाशील पाल्पाली समाज समेत सहभागी छ ।