विद्यालयका उत्सव- रुप र सार

विद्यालय त्यो समाजको अगुवा हो । समाजलाई सकारात्मक रुपमा रुपान्तरण गर्न यसले ठूलो भूमिका खेलेको हुन्छ । समाजमा हुने अन्याय भेदभाव विद्यालयमा पनि प्रत्याभूत हुन्छ भनिन्छ । समुदायमा रहेका कुरीति कुसंष्कार सामाजिक अन्याय आदि न्यूनिकरणको लागि विद्यालय एक कदम अगाडि नै हुनु पर्दछ । त्यसैले अन्य नाफामूखी संस्थाले जस्तै क्रियाकलाप सामुदायिक विद्यालयले गर्नु हुदैन । विद्यालयका प्रत्येक क्रियाकलापले सकारात्मक संदेश बोकेको हुनु पर्दछ । राजनीतिमा प्राय: प्रयोग हुने पदावली “रुप र सार” विद्यालयका कार्यक्रममा “भव्य र सभ्य” अर्थमा पनि लिन सकिन्छ ।आजभोली व्यक्तिहरुको जन्मत्सोव, वैबाहिक वर्षगाँठ मनाउने प्रचलन मात्र बढेको छैन बरु विभिन्न क्लव स्थानिय पालिका संघ संस्थाहरुले महोत्सवको आयोजना गर्ने लहर चलेको पाइन्छ । यस्ता महोत्सवको सार पक्ष भन्दा रुप पक्ष हेरि मूल्यांकन गरिने परिपाटी पनि छ । यस्ता महोत्सवले कलिला वालवाललिका र युवालाई सकारात्मक संदेश नदिई बिक्रिती र बिसंगतीलाई नै बढवा दिएको प्रतीक हुन्छ । यस्ता महोत्सवको देखासिखी विद्यालयले अवश्य गर्नु हुदैन । सबैले गर्ने महोत्सवको सार हुनु पर्ने मान्याता हुदाहुदै पनि यस लेख विद्यालयका उत्सवमा केन्द्रित भै तयार पारिएको छ ।

माघ र फाल्गुण महिनामा विद्यालयका उत्सव राख्न अनुकुल मौसम र शैक्षिक तालिकामा पनि अनुकुल हुने ठानिन्छ; उत्सवहरु हुने गर्दछन । विद्यालयहरुले पनि वार्षिक, रजत, स्वोर्ण जस्ता उत्सवहरु नियमित मनाउने परिपाटी स्थापित भएको छ । यस्ता उत्सवहरु भव्य र सभ्य रुपमा मनाइदेै छ भनेर प्रचार प्रसार गरिएको हुन्छ । त्यसैले कसरी भव्यता भित्र सभ्यता दौडाउनु पर्दछ र उत्सवको अवसरमा गरिने स- साना प्रक्रियामा शुक्ष्म कार्यले पनि हुन सक्ने विभेद हिंसा अपमान असभ्यता जस्ता पक्षलाई कसरी हटाउन सकिन्छ चनाखो अवश्य हुनु पर्दछ । सबै क्षेत्रमा लागू हुने रुप र सार, पदार्थ र चेतना, कार्य र कारण, अनिवार्य र आकस्मिकता, संभावना र वास्तविकता, पूर्ण र अंश आदि जस्ता दार्शनिक बिषयहरु विद्यालयका सबै क्रियाकलापहरुमा लागू हुन्छन् । याहाँ विशेष गरि रुप र सारलाई विद्यालयमा घटित हुने र हुन सक्ने परिघटनाहरुबाट उदारणहरु लिई व्यवारिक र शैद्धान्तिक रुपले प्रथमत: प्रष्टाउने कोसिस गरिएको छ ।


रुप भौतिक हुन्छ । यसलाई जो कोहिले पनि अनुभव गर्न सक्दछ । विद्यालयका उत्सवमा धेरै मानिस जम्मा गर्नु, भोजभतेर गर्नु उत्ताउला माया प्रितिका गीत गाउनु, अर्धनग्न रुपमा नाच नाच्नु, होहल्ला तथा ताली बजाउनु, आवेशमा आएर चन्दा बोल्नु जस्ता क्रियाकलापहरु रुप पक्षमा पर्दछन् ।

रुप र सार बुझनको लागि एक लोक प्रचलित भनाई राख्न सान्दर्भिक हुनेछ । एक जनाले सधै दुधसंग रक्सि साटि खाने गर्दथ्यो ।रक्सि दिनेले उसलाई भन्ने गर्दथे – तिमीले दिएको दुध मेरो शरिरमा लाग्ने कहिले हो ? तर मैले दिएको रक्सि तिम्रो शरिरमा भर्खरै लाग्दछ ।दूध सार हो भने रक्सि रुप हो ।विद्धालयको परिबेशमा हुने गरेका कार्यहरु जस्तै चोर्न लगाइ परीक्षामा धेरै पास गराउनु, राजनैतिक वा अन्य पुर्वाग्राह राखि अयोग्य शिक्षक नियुक्त गर्नु भौतिक सम्पतिलाई मात्र सम्पति ठान्नु,तालुकदार कार्यालय वा व्याक्तिको चाकडी गरि जागिर थमाउनु वा बढुवा हुनु आदि यस्ता उदारणहरु हुन जुन रुप पक्षसंग मात्र सम्बन्धित हुन्छन् । यस्ता रुप पक्षमा परिमाण मात्र देखिन्छ तर गुणात्मक पक्ष अोजेलमा परेको हुन्छ । सुन्निएर मोटाई राम्रो देखिनु रुप हो यसमा कुनै तागत वा गुण हुदैन ।

नाफामुखी संस्थाले मिसाबट गरेर झुक्काएर कानुनलाई छलेर घुस दिएर प्रभावमा पारेर अधिकारको दुरुपयोग गरेर आपसमा लडाएर फुटाएर आदि धेरै तरिकाबाट रुपमय भव्यता वा परिणाम देखाउँछ । विद्यालय सेवामुखी संस्था हो; हुनु पर्दछ । त्यसैले विद्यालयले अल्पकालिन र दीर्घकालिन लगानी गर्नु पर्दछ । यसरी गरिएको लगानी नै सारयुक्त हुन्छ ; समुदायलाई सभ्यतातिर डो-याउँछ । दानबीरहरुको मन जिति चन्दा संकलन गर्ने काम कठीन हुन्छ । संकलित रकम सारपूर्ण खर्च गर्न झनै कठीन हुन्छ । विद्यालयको कोष लामो समयसम्म राख्न सक्ने प्रधानाध्यापक राम्रो ठान्ने हाम्रो समाजको मनोविज्ञान अझै हटेको छैन । सही समय र ठाँउमा यदि कोषको रकम खर्च गरिएन भने यसको सार कालले खान्छ भनिन्छ । धनी व्याक्तिले समेत आफ्ना सन्ततिको संष्कार विकासमा खर्च गर्न नसक्दा पछुताउनु परिरहेको देखिदै आएको छ । अहिले पनि महिला तथा दलित शसक्तिकरण वा अन्य चेतनामूलक क्रियाकलापमा गाउँ पालिका वा नगरपालिकको कोषबाट गरिएको लगानि अनावश्यक खर्च ठान्ने गरिन्छ । सकारात्मक कार्यको लागि गरिएको लगानि खर्च होइन ।

विद्यालयका ठूला उत्सवहरुको अवसर गरिने सम्पूर्ण कार्य र व्यवहार सारयुक्त हुनु पर्दछ । यस्ता मौकामा चौका हानि आफ्नो अनुकुल बनाउने दाउमा पनि कोहि रहेका हुन्छन् भन्ने पक्षमा विद्यालयले नजर अन्दाज गर्नु हुदैन । हाम्रो समाजमा जुनसुकै क्रियाकलाप हुदा पनि आ-आफ्नो तर्क कुतर्क दिने परंपरा रहेको छ । आफुलाई थाहा नभएको विषयमा पनि अती जान्ने सुन्ने (अजासु) ठहरिनु पर्ने, आलोचना गर्ने तर समाधानको उपाय नजान्ने वा जानेर पनि नसुझाउने प्रवृति प्रति पनि विद्यालय सचेत हुनु पर्दछ । विद्यालय उत्सवको वहुआयमिक उदेश्य रहेको हुनु पर्दछ । राजनीतिमा निश्चित उदेश्यको लागि गरिने आन्दोलन क्रान्ति हुन्छ भने विना उदेश्यको आन्दोलन गुण्डागर्दी हुन्छ भनिन्छ । विद्यालयको उत्सवमा जे जति तामजाम गरिन्छ ती सबै रुप हुन् । ती सबै क्रियाकलापहरुको के उदेश्य परिपूर्तिका लागि गरिदै छ भन्ने नै सार हो । त्यसैले रुप सारको पछि लाग्नु पर्दछ । सार रुपको पछि लाग्यो भने उदेश्य दिशा बिहिन हुन पुग्दछ । रुप विनाको सार खोज्यो भने पनि त्यो केबल परिकल्पना मात्र हुन्छ । विद्यालयले के उदेश्य (सार) राखेको छ ? त्यसलाई तार्किक निष्कर्षमा पु-याउन के कस्ता कार्यक्रमहरु (रुप) अपनाउन उपयुक्त हुन्छ ?भन्ने कुरा एक अर्कोमा अन्तरसम्बन्धित हुन्छ । रुप अनुसार सार र सार अनुसार रुप रहने हुदा यी दुईवीचको सम्बन्ध सापेक्ष हुन्छ । विद्यालयलाई नयाँ मोड दिन विद्यालयका अहिले सम्मका सबै रुपहरु उपयोग गर्नु पर्दछ ।

नयाँ सारले पुराना रुपहरुलाई उपयोग गर्दछ भनिन्छ । रुप र सारवीचको सम्बन्ध अस्थाई तथा परिस्थितिजन्य पनि हुन्छ । उदारणको लागि विद्यालयलाई सहयोग गर्ने चन्दादातालाई सम्बन्धित उत्सवमा जे जति खर्च गरेर स्वगत सम्मान गरिन्छ त्यसरी नै पछिल्ला वर्षहरुमा नगरि सामान्य सम्झने कार्य हुन्छ । विद्यालयका उत्सवहरुमा सरोकारवालावीच अन्तरबिरोध पनि हुन्छ । यस्तो अवस्थामा जिम्मेवार तथा जवाफदेयी व्याक्तिहरुले तार्किक नियमसंगत तथा बौद्धिक बल प्रयोग गरि अन्तरविरोध समाधान गर्नु पर्दछ । विद्यालयले अन्य विद्यालयले गरेका सकारात्मक अभ्यासहरुको अनुसरण गर्न हिचकिचावट गर्नु हुदैन । विद्यालयका उत्सवका कार्यक्रमहरु कसरी संचालन गर्नु पर्दछ भन्ने बारे शिक्षा विभागले विद्यालयहरुलाई परिपत्रबाट निर्देशित गरेको अवस्था पनि छ । आ-आफ्नो ठाउँ परिस्थिति आर्थिक भौतिक तथा मानविय साधन स्रोतको उपलव्धता उत्सवको उदेश्य समुदायको मनोबिज्ञान स्थानिय समुदायसंगको सहकार्य आदि धेरै पक्षहरुलाई दृष्टिगत गरि कलात्मक रुपमा परिस्थितिजन्य लचकता समेत अपनाई संचालन गर्नु पर्ने हुन्छ ।

उत्सवको सेरोफेरोमा विद्यालयले गर्ने क्रियाकलापमा रुप पक्षमा मात्र नहेरि सार पक्ष पनि हेर्नु पर्दछ । याहाँ केही परंपरागत प्रचलित रुपहरुमा परिवर्तन गरि वढी भन्दा वढी सार लिन सकिने वर्तमानमा विकसित व्यावहारिक तथा ठोस कुराहरुको उल्लेख गर्न सान्दर्भिक ठानिएको छ ।अहिले धेरै विद्यालयको उत्सवको उदेश्य शिक्षाको गुणस्तरमा वृध्दि, भौतिक तथा ई-पुस्तकालय, कम्पुटर शिक्षा, निशुल्क शिक्षा जस्ता राखिएको पाइन्छ । दक्ष जनशक्तिको अभाव र अन्य कारणहरुले गर्दा यस्ता रुपलाई जीवन दिन नसक्दा सार लिन नसकिएको दृष्टान्त धेरै छन् । पुस्तकालय संग्रालय र कम्पुटर सेतो कात्रो अोडेका मृत शरीर जस्ता देखिन्छन् । विद्यालयका संस्थापकहरुका सन्ततिलाई संस्थापक मान्नु नियमसंगत नभए पनि सार लिन मान्दै आएको प्रचलनमा विवाद नभएमा ठीकै मान्न सकिन्छ । विद्यालयका उत्सव सम्पन्न गर्न धेरै समिति उप समिति गठन गर्नु पर्दछ । पद अोगडने तर काममा चासो नदिने पक्षमा पनि सचेत हुनु पर्दछ ।

यस्ता अंगहरुले गर्ने परिणाममूखी कार्य नै सार हुन आउछ । आमन्त्रण गर्न पत्रको संवोधन शिष्टता शुद्धता आधिकारिता प्रष्टता आदि रुप पक्ष हो भने कस्ता व्याक्तिलाई आमन्त्रण गरिएको छ त्यसमा मात्र सार पाउन सकिन्छ ।जुन व्याक्तिहरुको उपस्थितिले विद्यालयको उदेश्य तथा उत्सव सफल हुन्छ यस्ता व्याक्तिहरुलाई आमन्त्रण गर्न छुटाउनु हुदैन । पाठ्यापुस्तकका लेखक साहित्यकार र विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्याक्तिहरु आमन्त्रण गर्ने परिपाटी बसाल्नु पर्दछ । पन्चकन्या र महिलाहरुबाट स्वागत सम्मान गर्ने कुरा पनि रुप पक्ष राम्रो देखिए पनि नजानिदो हिंसा र अपहेलना भै रहेको हुन्छ भन्ने कुराको सार लिन आवस्यक देखिन्छ । राजा माहाराजाको जस्तो स्वागतको शैली अपनाउन राम्रो मानिदैन । स्वागतको लागि के के उर्दु भाषामा लेखिएको खादाको प्रयोग गर्नुको सट्टा फूलमाला नै प्रयोग गर्नु सभ्य ठानिन्छ । स्थानिय बाजागाजाको प्रयोगमा रुप र सार दुबै रहेको मान्न सकिन्छ । मञ्चमा आसन ग्रहण पक्षमा पनि विवाद भैरहेको पाइन्छ । मान्यता क्रमको पोटफोलियो निर्माणमा पनि बिचार पु-याउनु पर्दछ । मञ्च खालि बनाएर फेरि मञ्चमा बोलाउने प्रचलन पनि हटिसकेको छ । बस्ने आसनमा व्याक्तिको स्तरको संकेत गरे अनुसार बसालि पछि परिचय गराउने परिपाटीको विकास भएको छ । प्रमुख व्याक्तित्वहरुलाई पहिले मन्तव्य राख्न लगाउने र मनोरन्जनात्मक कार्यक्रम पछि राख्ने गर्न थालिएको छ ।

भिडको माग अनुसार कार्यक्रमलाई मोडन हुदैन । यसो गर्दा रुपले सारलाई उझिन्न खोजे जस्तो हुन्छ । प्रसोताले वक्ताको भनाइको वढी व्याख्या विश्लेषण गर्नुमा कुनै सार रहेको हुदैन । समयमै सम्बन्धित दिनको कार्यक्रम समापन गर्नु नै धेरै रुप पक्षबाट सिर्जित समस्याहरुबाट बच्ने उपाय हुन सक्छ । बिद्यार्थीका सिर्जनात्मक क्रियाकलाप र विद्यालयको प्रतिवेदनलाई प्राथमिकताका साथ लैजानु पर्दछ । सम्मान कार्यक्रममा प्रष्ट देखिने गरि विभेद गर्नु राम्रो रुप मानिदैन । गच्छे अनुसारको चन्दालाई मान्यता दिनु पर्दछ । स्मारिकामा नक्कल गरिएका लेख रचना राख्ने गर्नु हुदैन । स्मारिकामा धेरै विज्ञापन राख्नु पनि राम्रो मानिदैन ।

हिसाब, निसाब र पिसाब समय मै गर्नु पर्दछ भनिन्छ । विद्यालयको आयव्याय र चन्दा रकमलाई सार्वजनिक र पारदर्शि बनाउनु पर्दछ । हिसाबबाट नै धेरै नकारात्मक रुप आउन सक्ने र सकरात्मक सार लिन पनि सकिने पक्षमा सचेत रहनु पर्दछ । अवश्य पनि विद्यालयका उत्सव कर्मकाण्डिय रुपमा संचालन नगरि नव प्रवर्तनको संदेश बोकेको हुनु पर्दछ । रुप पक्षलाई मात्र प्राथमिकता दिदा राजनैतिक सामाजिक आर्थिक मूल्य मान्यता आदर्शले बाटो बिराइ रहेको हुन्छ भन्ने कुरा सबैले अनुभव गरेको विषय हो । यसरी विद्यालयका ठूला उत्सवहरुमा रुप र सारको खोजि र यी दुबैलाई एक अर्कोमा अन्तरघुलन गरि अगाडि बढाउन सकेमा मात्र यो तार्किक मार्मिक व्यावहारिक र समय सापेक्ष मात्र होइन ऐतिहासिक समेत बन्न जानेछ । अस्तु ।

(लेखक महेन्द्र मा बि नरेठाँटी बाग्लुङ का भु पु प्रधानाध्यापक हुन । )