माघीमा ‘देउडा’को रौनक

देउडा नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली हो । यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा आदि नामले चिन्ने गरिन्छ ।

यो भाषा मूलत ः बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, मुगु, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा अवलम्बन गरेको पाइन्छ । जसलाई पश्चिमेली भाषामा गाइन्छ । यो सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक संस्कृति पनि हो । सामाजिक उत्सव, मेला, मालिका, जात्रा, पर्व, शुभकार्य, नव दिनजस्ता विभिन्न अवसरमा यो गाइन्छ । जसले इतिहास, साहित्य, कला, संस्कृति, सभ्यताको सरल ढङ्गले चित्रण गर्छ । यसले मानव समाजको वास्तविकतालाई सरसपूर्ण शैलीमा उजागर गर्दछ । अर्को अर्थमा भन्नुपर्दा यो तार्किकसँगै शीघ्र जवाफ दिने प्रतिस्पर्धात्मक खेल पनि हो ।

त्यति मात्र होइन, सवाल–जवाफबाट आफ्नो प्रतिस्पर्धी कमजोर बनाएर दर्शकलाई मनोरञ्जन दिने खेल हो ‘देउडा’ । यो संवेगात्मक भावनाले भरिपूर्ण टोकरी पनि हो । जहाँ माया, प्रेम, दुःख, सुख, विरह, पीडा, वेदना, घृणा, दोष, इष्र्या, षड्यन्त्र, मानवता जस्ता सबै भाव भेट्न सकिन्छ । यसैको माध्यमबाट पोखिने भावनाले कुनै पनि व्यक्ति वा समाजको परिवर्तनमा टेवा पुगेको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन् ।

“देउडाको गर्विलो विरासत त छँदैछ, पछिल्लो समयमा यो समाज रुपान्तरण, विकास, प्रविधि तथा सूचना एवं सन्देश दिने प्रभावकारी माध्यम भएको छ,” उनले भने, “यो मनोरञ्जनको साधन मात्र नभई मौलिकताको खानी पनि हो ।”

कर्णाली देउडा समाजका अध्यक्ष पूर्णप्रसाद धितालले देउडा मौलिक संस्कृति र सभ्यताको द्योतक भएको बताए । “देउडा तत्कालीन समयको सूचना तथा सन्देश प्रवाहको माध्यम हो,” उनले भने, “यो आजको परम्परागत संस्कृति संरक्षण गर्ने औजार पनि हो ।”

मगर तथा थारू जातिले आज देशैभरि ‘मकर सकराती एवं माघी पर्व’ मनाइरहँदा कर्णालीका बाह्मण, क्षेत्रीलगायत जातिले भने प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘देउडा’ लगाएर ‘माघे सङ्क्रान्ति’ मनाएका छन् । प्रकृति पूजक मगर जातिका समुदायले छोरी–चेलीलाई मिश्रा (उपहार) दिँदै मीठा–मीठा परिकार खाएर र थारू समुदायले तरुल, सखरखण्ड खानाका साथै नयाँ वर्षको शुभकामना आदान–प्रदान गरेर यहाँ यो पर्व मनाएका छन् ।