नयाँ राज्यसक्ता त केही पनि छैन : चैतन्य

दर्शन, राजनीति र सौन्दर्य शास्त्रका प्रखर चिन्तक तथा विश्लेषक वैद्य किरण ‘चैतन्य’ अगम नामले पनि लेख्छन् । प्रगतिवादी समालोचना र दर्शन शास्त्रका ज्ञाता मानिने उनका आधा दर्जन कृतिहरू प्रकाशित छन् । साँढे ६ दशकको उमेरमा पनि उनी माक्र्सवादी दर्शनले सिकाएको बाटोमा युवा उर्जाका साथ यात्रारत छन् । समालोचक, सौन्दर्य चिन्तक चैतन्यसँग फडिन्द्र अकिञ्चनले गरेको कुराकानी यहाँ प्रस्तुत छ ः

यहाँ नेपालको एउटा राजनीतिक दलको नेतृत्व तहमा हुनुहुन्, सौन्दर्यशास्त्री र प्रगतिवादी समालोचक भएको नाताले बताई दिनुस् न साहित्य र राजनीतिको बीचमा कस्तो सम्बन्ध हुन्छ ?
हेर्नोस, यसको सम्बन्ध बुझ््नको लागि यसको भिन्नता बुझ्नु प¥र्यो । साहित्यमा खास गरिकन भावना, संवेदना, विम्बको प्रचुरता हुन्छ भने यिनैमार्फत विचारलाई अभिव्यक्त गरिन्छ । राजनीति भन्ने कुरो मूलभूत रूपमा राज्य सत्ता, पार्टी जस्ता विषयसँग सम्बन्धित हुन्छ । त्यस कारणले यी दुवैको बीचमा भिन्न्ता भयो । फरक के हुन्छ त भन्नुहुन्छ भने यी दुवैले एक अर्कालाई प्रभावित पनि गर्छन् । भन्नुस् अब राजनीति साहित्यमा विषयवस्तु बनेर जानसक्छ, जस्तो महाभारत, रामायण छन् ।
राजनीतिको संघर्ष, क्रान्ति, आन्दोलन यो सब साहित्यको विषयवस्तु बन्न सक्छ । राजनीति साहित्यबाट प्रभावित हुन्छ भनौ वा साहित्यले राजनीतिलाई पनि प्रभावित पार्छ । त्यसकारण यी दुवैको एक आपसमा फरक पनि छन् । सम्बन्धित पनि छन् र एक अर्कालाई प्रभावित पनि पार्दछन् ।

क्रान्ति, आन्दोलन र दलहरूको गठन र फैलावटमा बाङ्मय क्षेत्रलाई उपयोग गर्ने गरेको र पछि उपेक्षा गर्ने प्रवृत्ति रहेको छ भन्ने आरोपको विषयमा यहाँको के धारणा छ ?
अँ यो केही हदसम्म ठीकै हो । अब आखिर राजनीतिज्ञमा, साहित्य, कला प्रतिको संवेदना, आत्मियताको भावना हुनुपर्ने, जुनरूपमा हुनुपर्ने हो सो भएको देखिदैन शासकहरूमा ।

साहित्यमा धेरै वाद, मान्यताहरू छन्, कुन सर्वश्रेष्ठ हो भन्ने मान्नुहुन्छ ?
निश्चित रूपमा माक्र्सवादी विचारबाट निर्देशित प्रगतिवादी विचार नै यो संसारको वाङ्मयमा सर्वश्रेष्ठ विचार हो ।
पूरानो राज्यसक्तालाई नभत्काइकन यसलाई ठिक ढंगले अगाडि बढाउन सकिदैन ।

सर्वश्रेष्ठ मान्नुको पछाडि के कारणहरू अन्तर्निहित छन् ?
प्रगतिवादले आजको दुनियाँको भावना, संवेदनालाई सम्बोधन गर्न सक्छ । अब प्रगतिवाद नै अहिलेका विकासित तमाम सिद्धान्त र पद्धतिहरूमध्येमा अन्यत्नै नविन छ । यो प्रगतिवाद फेरि सबभन्दा उन्नत विचारधाराद्धारा अनुप्राणित पनि रहेको छ । यसको सार के हो भने प्रगतिवाद एउटा वैचारिक हिसाबले, साहित्य सिद्धान्तको हिसाबले पनि सबैभन्दा उन्नत धारा हो र यसले सबैभन्दा प्रगतिशिल, सबैभन्दा क्रान्तिकारी जनतालाई आधार मानेर, उसका विचारलाई, भावनालाई आधार मानेर अगाडि बढ्छ । त्यसैकारण यो शशक्त छ, शक्तिशाली छ र राम्रो छ भन्नोस् । त्यसैकारणले यसलाई स्विकार गछौं ।

जनतामा चेतना जगाउन वाङ्मय क्षेत्रको भूमिका कस्तो रहन्छ र तपाईहरूले सञ्चालन गरेको जयुद्धलाई सफल बनाउन यस क्षेत्रको कस्तो योगदान रहयो ?
अब जनयुद्धको विकासको निम्ति सकरात्मक भूमिका र≈यो । हामीले माक्र्सवादी सौन्दर्यशास्त्रमा मान्दै आएको कुरा के हो भन्नुहुन्छ भनेदेखि कुनै पनि मूलुकमा क्रान्ति सम्पन्न गर्नको लागि सांस्कृतिक आन्दोलनले साहित्य, कला र संस्कृतिले एउटा आधारभूमि तयार पार्छ भन्ने एउटा मान्यता छ र यो मान्यता नेपालका सन्दर्भमा पनि राम्रो ढंगले लागू भएको छ । महान जनयुद्धको भूमिका निर्वाह गर्नको निम्ति र त्यो जनयुद्ध सुरू भइसकेपछि पनि यसले शसक्त भूमिका निर्वाह ग¥यो ।

अहिले युद्धसँग सम्बन्धित पुस्तकहरू निकै आएका छन्, तपाईहरूको जनयुद्धको मर्मलाई सम्बोधन गर्न सक्ने र यथार्थपरक रूपमा त्यसलाई समेटिएको साहित्यिक कृति प्रकाशमा आएको छ के भन्नुहुन्छ ?
यो क्षेत्रमा रामै्र विकास भएको छ भन्नोस् । जनयुद्ध कालमै पनि साहित्यका विविध विधाहरू जस्तो कविता, कथा, उपन्यास, संस्मरण अनि गीत संगीत भन्नोस्, कलाको कुरा गर्ने नै हो भने सबैमा जनयुद्धको प्रक्रियामा पनि कयौंले लेखिए । त्यस यता प्रकाशनका हिसाबले प्रशस्त सामग्रीहरू रचिएका छन् । समीक्षा, सौन्दर्य चिन्तनमा पनि, विभिन्न विधाहरूको विकास भएको छ ।

नेपाली सांस्कृतिक आन्दोलनको अहिलेको अवस्था र समस्याहरू तपाईंको नजरमा के–के छन् ?
अहिलेको समस्या भनेको, सबै भन्दा ठूलो एउटा हो धाराको विकास, प्रगतिशिल वा प्रगतिवादी कला, साहित्य, संगीतको विकासका लागि सक्तापक्षले असाध्य उपेक्षा गरेको छ । एक नम्बरमा यो भो । यो लामो समयमा माओवादी पार्टीबाट नेतृत्व गरेको नेताहरूले पनि यो कुरा बिर्सिएको भन्नोस् ।
साहित्य जनयुद्धको भूमिका तयार पार्ने प्रक्रियामा र महान जनयुद्धको प्रक्रियामा साहित्य, कला, संस्कृतिले के कस्तो भूमिका खेलेको थियो भन्ने खालको कुरालाई चटक्क बिर्सेर हेर्नोस् यसलाई चाँही संरक्षण गर्ने लेखक, कलाकारहरूलाई एउटा उत्साहित गर्ने काममा पटक्कै ध्यान दिइएको छैन र के भएको छ भनेदेखि उनी पूरातन धारा आधुनिकतावादी र उत्तरआधुनिकतावादलाई फैलाउनको निम्ति उही पहिलेकै जस्तो छ र अहिले त्यो आभाष, यहाँ जनयुद्धपछि सरकारमा गए भन्ने खालको आभाष यस क्षेत्रले पाउन सकेको छैन । यो गम्भीर विडम्बनाको विषय हो ।
अर्को चुनौति भनेको के हो भन्नुहुन्छ भने आधुनिकतावाद, उत्तरआधुनिकतावादले एउटा प्रभाव फैलाइसकेको छ । त्यसमा साहित्यमा दक्षिणपन्थी संशोधनवादी धारा तिव्र छ । तेस्रो चुनौति भन्या के हो भन्नुहुन्छ भने वैचारिक चेतना प्रतिधु्रविय धारा र शंसोधनवादी धारालाई पनि पराजित गर्न प्रगतिवादी लेखक, कलाकार, संंस्कृतिकर्मीहरूले आफूमा रहेको कमीकमजोरीहरूलाई सुधार्दै, सच्याउँदै, यो लडाइमा शसक्त र सक्षम भूमिका निर्वाह गर्न जरूरी छ । मूलभूत रूपमा यिनै चुनौति छन् ।

अहिलेको नेपाली साहित्यमा समीक्षा÷समालोचनाको अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
समालोचनाको दृष्टिकोणले अब राम्रै प्रगति भइराखेको छ । अझै यसलाई प्रभावकारी बनाउन प्रयास गर्नु जरूरी छ । एउटा भन्नोस् महान जनयुद्धको प्रक्रियामा केही रचनाहरू लेखिएका छन् त्यसको राम्रो समीक्षा अझै आउन सकेको छैन । यो सन्दर्भमा स्मरणिय के छ भनेदेखि हामीहरूले घनश्यामजी (घनश्याम ढकाल) हरूको संयोजकत्वमा एउटा पुस्तक ‘जनयुद्धका साहित्य र सौन्दर्य’ भन्ने प्रकाशित भयो त्यसले एउटा महत्वपूर्ण भूमिका खेलेको छ । त्यो एउटा वृहत ग्रन्थ पनि हो ।
यस्तै खालका ग्रन्थहरू भन्नोस् धेरै निकाल्न जरूरी छ । त्यसमा प्रगतिशिल समालोचनाको क्षेत्रमा सैद्धान्तिक क्षेत्रमा पनि र व्यवहारिक भन्नोस्, कृतिपरक समीक्षाको क्षेत्रमा पनि समालोचकहरूले अझै मेहनत गर्नु जरूरी छ । मेहेनत अलि पुगेको छैन ।
प्रगतिवादी लेखक, कलाकार, संंस्कृतिकर्मीहरूले आफूमा रहेको कमीकमजोरीहरूलाई सुधार्दै, सच्याउँदै, यो लडाइमा शसक्त र सक्षम भूमिका निर्वाह गर्न जरूरी छ ।

नेपालमा वाम विचारधारा अंगिकार गर्नेको वर्चस्व भए पनि प्रगतिवाद मूल प्रवृत्तिको रूपमा स्थापित हुन नसक्नुका पछाडि के कारणहरू देख्नुहुन्छ ?

यसको मूख्य कारण राज्यसक्ता हो हेर्नोस् । राज्यका पूरा संयन्त्रहरूमा पूरानै वर्गको राज्य सत्ता छ । मन्त्री मण्डलमा मात्र भएर के गर्ने ? बाहिरबाट हेर्दा हामी नै छौ भन्ने मान्छेलाई तर राज्यसत्तामा त दलाल, नोकरशाह, जमिन्दार वर्गकै राज्यसक्ता छ ।
नयाँ राज्यसक्ता त केही पनि छैन । त्यसकारणले जबसम्म राज्यसत्ता जनताको हातमा हुँदैन तबसम्म साँच्चै लेखनमा मात्रा र गुणमा पनि प्रगतिवादी धारा मूल प्रवाहको रूपमा आएता पनि मूल प्रवाहको रूपमा स्थापित गर्न पूरानो राज्यसक्ताले दिदैन । मूल कुरा यही हो । पूरानो राज्यसक्तालाई नभत्काइकन यसलाई ठिक ढंगले अगाडि बढाउन सकिदैन ।

पूरानो र नयाँ राज्यसक्ताको कुरा उठाउनु भयो, नयाँ राज्यसक्ताले सांस्कृतिक रूपमा मुख्य शत्रु के लाई मान्छ ?
अब साँस्कृतिक फाँटमा भन्दा साहित्य, कला, संस्कृतिमा अभिजात्य वर्ग हावी छ । त्यसका विरूद्ध लड्नुपर्छ । त्यो त छदै छ । अहिले भन्नोस् आधुनिकतावाद जमेर आएको छ । त्यसलाई उत्तरआधुनिकवादले टेवा दिइराखेको छ । उत्तरआधुनिकवाद पृथक कुरा होइन, आधुनिकतावादको बिस्तार हो । त्यसकारणले अहिले मुख्य रूपमा जमेर लड्नु पर्ने आधुनिकतावादसँग नै हो ।

प्रगतिवादी लेखनको भविष्य कस्तो देख्नु भएको छ र यो बाटोमा हिड्न चाहनेहरूलाई तपाईंको के सुझाव छ ?
के छ भन्नुहुन्छ भने नयाँ सर्जकहरूले, नयाँ उदियमान प्रतिभाहरूको विशाल सङ्ख्या छ । अब यसले माक्र्सवादी, सौन्दर्य चिन्तनको आलोकमा समाजवादी यथार्थवादलाई अंगीकार गर्दै सैद्धान्तिक रूपमा पनि ध्यान दिनुपर्छ । यसको साथसाथै आफ्नो सिर्जनात्मक क्षमतालाई पनि शसक्त रूपमा विकास गर्नुपर्छ । नेपालमा राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्न गम्भीर बनेको छ । यसलाई विषयवस्तु बनाउनुपर्छ ।
तल्ला वर्ग, निमुखा वर्ग, उत्पिडित वर्ग, समुदाय यी सबैको हकहितको निम्ति त्यतिकै शसक्त बनेर जानु पर्ने हुन्छ र अहिले जनयुद्ध गरेर मुक्तिका लागी भन्नोस् नयाँ जनवादी व्यवस्था स्थापनाका लागि जुन प्रयास गरियो, त्यो बीचैमा अवरूद्ध भयो र त्यो मुक्तिको झण्डालाई भन्नुस् अझै माथि शसक्त ढंगले उठाउनको निम्ति प्रगतिवादी लेखक, कलाकारले प्रभावकारी, सशक्त भूमिका निर्भिक भएर अगाडि बढाउनु जरूरी छ । अहिलेको परिस्थितिका आधुनिकतावाद र उत्तरआधुनिकतावादहरूमा मात्र नभएर साहित्य, कलाको फाँटमा पनि क्रमशः आक्रमण गर्दै गएको दक्षिणपन्थी अवसरवादका विरूद्ध पनि जुध्नु जरूरी छ । अब नव संशोधनवाद भनेका छौ त्यो दक्षिणपन्थी संशोधनवादको एउटा रूप हो त्यससँग पनि लड्न जरूरी छ ।

चाडै कुनै कृतिको प्रकाशनको तयारीमा हुनुहुन्छ कि ?
नयाँ कृति, छुट्टै पुस्तकको रूपमा त मैले केही लेखेको छैन । सिर्जनाको क्षेत्रमा भन्नु भएको होला यहाँले । त्यस्तो समय पनि मिलेन । तर अब समय मिलेको खण्डमा एउटा प्रयत्न गर्ने हो । बरू मेरो के हो भने समालोचनाको क्षेत्रमा सौन्दर्य चिन्तनको क्षेत्रमा भने म निरन्तरता लेखिरहेकै छ । फाटफुट लेख्दैछु र लेख्छु पनि ।
www.esunakhari.wordpress.com