इन्जिनियरलाई लाग्यो चुनाव

- सत्तारुढ नेकपा र विपक्षी कांग्रेस निकट २ प्यानल मैदानमा

देशैभरका इन्जिनियरलाई चुनाव लागेको छ । नेपाल इन्जिनियर्स एसोसियसन केन्द्र र प्रदेश कमिटीहरुको चुनाव मंसिर २८ गते हुँदै छ ।

गण्डकी प्रदेशमा सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेस निकट २ प्यानल बनाएर इन्जिनियरहरु चुनावमा होमिएका छन् । दुवै प्यानल प्रचारप्रसार र मतदातासँग मत माग्न व्यस्त छन् ।

वौद्धिक क्षेत्रमा आफूहरुको पकड रहेकाले जित्ने डेमोक्रेटिकको दाबी छ भने संगठन सृदृढ भएकाले र देशकै आफूहरुको एजेन्डा रहेकाले विजयी हुने प्रोग्रेसिभको जिकिर छ ।

नेकपा निकट प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पिन)बाट सभापतिमा बाबुराम भण्डारी मैदानमा छन् । उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश ध्रुवराज भट्टराई, दीपक थापा, विष्णुप्रसाद खनाल, र सोबितबहादुर क्षेत्री उम्मेदवार छन् ।

 

पिनले सदस्यमा हरिकला थापा गुरुङ, डा. केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदीप न्यौपाने, सर्मिला गौतम र अनिसकुमार ढकाललाई उम्मेदवार बनाएको छ ।

संठगनको तर्फबाट गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा ओमप्रकाश गिरीले उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेस निकट सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्सबाट सभापतिमा राजेश भट्टराईले उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विनोप्रसाद हेयजू, सन्तोष जिसी, सन्तोषप्रसाद बराल र सरला श्रेष्ठ छन् ।

उम्मेद्वारी दर्ता गराउँदै डेमोक्रेटिक प्यानल

सदस्यमा हरिप्रसाद अधिकारी, उदयराज ढुंगाना, सुरेन्द्र पौडेल, शंकर लामिछाने, दीपेन्द्र रावल, आनन्द सापकोटा, सुजन पण्डित, शंकर कँडेल, रमेश सुवेदी, शुष्मा बराल मैदानमा छन् ।

यो प्यानलबाट गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा रमेश बास्तोला उम्मेदवार बनेका छन् ।

प्रोग्रेसिभका अध्यक्ष उम्मेदवार भण्डारी र डेमोक्रेटिकका अध्यक्ष उम्मेदवार भट्टराई दुवै इन्जिनियरीङ अध्ययन संस्थान पोखरा क्याम्पस लामाचौरमा प्राध्यापन गर्छन् ।

चुनावमा दुवै पक्ष आफ्नो जित हुने दाबी गर्छन् । डेमोक्रेटिकका अध्यक्ष उम्मेदवार भट्टराई पेशागत हकहित, तालिम, सेमिनार जस्ता क्रियाकलाप गरी संगठनलाई चुस्त र सदस्यलाई क्षमतावान् बनाउनु नै आफ्नो एजेन्डा भएको बताउँछन् ।

बौद्धिक क्षेत्रमा प्रजातान्त्रिक पक्षको पकड रहेकाले उनले जित सुनिश्चित भएको दाबी गरे । भट्टराई भन्छन्, अघिल्लो चुनावमा पनि उनीहरु (तत्कालीन एमाले र माओवादी केन्द्र) एकै ठाउँमा थिए । अहिले पार्टी एक हुँदा पनि केही फरक पर्दैन ।

पिनका गण्डकी प्रदेश सहइन्चार्ज राजु वाग्ले पहिलो भन्दा संगठन सुदृढ भएकाले निर्वाचन परीणाम आफूहरुको पक्षमा आउने जिकिर गर्छन् । उनी भन्छन्, देश नै हाम्रो एजेन्डामा चलेको छ । इन्जिनियर साथीहरुले पनि नयाँ परिस्थितिलाई बुझेर हामीलाई साथ दिने विश्वासमा छौं ।

यसअघिको निर्वाचनमा सचिवबाहेक सबै पदमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका थिए । गण्डकी प्रदेशमा १ हजार २ सय ४६ मतदाता छन् ।
गण्डकी प्रदेश समिति निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत निरन महर्जनले प्राविधिक कारणले इलेक्ट्रिक भोटिङ सम्भव नभएकाले म्यानुअल मतदानबाटै नेतृत्व चुनिने बताए । गण्डकी प्रदेशभरिका सबै मतदाताले पोखराबाट मात्रै मतदान गर्न पाउने छन् ।

मंसिर २८ गते हुने एसोसियसनको चुनावका लागि मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक हुनेछ ।