चापाकोट प्रकरणः लोकतन्त्रको लाज छोप्न फेरि मतदान

स्याङ्जालाई होच्याउने खालका केही किस्सा प्रचलित थिए । हालै एउटा थपियोः पितृले पनि भोट हाले । निर्वाचन लोकतन्त्रको आत्मा हो । स्वच्छ निर्वाचनलाई बिथोल्ने काम कदापि लोकतान्त्रिक चरित्र हुन सक्दैन । यस्ता गतिविधिले नेपाली जनताले ७५ वर्षदेखि संघर्ष गरेर ल्याएको लोकतान्त्रिक संरचनाको रक्षा हुन सक्दैन । मृत व्यक्तिको भोटर कार्डसमेत प्रयोग गरी जुन किसिमले जीवित लोकतन्त्रमाथि काङ्ग्रेस नेतृत्वको गठबन्धनले चिरहरण गरेको छ । स्याङ्जाको चापाकोटमा भएको बुथ कब्जाले लोकतन्त्रकै धज्जी उडाएको छ । यसले अहिलेको युगमा पनि कसरी शक्तिको दुरुपयोग गरी जनताको नाममा शासन गर्न तानाशाहीहरु उद्यत हुन्छन् भन्ने देखाएको छ ।

यस्ता गतिविधिले पक्कै पनि आवाधिक निर्वाचनको आत्मामा आघात पुर्याउने छ । तसर्थ नेपाली जनताले प्राप्त गरेको लोकतन्त्रमा धावा बोल्ने गठबन्धनको क्रियाकलापप्रति निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त मुखदर्शक बन्नु हुदैन । निर्वाचन आयोग एक संवैधानिक अङ्ग हो यस्लार्इ राजनितीकरण गरिएमा राज्यका सम्पूर्ण संस्थाहरु कमजोर हुने र प्राप्त उपलब्धिहरुलाई रक्षा गर्न समेत गार्‍हो हुन्छ ।

सबै लोकतन्त्रप्रेमीले निर्वाचनमा हुने यस्ता अवाञ्छित क्रियाकलापविरुद्ध बोल्नैपर्छ । यस्तो कुकर्म सच्याउने एकमात्र उपाय हो, बुथ कब्जा भएका ठाउँमा फेरि मतदान ।

आयोगले पुन निर्वाचन गरी यस्ता अराजनीतिक गतिविधि हटाएर लोकतन्त्रको रक्षार्थ स्वच्छ ,भयरहित, निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु अपरिहार्य छ । निर्वाचन स्वच्छ, भयरहित, निष्पक्ष र स्वतन्त्र नभएसम्म व्यवस्थापिकामा प्रतिनिधित्व गर्ने सांसदले राम्रो कार्य सम्पादन गर्न सक्दैनन् ।

यसरी अवाञ्छित तवरले चुनिएर आएकाले सरकारमा प्रतिनिधित्व गर्दा लोकतन्त्र नै संकटमा पर्न सक्छ । निर्वाचन आयोग ऐन २०७३ को दफा १० मा निर्वाचन रद्द गर्न सक्ने अधिकार निर्वाचन आयोगलाई प्रदान गरिएको छ । यो अधिकारको प्रयोग गरी निष्पक्ष र स्वतन्त्र निर्वाचन नभएका ठाउँहरुमा पुन निर्वाचन गर्ने कार्य व्यवस्था रहेकाले यथाशीघ्र कार्यान्वयन गरि गण्डकी प्रदेशको स्याङ्जा जिल्ला क्षेत्र न २ को चापाकोट नगरपालिकाका ३, ४, ५ न वडामा पुन निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराई लोकतन्त्रको साख जोगाउन निर्वाचन आयोग कुनै पनि हालतमा पछाडि पर्नु हुँदैन ।

निर्वाचन लोकतन्त्रको मुहान हो । मुहान सफा नभए नदी सफा हुन सक्दैन । निर्वाचनमै धाँधली, बुथकब्जा र शक्तिको दुरुपयोग भए यसले कसरी जनअपेक्षा अनुरुपको नतिजा दिन सक्छ । त्यसैले सबै लोकतन्त्रप्रेमीले निर्वाचनमा हुने यस्ता अवाञ्छित क्रियाकलापविरुद्ध बोल्नैपर्छ । यस्तो कुकर्म सच्याउने एकमात्र उपाय हो, बुथ कब्जा भएका ठाउँमा फेरि मतदान ।