‘अनुहारभित्रको अनुहार’को सौन्दर्य

आमुख :
अहिलेको समयमा असमेली नेपाली साहित्य जगतमा आफ्नो पहिलो काव्यकृति ‘अनुहारभित्रको अनुहार’ लिएर देखापरेकी छन् जामुगुडी कुसुमतोला निवासी युवा कवि पूजा आचार्य। प्रखर मानवतावादी स्वर, नारीसमस्याप्रति गम्भीर चिन्तन, नारीमुक्तिको तीब्र चाहना तथा समाज परिवर्तनको कामना लछ्याप्रै पाइने ‘अनुहारभित्रको अनुहार’ सङ्कलका कविताहरू पढेर मेरा मनमा उब्जिएका प्रतिक्रियाहरू सार्वजनिक गर्न चाहन्छु । उनका कविताहरूमद्धे मुख्यरूपमा नारीसमस्याकेन्द्रीत र केही मानवतावादी कविताभित्र नै मेरो चर्चा केन्द्रीत रहने छ।

पूजाका कविताका विशेषता :
पूजाको यस कृतिका कविताहरूमा अनुभवको रङ छरिएको पाइन्छ। आजको समाजको वास्तविक अनुहारको चित्र उनका कवितामा टलक्क टल्किन्छ। कतै कल्पनाको प्वाँख नलागाई, निजी समस्या, कुण्ठा र पीडाको गनगन पाठकका थाप्लामा नबिसाई, आकाश, जून, तारासम्म नपुगी समाजकै समस्याहरूलाई कलात्मक तरिकाले उतारेर राम्रा कविता लेख्न सकिन्छ भन्ने प्रमाण पूजाका कविताले दिन्छ्न्। साथै उनी एक समाजसचेत कवि हुन् भन्ने प्रमाण पनि यस कृतिका कविताहरू हुन्।

पूजाको गहन अन्तर्दृष्टि छ, कोमल हृदय छ, चोखो मानवप्रेम छ, संसारप्रति शुद्ध धारणा छ। यी कुराहरू उनका कविताहरूले भन्छन्। संसारका जटिल समस्याहरूलाई उनले सरल तरिकाले उतारेकी छन्। उनी शब्दको चतुर्‍याइँ देखाउने स्वच्छन्दतावादी कवि होइनन्, विषयको गुरुत्व र गहिराइ छाम्ने यथार्थवादी र परिवर्तनकामी कवि हुन्। उनी कविभन्दा धेर मानवप्रेमी हुन्। उनका कवितामा अझै पनि हीनदृष्टिले हेरिने समाजका उपेक्षित व्यक्तिहरूको निम्ति समानताको गुहार छ, देश सेवामा निरन्तर खट्ने सेनाकी पत्नी, परिवारको त्याग एवम् छट्पटी तथा नारीहरूको भित्री पीडाहरू भक्कानिएका छन्।

पूजा भन्छिन् –
“मानिसमा मनवता हुनुपर्छ
मानवता मानिसको पहिचान
बाहिरी पीडा त सबैले देख्छन्
तर अनुहारभित्र लुकेको पीडा
देख्ने पो असल हुन्छन्।”

हो! जसले मानिसको, समाजको, प्रकृतिको भित्री पीडा बुझेर कविता लेख्छन् ती कविता अनुभवी हुन्छन् र पाठकको मनमस्तिष्कलाई छुन्छन्। यो विशेष गुण कविमा जन्मिँदै आएको हुन्छ र त्यही गुणको अधिराकी भएको हुनाले अरूले नदेखेको पनि कविले देख्छ, अरूले नसोचेको पनि कविले सोच्न सक्छ, त्यसैले त भनिन्छ __ “A poet is born not made.”

‘अनुहारभित्रको अनुहार’ कृति र पूजा :
इन्द्रेणी प्रकाशन, असमको पहलमा प्रकाशित तथा पूर्वायण प्रकाशनद्वारा मुद्रित भएको यो कृति गत जुलाई महिनको १० तारिखको दिन जामुगुडी बापुजी भवनमा विमोचन भएको हो। यस कृतिमा मोठ ४४ वटा कविता समावेश भएका छन् । यस कविता कृतिको मोल १८० रुपियाँ राखिएको छ भने कृतिको आइ.एस.बि.एन नम्बर ९७८-९३-९५१०३-०३-९ रहेको छ। असमका प्रख्यात आख्यानकार अभिजित बराद्वारा सजिएको कोवरपेजले कृतिलाई अति सुन्दर तुल्याएको छ।

उनका कविता बहुस्तरीय हुनका साथै दर्शनले भरिएका छन् , समाजिक विसङ्गति, शोषण, अत्याचारको विरोधमा शङ्खनाद गरेका कविताहरूमा जातीय चेत तथा पर्या चेतका बुँदा पनि भरपूर मात्रामा छरिएको पाइन्छ।

समाज सेवामा अहोरात्र खटिने पूजा आचार्य ‘वारिवर्स’ (एन.जि.ओ ) की सक्रिय सदस्या हुन्। सधैँ समाजको हित चिताउने पूजाको सामाजिक योगदान अतुलनीय छ। त्यही अमूल्य योगदानले गर्दा उनले ‘वरिवर्स ब्लड डनार’ अवार्ड पनि प्राप्त गरिसकेकी छन् ।

कृतिभित्र :
विगत लकडाउनको समयमा हामीमाँझ चेतनापूर्ण, ओजस्वी कविताहरू लिएर उदाएकी पूजा आचार्य आज एउटा परिचित नाउँ हो। उनी कविता बह्मपुत्रको तटमा बसेर त्यहाँको हावा-पानी, मलिलो प्राकृतिक परिवेशमा कविता जन्माएकी हुनाले यी कविताहरू अर्ग्यानिक छन् भनेर दार्जीलिङ, पश्चिम बङ्गालका प्रख्यात कवि , साहित्यकार राजा पुनियानीले आफ्नो सशक्त भूमिकामा बताएका छन्।

हो, उनका कविता बहुस्तरीय हुनका साथै दर्शनले भरिएका छन् , समाजिक विसङ्गति, शोषण, अत्याचारको विरोधमा शङ्खनाद गरेका कविताहरूमा जातीय चेत तथा पर्या चेतका बुँदा पनि भरपूर मात्रामा छरिएको पाइन्छ। यस कृतिमा उनी नारी समस्याप्रति अत्यन्त संवेदनशील देखिन्छिन् । नारीको विधवा जीवन, निसन्तान हुनुको समास्या, पराइ घर जानुपर्ने पीडा, पुरुषसत्ताले सर्जेका नारी विरोधी परम्परा, नारीको यौवन, चाहना, अस्मिता लुटिने त्रास, पत्नीरूप, मातृरूप र तेस्रोलिङ्गीको समस्यालाई आफ्ना कवितामा उतारेकी छन् पूजाले। स्त्री चेतनाको राँको बालेर निस्केकी कवि पूजाका कवितामा नारी चेतनाको स्वर यसरी गुञ्जित भएको छ –
“ऊ जान्दछे
ऊ दोषी होइन
समाज ठान्दैन
समाज जान्दैन
समाजले मान्दैन पुरुषको
पुरुषत्वहीनताको कुनै रेपोर्ट” (धनमाया)

जतिसुकै शिक्षाको ढोल ठोके पनि आजसम्म हाम्रो समाजबाट यस्ता झिनामसिना सोचहरूको निर्मूल भएकै छैन। कुनै दम्पती निसन्तान भएभने आज पनि समाजले सोझै नारीलाई नै प्रहार गर्छ – “फलानी बाँझी हो !त्यस्तो कोख फुटेन।” समाज विज्ञानलाई जानेर पनि मान्न खोज्दैन्, बुझ्न् खोज्दैन् अनि एकोहोरो धनमाया जस्ता कैयौं नारीलाई तिखा वाणले घोची रहन्छ । नारीको क्षेत्रमा आज पनि समाज आँखा भएर पनि अन्धो छ, बुद्धि भएर पनि विवेकहीन छ । यस्तै कुराहरू कवि निलीमाले पनि आफ्नो काव्य कृति ‘परिवर्तन र अन्य कविता’ मा “दोष त सधैँ नारीकै हुन्छ” शीर्षक कविता बालिका नामक युवतीको कोख नफुट्नुको व्यथा पोखेकी थिइन्। पूजाले धनमायाको। धनमायालाई पूजाले यहाँ साहसी नारीको रूपमा उभ्याएर उसको आवाजमा यसरी बोलेकी छन् –
“हार मान्दिन ऊ
नयाँ जोसमा निस्कन्छे
बाटाका धनमाया बटुल्दै
अनि चिच्याई चिच्याई भन्छे
खबरदार—-!
अर्की धनमाया जन्मिन नदे हे
बेसर्मी समाज।” (धनमाया)

नारीको पीडा छाम्दै उनी अर्को एउटा कवितामा यसरी भक्कानिएकी छन् –
“अग्निलाई साक्षी राखेर बुनेका सपनाहरू
आधारातमा बिथोलिएपछी
ऊ आफ्नो वास्तविकता छामी हेर्छे
आँखा खोलेर हेर्छे।” (विधवाको आत्मकथा)

आफ्ना स्वामीको वियोग भइसक्दा एउटी नारीले के थोक त्याग्नु पर्दैन? रूप, रङ, श्रृङ्गार आदि सबै त्याग्न बाध्य हुन्छे एउटी नारी ! अस्खिर किन? किन भाग्नुपर्ने जति सबै नारीले मात्रै परेको ? के हाम्रो समाज परिवर्तन हुन्छ र? यिनै प्रश्नको उत्तर खोज्दैछ “विधवाको आत्मकथा” ले।

हाम्रो समाज पुरुषप्रधान समाज हो, यहाँ छोरीलाई बिहे गरेर पराइ घर पठाइन्छ। छोराले बिहे गरेर बुहारी भित्राउँछ भने छोरी आफ्नो पितृगृह, घर-संसार सबै त्यागेर आउँछे र अर्काको घरलाई आफ्नो ठान्दछे। छोरीको त्यो भित्री पीडा बुझेर उनी यसरी बोलीकी छन् —–
” हे पुरुष
तिमी पनि दानको सामग्री भएर हेर न
एकपटक” (कन्यादान)

आह!!! कति मार्मिक छ यो पङ्ति, कति व्यथा लुकेको छ यसमा! छोरीलाई दान गरिन्छ यहाँ। वाकदान, गाईदान अनि कन्यादान गरेर एउटा घरबाट अर्को घर पन्साइन्छ। यो सन्सारको दस्तुर भए तापनि छोरीलाई दान गरिएको हैन। जो दानको पात्र भएको हुन्छ उसले मात्रै बुझ्छ यसको मर्म पीडा।

पूजाको ‘सैनिक पत्नी’ कविताले हामीलाई हिन्दी सिनेमा ‘बोर्डर’ को याद दिलाउँछ। त्यस सिनेमामा हाम्रो सुरक्षा कवच भएर दिनरात सीमामा तत्पर सैनिकहरूको, उनीहरूको घरपरिवारको त्याग र बलिदानलाई हृदयङ्गम गर्न सकिन्थ्यो। बोर्डर सिनेमाले हाम्रो हृदयमा गहिरो छाप छोड्छ। ठिक त्यसैगरी पूजाको यो कविताले पनि हाम्रो मनमुटु छोएर जान्छ। भावुक बनाउँछ। एउटी सैनिककी पत्नी हुँदा जति गौरव अनुभव हुन्छ उत्तिकै पीडा पनि हुन्छ । तर त्यो पीडा सैनिक पत्नीहरू आफ्नो अनुहारमा उतार्दैनन् ।
“हो, म पनि निडर सैनिक पत्नी हुँ
तर पनि
उनी हतियार बोकी देशको सीमामा
पहरादारी गर्दा
उन्मुक्त आकाशमुन्तिर
घाम पानी खपेर
देशको सेवा गर्दा
कताकता झसङ्ग हुन्छु
देश रक्षाको सट्टा
उनको रक्षाको शङ्का
बित्थामा बोक्ने गर्छु!
“

यो कविताकी रचयिता साहसी सैनिक पत्नीलाई म नमन गर्छ चाहन्छु। साँच्चै नि जयमती, मुलागाभरु वैजयन्ती देवी, कनकलता आदि अनेकौँ वीराङ्गना नारीहरूको प्रेरणा पाएरै असमका नारीहरू यति साहसी, धैर्यशील बन्न सकेका हुन।

पूजाको यो कविताले पनि हाम्रो मनमुटु छोएर जान्छ। भावुक बनाउँछ। एउटी सैनिककी पत्नी हुँदा जति गौरव अनुभव हुन्छ उत्तिकै पीडा पनि हुन्छ ।

नारीप्रति कुदृष्टि राख्नेहरूको खाँचो छैन यहाँ। त्यसैले त शोषण, अत्याचार, बलात्कारको शिकार भइरहेका छन् नारी। समाजका यस्ता तथाकथित पुरुषमाथि जुन पुरुष दिउँसो चोखो राति भोको बन्छन्, दिउँसो रक्षक बन्नेहरू राति भक्षक बन्छन्, जसले नारीलाई भोगको सामग्री बन्न विवश गरायो, उपभोग गर्‍यो अनि गनिका नाउँ दियो यस्ता पुरुषमाथि उनले विद्रोहवाण हानेकी छन्। यी पुरुषपहरूप्रति आक्रोश व्यक्त गर्दै उनी भन्छिन् –
‘नाउँ छैन उसको
एउटा उपनाम दिएको छ समाजले
‘गणिका’ (मुखौटो नलगाएको सौन्दर्य)

पूजाले आफ्ना कवितामा केवलमात्रै नारीकै दुखसो पोखेकी छैनन्। उनले त समाजमा अझैसम्म हीन भावले हेरिने तेस्रो लिङ्गीहरूप्रति पनि आफ्नो उदार दृष्टि राखेकी छन्। उल्लेख्य के छ भने तेस्रोलिङ्गीमाथि असमबाट लेखिएको पूजाको कविता निकै चर्चित छ।
“फुस्रो समाजले दस रुपियाँमा
किन्न चाहन्छ उसको स्वाभिमान
आफ्नो कुशल मङ्गलको निम्ति
ऊ एउटी किन्नर हो भनेर”

किन्नरको समाजमा आज पनि स्थान कस्तो छ हामी सबैलाई थाहा छ। हीन मानसिकता राख्छौँ उनीहरूप्रति हामी। उनीहरूप्रति हाम्रो अझसम्म उदार मनोभावना आएको छैन। किन्नरहरूको भित्री पीडा बोलेको यो कविता अति नै हृदयस्पर्सी बनेको छ।

उपसंहार :
साँच्चै नि पूजाका कविताले समाजको भित्र पाटो देखाएको छ। अति सूक्ष्म दृष्टि र गहन अध्ययनका बाली हुन् उनका कविता। जातीय चेत, पर्या चेत, शोषण ,अत्याचार, त्याग वीरता, प्रेमप्रणय आदि सबै विषयका कविताहरूलाई समावेश गरिएको छ यस कृतिमा। तर पनि उनी मुख्यत मानवतावादी कवि हुन्। उनको नारीचेत पनि मानवतावादकै पाटो हो।

यो पूजाको पहिलो कृति भए पनि कविताको बहुस्तरीयताले तथा शिल्प र बनोटले कृति अत्यन्तै राम्रो भएको छ

पूजाका कविताका केही खुटहरू पनि छन्। सबै कविताहरूलाई यस कृतिमा समावेश नगरिएको भए अझ बेस हुने थियो। किनभने जुन स्तरीयता सैनिक पत्नी, परिचय, कन्यादान, म बाल श्रमिक बोल्दै छु, आर्तनाद, युद्ध आदिमा पाइन्छ त्यो स्तरीयता एकदुईवटा कवितामा पाइएको छैन। केही कविता भाषण जस्ता छन्, काव्यिकता छैन। तर कविताहरू मननशील छन् । बिम्ब-प्रतीक-शिल्प आदिको प्रयोग पनि मनग्गे भएको छ। भाषा सरल र सुबोध भएको हुनाले कविताहरू क्लिष्ट छैनन् । पाठकलाई बुझ्न् एकदमै हम्मे पर्दैन। यो पूजाको पहिलो कृति भए पनि कविताको बहुस्तरीयताले तथा शिल्प र बनोटले कृति अत्यन्तै राम्रो भएको छ। र यस्तो गहकिलो कृति हामीसमक्ष ल्याएकोमा पूजालाई अनेकौँ बधाइ दिन चाहेँ। साथै साहित्यको क्षेत्रमा उनको निरन्तरता रहोस् भन्ने कामना गरेँ।