समीक्षाः ‘कैरन’को कायाकैरन

धुवसत्य परियार, २०७४ वि.सं., कैरन (कथा सङ्ग्रह), काठमाडौँः साङ्ग्रिला बुक्स प्रा.लि., पृष्टः १९५।११, मूल्यः रु. २७५। आइएसबिएन ९७८९९३७७०८०४३
किन कैरन ?
अमेरिका आउने बेला भएको थियो । कथा र उपन्यासका केही पुस्तक किन्न काठमाडौँका पसलतिर हिँडेको थिएँ । दोकाने कति बाठो भने, मैले किनेको पुस्तकको प्रकृतिको अनुहार हेरेर भनेको थियोः
‘सर यो पनि लानुस् । निकै राम्रो छ

ओर्काइ फर्काइ हेरेँ । किनकि प्लास्टिकले कभरिङ गरिएको थिएन । कभरिङ गरिएको पुस्तक सितिमिति म किन्दिनँ । कसैको नभाको जस्तो भन्न मन लाग्छ । कथा सङ्ग्रह रहेछ ‘कैरन’ । यो ‘कैरन’ नाम मलाई खुव मन पर्यो । किनेँ । झोलामा हालेँ । र घर पुगेर अमेरिका जाने सुटकेसको कुन्तरमा छिराइ दिएँ । अल्छि लागेको बेला कुनै दिन पढूँला भन्ने थियो । बिचरो ‘कैरन’ मेरै सुटकेसको कुनै कुनामा थन्किएको थियो होला । तर यसैबेला मदन पुरस्कार गुठीले ८ वटा पुस्तक छनौट गर्दा ‘कैरन’ पनि परेछ । हतार हतार सुटकेस खोलेँ । उधिनेँ । झिकेँ । र यसरी ‘कैरन’ मेरा हातमा आयो ।

झिदिनोस्, मेरो कुनै आग्रह वा पूर्वाग्रह छ्रैन । केबल पाठकीय नजर मात्र हो । पाठक भइरहनुको अधिकार मात्र हो ।

मलाई कहिलेकाहिँ लाग्छ, म धेरै बेवकुफ छु । मैले हाकाहाकी भन्नु पर्दा मैले कहिले पनि ध्रुवसत्य परियार भन्ने मान्छे चिनिनँ । चिन्नु त परै जाओस्, नाम पनि सुनेको थिइनँ । पढेको पनि थिइनँ । बिल्कुल अनभिज्ञ । बिलकुल अजनबी । पेशाले पत्रकार अरे र आफूले त्यति पत्रकार नचिनेको हुनाले भने स्वाभाविक लाग्यो । मान्छे चिन्ने सबालमा म अन्तरमुखी भएकाले यो घटना मेरा लागि प्रतिनिधि मात्र हो । यस्ता घटनारू मेरा जीवनमा आमरूपमा आइ रहन्छन् । होस् । आओस् । यसो भएकाले म ढुक्क छु कि यो ‘कैरन’को कायाकैरन ल्याउँदा मलाई कत्ति अप्ठ्यारो हुने छैन । चिनेको छैन । जानेको छैन । रिसाए पनि के ? खुसाए पनि के ? म जस्तो देख्छु त्यस्तै भन्छु । मेरो निजी बोध मात्र त हो । मेरो निजी रहर मात्र त हो । बुझिदिनोस्, मेरो कुनै आग्रह वा पूर्वाग्रह छ्रैन । केबल पाठकीय नजर मात्र हो । पाठक भइरहनुको अधिकार मात्र हो ।

कैरनभित्र केके छन् ?
कैरनभित्र १२ थान लामा कथाहरू समेटिएका छन् । ब्राह्मी, जालिनी, रानीतरुल, मायाताल, शाल्मली, सहिदकी छोरी, गुराँस फुल्ने लेक, नान्दी, धुनी, सुगा, स्वाहा र बिजुली । कुन कथामा के के कुरा छन् ? भन्ने जिज्ञाशा उठ्न सक्छ । सबै कथामा एउटै स्वाद छ । कुनैमा नुन चखिलो छ भने कुनैमा खोर्सानी । कुनैमा अमिलो । यस्तै यस्तै । र मुख्यरूपमा एउटै भावभूमिभित्र अटाएको छ कथ्य प्रयोजन । एउटै शैलीशील्प बाकेको छ कथाले ।
पात्रविधानः
प्राय सबै पात्रहरू किम्वदन्तीय छन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक किम्वदन्तीबाट टपक्क टिपिएको छ । दन्तीय राजा, रानी, राजकुमारी, ऐतिहासिक पुरुष तर प्रस्तुति तिलस्मीको । पात्रहरू तिलस्मी बोल्छन् । गर्छन् । र तिलस्मी तरिकाले नै जित्छन् । त्यसैले पात्रविधान तिलस्मीय छ । सङ्ग्रहको कथामा बिजुली अब्बल छ । कथानकमा बिजुली आंशिक तिलस्मी छ । बिजुली कथा काथाकारको अब्बल सिपको प्रदर्शन हो ।

शब्दशौन्दर्य
कथा प्रस्तुति सरल, सरस र सललल बगेको छ । यति सुन्दर लाग्छ कि कुनै नदी कलकल बगि रहेछ ‘कैरन’मा । पारिभाषिक शब्दको झोँज छैन । आयातीत शब्द पनि छैनन् । हरेक वाक्यहरू, पदहरू, विन्यासहरू मीठोमीठो खुवा खुवाउँदै अगाडि बढ्छन् । म यसलाई कथाकारको खुबी भन्न रुचाउँछु । शब्दशील्प, वाक्यशिल्प बेजोड छ । याने मिठोमा मिठो छ । सरलमा सुन्दर हुनु यो सङ्ग्रहको विशेषता हो । सरलमा साहित्यिक हुनु महकता हो ।

सबै कथामा एउटै स्वाद छ । कुनैमा नुन चखिलो छ भने कुनैमा खोर्सानी । कुनैमा अमिलो । यस्तै यस्तै ।

कैरनभित्रका कथानक स्वरूप
कैरन पढ्दा मलाई आफूले कक्षा १० मा पढेको दन्त्यकथाको याद आयो । शिशिर वसन्तको कथाजस्तो । तिलस्मी । एकादेशमा एउटा राजा थिए टाइपको । स्वस्थानीको कथा जस्तो । योगमायाको कथाजस्तो । कथानक चयनमा कथाकार स्वस्थानी, योगमाया, इतिहास र संस्कृतिबाट निर्देशित देखिन्छन् । कथा पढ्दै जाँदा लाग्छ धुप बत्ती लिएर बसूँ, चमत्कारिक पात्र देखेर । अब राजकुमारको हातमा तरवार लिएर अवतरण हुनेवाला छ । अब नवराज चमत्कार गरेर चन्द्रावतीलाई लिन आउँछन् । मोहित बनाउँछ कथ्यविधानको दन्त्य लालित्यले । मान्छेको मन टप्प टिप्छन् वाक्य संयोजनले ।

कथ्य प्रयोजन
कथाकार यहाँनेर चतुर देखिन्छन् कि सुनाउँछन् दन्त्यकथा र देखाउँछन् आधुनिक विसंगति । ‘कैरन’को मुख्य विशेषता नै दन्त्यकथाजस्तो लाग्ने कथानकबाट वर्तमान बोल्नु हो । वर्तमानको विसंगति खोल्नु हो र समाज परिवर्तको सपना देख्नु हो । वर्तमान नेपाली समाजको सभ्यताको विकासक्रम जहाँ मान्छे मान्छेबाट अछुत छ । अछुतबाट अर्को मान्छे फेरि अछुत छ । जहाँ सभ्यता माने हुने खानेको चलनबाट निर्देशित छ । यो कुरा नै ‘कैरन’को मुख्य कायाकैरन हो । कथाकारले धन्यवाद ज्ञापनमा सुललीत पाराले लेखेका यी वाक्यहरू जस्ताको तस्तै हेरौँ । कथानक ‘थिम’ वा कथा प्रयोजन प्रष्ट देखिन्छः

‘मेरो दृढ विचारले भन्छ, यो संसारमा भोगिने, देखिने, छोइने, बोध हुने मानव जीवन र प्रकृति ने सबैभन्दा महत्वपूर्ण छ । र प्रकृतिले मानिसलाई समान व्यवहार गर्छ । अनि, मानिसको धर्म र कर्म केवल सहअस्तित्व, सद्भाव र समन्यायका लागि हो । यी कथामा सभ्यताको निर्मम इतिहासले बिटुल्याएको मेरो रगत छँदैछ । अनि, एउटा मेरो कल्पनाको जगत पनि छ, जहाँ हामी सबै मान्छे भएर एकअर्कालाई छुन, रुन, हाँस्न र बाँच्न सक्छौँ ।’

कथाकारका उपरोक्त भनाइबाट पनि कथाको समूल कुरो छुवाछुतीय विभेदको विरुद्धमा छ । कतै कतै प्रजातन्त्र पनि बोल्छ । विरोध र प्रतिरोधका स्वरहरू पनि छन् । समताको समाज खोजेको छ कथाले । कथ्य प्रयोजनले ।

स्वैरकल्पना
कथ्य प्रस्तुतिका क्रममा कथाकार स्वैरकल्पनाभित्र डुबुल्की मार्छन् । जस्तो कि रुख बोल्छ कथामा । चरो बोल्छ । बोल्छ मात्र होइन एक्सनमा जान्छ । स्वैरकल्पनाभित्र साहित्यिकता छ । जसरी स्वस्थानीका कथामा ढुङ्गा माटो बोल्छ, जसरी इतिहास भनिने कथामा तिलस्मीय स्वैरकल्पना देखिन्छ, धार्मिक भनिने ग्रन्थमा अद्भुत स्वैरकल्पना भेटिन्छ, त्यसरी नै कथाकारले यो कथा सङ्ग्रहभित्र स्वैरकल्पनाको मीठो प्रयोग देखिन्छ । यो स्वैरकल्पना फिलिङ्मा मात्र आएको होइन साँच्चि कथाका घटनामा प्रधान भूमिकामा पुग्छन् ।

कथाभित्रका केही औँसी पक्ष
१. कथा पढ्दा एउटा मजा मलाई के लाग्यो भने, मेरा पुस्तक प्रकाशन गर्ने बेलामा हिज्जे विशेषज्ञद्वारा नै सम्पादन गराइएकै हो । शुद्ध पारेकै हो । मैले पनि प्रज्ञाकै शब्दकोश झिकेर हेरेकै हो । तर कम्प्युटर वा अपरेटर वा संयोग हो, पुरा शुद्ध हुन पाएन । आख्यानमा यस्तो हुँदा दाँतमा ढुङ्गा लाग्दो रहेछ । कैरन पढ्दा पनि बग्रेल्ती ढुङ्गाले मेरा दाँतमा हाने । तथापि यी अशुद्धीहरू आम छैनन् । कतै कतै छन् र चामलका बियाँजस्ता जिब्रोमा चस्स छोच्छन् । यस्तो पुस्तकमा अशुद्धि नहुनु पथ्र्यो । भइहाल्यो । कतिपय अशुद्धि त नेपाली गुरुका हिज्जे लडाइँले पनि भएका छन् ।
२. कथानक स्वाभाविक छैनन् बरु दन्त्यकथाजस्ता छन् । यस्ता खाले घटना समाजमा घट्दैनन् । हुन त कथा हो मैले पनि कथा नै बुझेको छु । यथार्थ बुझेको छुइनँ ।
३. सामाजिक विसंगति उठाइएको छ, कारण खुलाइएको छैन । समस्या देखाइएको छ, समाधान छैन । एउटा कथा ’विजुली’ को कथावस्तु भने आधुनिक पनि छ । समाजको आधुनिक समस्या पनि छ । र समस्या समाधानमा अग्रसरता देखाइएको छ । ‘बिजुली’ भित्र दुइटा कथाको सामल छ । असाध्य लामो छ । राजा महेन्द्र र बिपीको प्रसङ्गमा अर्को अलग कथा बन्न सक्थ्यो । बाँकि कथाहरू समस्याको जालोभित्र जेलिन्छन् र समाधानको चेस्टाबिनै पटाक्षेप हुन्छन् अर्को कथाको लागि ।
४. प्रयोजन समाज सुधारात्मक छ तर पात्रका क्रियाकलापहरू यथास्थितिवादी छन् । कथा सङ्ग्रह ‘कैरन’को मूल ध्येय नै समाजमा रहेका खासगरी सामाजिक कुरीति, विभेद, छुवाछुत, राजनीतिक अकिधाराकांक्षी छन् । तर पात्र बोल्छन् र यथास्थितिभित्र हराउँछन् । कथ्यमा विद्रोह पनि छ । तर सारमा उपलब्धिविहीन छन् ।

कथाकार यहाँनेर चतुर देखिन्छन् कि सुनाउँछन् दन्त्यकथा र देखाउँछन् आधुनिक विसंगति । ‘कैरन’को मुख्य विशेषता नै दन्त्यकथाजस्तो लाग्ने कथानकबाट वर्तमान बोल्नु हो ।

५. कथाहरू प्रगतिशील पनि देखिन्छन् तर प्रगतिशीलको मर्म बोक्दैनन् । प्रगतिशील हुनुको साहित्यिक मर्म भनेको पात्रले तत्क्षण नै विद्रोह बोल्नु हो । बोल्नु मात्र होइन एक्सनमा जानू हो । तर ‘कैरन’का केही पात्रहरू प्रगतिशील देखिन्छन् तर तत्क्षण नै बिलाउँछन् ।
६. यथार्थ खोजिएको छ, तर तिलस्मीय प्रस्तुति छ । तिलस्मीबाट यथार्थ सम्भव छैन । तिलस्मी कल्पना हुन सक्छ ।
७. एउटा बहस उब्जाएको छ, कि दन्त्यकथा आधुनिक कथा हुन सक्छ वा सक्दैन ।
८. राजाका प्रसङ्गहरू जताततै छन् । राजासँग अधिकार मागिएको छ । विवेकी राजाको माग गरिएको छ । विकास मागिएको छ । तर समय अलि अघि बडिसकेको छ ।

उपसंहार
कथाहरू जोडभित्र बेजोड छन् । रम्यता छ । आकर्षण छ । समातेपछि छोड्न मन लाग्दैन । शैली नविन छ । प्रस्तुतिमा अलगपन छ । पात्रविधान कथानकलाई सुहाएका छन् । पात्रहरू आफ्नो भूमिकामा दह्रा छन् । कथाको तिलस्मीय गुण झिकी दिने हो भने कथ्यदम मत्थर हुन्थ्यो क्यारे । कथ्यको स्वाद पनि सकिन्थ्यो क्यारे । यसो भएकाले आम पाठकले मन पराउने खुराक पस्केका छन् कथाकारले । मदन पुरस्कारको प्रारम्भिक छनौटमा परेको कथा सङ्ग्रह हो यो । त्यसैले यस्तो दर्बिलो ‘कैरन’ भित्रको मेरो कायाकैरन ‘कौन पुछे खेसडीका दाल’ हुन सक्छ । होस् । म त कम्तिमा रमाएको छु नि । अन्त्यमा कथाकारको कलम झन् तिखारियोस् । शुभकामना । अरू के भनूँ ??
जय कथा ।
मे १५, २०२१