यसपालि सामाजिक सञ्जालमा आमाको तस्बिरमात्र राखेर हुँदैन भन्ने मत झिनो सुनिनेछ शायद । बन्दाबन्दीले घरमै सिमित भएका बेला धेरैले आमासँग भौतिक रुपमा भेट्न पाउने छैनन् । कोरोनाकै कारण विदेशबाट फर्किएका र सहर बजारबाट गाउँ गएकाहरु भने आमासँगै हुने छन् । यो कहरका बीचमा पनि आमाको सम्झना र सम्मान पनि पक्कै हुनेछ । किनकी कोरोना जस्तो प्रकृतिका नभए पनि आमाले अनकौं कहर, कष्ट, दुःख सहेर सन्तानलाई हुर्काउँछिन् ।
यसपालि हिन्दु संस्कार अनुसार धेरैले आमालाई भेटेरै मुख हेर्ने, मीठो खुवाउने, दुःखसुख साट्ने अवसर नपाउने अवस्था आएको छ । विवाह भएर टाढा रहेका छोरीहरु र कामका लागि अन्यत्र गएका र छुट्टिएर टाढा रहेका छोराहरुले पनि आमालाई तस्बिरमै सम्झनुपर्ने भएको छ । भौतिक दुरी कायम राखेर बस्नुपर्ने, बाहिर निस्कन नपाउने अवस्थामा आमाहरुले पनि आफ्ना सन्तानलाई यसपालि सम्झदै आशीर्वाद दिनुपर्ने भएको छ । धेरैले प्रविधिको उपयोग पनि गर्ने छन् । सबैजसोका हात हातमा मोवाइल भएकाले फोनबाटै आमाको सम्झना गरिने भएको छ । इन्टरनेट चलाउन जान्नेहरुले भिडियो संवाद पनि गर्न सक्छन् । लकडाउनको पालना गर्दै प्रविधिको उपयोग गरेर आमाको मुख हेर्नु अर्थात् सम्झनु, सम्मान गर्नु नै अहिलेका लागि सबैभन्दा उत्तम तरिका हो ।
यो सृष्टिमा कतै भगवान् छ भने त्यो सबैभन्दा ठूलो भगवान् आमा नै हुन् । मानिस स्वभावैले स्वार्थी हुन्छन् । मान्छे आफ्नो सुख, प्राप्ति खोज्छ ।
यो संसारमा भगवानका अनेक स्थल छन्, मूर्ति छन्, धामहरु छन् । भौतिक रुपमा अनुभव नभएका भगवानको हामी ठूलो श्रद्धा गर्छाैं । तर अचेल बाआमाहरु अपहेलित हुन थालेको देखिएको छ । सन्ताहरु सहर बजार र विदेशमा हुँदा गाउँमा बाआमा बुढेसकालमा साहारा विहीन हुन थालेका छन् । सहरबजारमै पनि बाआमाहरु बुढेसकालमा वृद्धाश्रममा पुग्नुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । धेरै वृद्धवृद्ध बुढेसकालमा हेला, वेवास्ता सहेर बाचिरहेका छन् ।
जसलाई ठूलो मेहनत गरेर पाल्ने, पोस्ने, हुर्काउने अभिभारा बाआमाले पूरा गरेका हुन्छन्, उनीहरुले नै बुढेसकालमा बाआमालाई हेला गर्ने क्रम बढ्दै गएको छ । यो चिन्ताको विषय हो । हामी जवान छोराछोरीले भोलि हामी पनि वृद्ध हुन्छौं, हाम्रो हालत पनि यस्तै हुन्छ भन्ने मनन गर्न जरुरी छ । जसले आफ्नै बाआमालाई सम्मान, माया र साथ दिन सक्दैन, उसले मानवीय कर्तव्य पूरा गरेको ठहरिँदैन ।
यो सृष्टिमा कतै भगवान् छ भने त्यो सबैभन्दा ठूलो भगवान् आमा नै हुन् । मानिस स्वभावैले स्वार्थी हुन्छन् । मान्छे आफ्नो सुख, प्राप्ति खोज्छ । मातृत्व यस्तो पक्ष हो जहाँ त्याग हुन्छ, समर्पण हुन्छ । आमाले कोखमा बोकेर जन्म दिएपछि पनि हुर्काउन ठूलै कष्ट उठाउनुपर्छ । आफूभन्दा अघि बच्चाको भोक, प्यास सम्झिन्छन् आमाहरु । आफू रित्तिएर, आफू भोकै बसेर, आफ्ना इच्छाहरु पछि सारेर पनि सन्तानको सुख पूरा गरिदिनु आमाको महानता हो ।
यही महानताको स्मरण गर्ने दिन हो आज । आमा दुई अक्षरमा संसारकै सार लुकेको छ । माया होस् कि समर्पण, यो दुनियाँमा निस्वार्थ र अविरल केही छ भने मातृत्व नै हो । संसारका सबै सबै आमा महान् छन् । सबै आमालाई नमन । आमाका कर्तव्यनिष्ठ, इमान्दार र सज्जन सन्तान बन्ने प्रेरणा यो महान् अवसरले हामीलाई देओस् । सबैलाई मातातीर्थ औंसीको शुभकामना !









