सोच्दासोच्दै

कुनै कुनैमा आठ दसजना यात्रुहरु पनि होलान् नत्र भने चालक र सहचालक मात्रै भएका लामा लामा नगर बसहरु पोखराका सडकहरुमा हुँइकिरहेका देखिन्छन्। कुनै समय यस्तो थियो सीटमा कोचाकोच गरेर, गल्लिमा उभिएर, ढोकामा ठेलमठेल गरेर यात्रा गरिन्थ्यो।
ट्याक्सीको अवस्था उस्तै छ, गाडी लिएर कुनै चोकमा बस्यो, घन्टौंसम्म बस्दापनि कोहि आउने होइन। आइहालेपनि भाडाको बार्गेनिङ्ग, तेलखर्च उठ्न पनि मुस्किल। तरपनि परम्परा चलेकै छ।
व्यवसाय गरेर बस्नेहरुको पीडा अझै गहिरो छ। आजभन्दा बीस/ पच्चीस वर्षअगाडि लेकसाइडका सटरहरुको भाडा मासिक चार/पाँच हजार थियो, तर त्यतिखेरका व्यवसायीहरुले दैनिक बीस/ तीस/ पचास हजारको व्यापार गर्थे अझ मुनाफाको त कुरै नगरौं। अहिले ती सटरहरुको भाडा पचास हजारदेखि एकलाख छ तर दैनिक पाँच सात हजारको व्यापार हुन धौधौ छ। तरपनि मान्छे बसेकै छन् ।

होटलहरु कम थिए, सामान्य थिए त्यसैले पर्यटकहरुले भरिभराउ हुन्थे। कतिपय पर्यटकहरु कोठा नपुगेर किचन, गल्ली र बरन्डामा सुत्थे। अहिले सम्पूर्ण सुविधासम्पन्न अत्याधुनिक होटल, रिसोर्टहरु छपक्कै छन् तर कोठाहरु प्रायः खाली नै हुन्छन्। तरपनि शिलशिला रोकिएको छैन।
बिदेशी मुद्रा साट्ने काउन्टरहरु मुस्किलले पाँच सातवटा थिए, त्यहाँ सधैं पैसा साट्नेहरुको लामै लाइन देखिन्थ्यो। अहिले ठूल्ठूला अक्षरमा NO COMMISSION लेखेर राष्ट्र बैंकले निर्धारण गरेको दरसहितका साइनबोर्ड राखेका छन्। ग्राहक भन्दा पसल बढी त्यसैमा पनि रेटको चरम बार्गेनिङ्ग। तरपनि जीवन चलेकै छ।

सामान्य चियापसलदेखि राम्रा रेस्टुरेन्टहरु सबैमा खाने मान्छेहरुको भिड हुन्थ्यो, अहिले दुई चारवटा टेबुलमा मान्छे बसेर खाएको देख्नै मुस्किल छ। तरपनि मान्छे धानिएकै छन् । महेन्द्रपुल, बिशालबजार, पृथ्वीचोक र पेन्सन क्याम्पतिरका पसलहरुमा हात पट्याएर बसेका पसलेहरु देखिंदैनथ्यो, सधैंको कराकर र घुइँचो। अहिले बरु बाटोमा सामान राखेर बेच्नेहरुकोमा भिड हुन्छ, तर हजारौं भाडा तिरेर पसल गरेका व्यापारीहरु आफ्नो अगाडि सडकको व्यापार हेरेर बस्न बाध्य छन्। तरपनि कसोकसो मेसो मिलेकै छ।

चाहे जुनसुकै होस् जो सुकैको होस् फिल्म रिलिज भएपछि सबै हलहरुमा मानवसागर उर्लिन्थ्यो, ब्ल्याकमा टिकट काटेर भुइँ या ढोकाको छेउमा बसेर फिल्म हेर्नुपर्ने अवस्था थियो, अहिलेका सुविधासम्पन्न मल्टिप्लेक्सले त्यो क्षणको महसुस गर्न कहाँबाट पाउनु र? तरपनि लगानी गरेकै छन्।
मेला महोत्सवको माहोल नै अर्कै थियो, जहाँ, जस्तोसुकै मेला महोत्सव आयोजना भएपनि मानिसहरुको भिड लाग्थ्यो, अझ चलेका कलाकार, गायक गायिकाहरु आउने दिनमा त खुट्टा राख्ने ठाउँ नै हुने थिएन। मेलामा भारतीयहरुले सन्चालन गरेका पिङ्ग, सर्कस, जादु हेर्नको लागि टिकट लिएर एकाध घन्टै कुर्नुपर्थ्यो। अचेल त त्यो पिङले बिजुलीको पैसा पनि उठाउन सक्दैन कि जस्तो लाग्छ। तरपनि आयोजना गरेकै छन् ।

यो वर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ सम्पूर्ण क्षेत्र तहसनहस पारिदियो परन्तु मैले कोरोना आउनुभन्दा अगाडिको अवस्थाको चित्रण गरेको हुँ। कोरोनाले पारेको असर र क्षति त धेरै डरलाग्दो छ, हुनेछ।

हिजोको पुस्ता गाउँ छोडी सहर पसेर चियाको कित्ली बसालेरै छोराछोरीलाई बोर्डिङ स्कुल पढाएर बजारमा घरघडेरी जोड्न सफल भयो। तर आजको अवस्था त्योभन्दा ठ्याक्कै उल्टो भएको छ।
यति हुँदाहुँदै पनि अचम्म लाग्छ, आजको पुस्ता हिजोको भन्दा फरक छ, कतिपय अर्थमा खुसी र सुखी पनि छ, उसले महंगो मोबाइल बोकेको छ। ब्राण्डेड लुगा र जुत्ता लगाएको छ, गाडी चडेको छ।

हिजोको पुस्ताले सन्तान धेरै जन्माउथे, तिनैको पालनपोषण, पढाइ, बिहे ब्रतबन्ध आदि गर्दैमा आफ्नो खुसीलाई बलिदान गर्नुपर्ने विवशता थियो तर आज त्यस्तो अवस्था नभएर पनि होला र जीवनलाई हेर्ने दृस्टिकोण फरक भएर पनि होला आजको पुस्ता झन मस्त छ।