लघुकथा : ल्याकुते

त्यो थापालाई कहिले जुत्ता बनाएँ, कहिले रुमाल बनाएँ । मुन्छे मेरा लागि बारुद बन्न पनि लालायित थियो । खै केमा चित्त दुखेछ वैद्य दाइ कहाँ बस्छु भनेर गयो तर त्यसलाई त्यहाँ के चित्त बुझ्थ्यो र फर्केर आयो । मान सम्मान दिएर मन्त्री बनाएँ ।

आज यति धेरै मात लाग्यो त्यसलाई के भन्नु, कोसँग भन्नु ? मेरै केटो मारिएको छ । त्यसले मेरो मान्छे मारिएपछि हत्यारालाई पाता कसेर ल्याउनु पर्ने होइन ? ल्याएन । फोन गरेँ उठाउँदैन ।

त्यसलाई मन्त्रीबाट फिर्ता गर्ने मात्र होइन, साधारण सदस्यतासमेत खारेज गर्ने ल्याकत हुनुपर्ने हो । कुनै बेला जिमराज भन्दा ठूलो छु लाग्थ्यो । तँलाई फटाहा, तेरो मिति पुग्यो भनेसि मिति नै पुग्थ्यो ।

समयको खेल । हेर्दाहेर्दै ओलीले मलाई ल्याकुते अध्यक्ष बनाएर राखेका छन् । लगौँटी फाटेर एक हातले लाज छोपी चुपचाप बसेको छु र अर्को हातले चीसा शब्दहरूमा हत्यारालाई कार्वाहीको व्यक्तव्य लिएर चौबाटोमा बसेको छु । हात गलेका छन् । मन भत्किएको छ । अहिले पनि मान्छेले मलाई सत्तारूढ दलको अध्यक्ष भन्छन् भने यो भन्दा भयानक व्यङ्ग्य कुनै साहित्यमा लेखिएको थियो होला र ?