दसै, जनता र सरकार

दसै
प्रा:य दसै बिदेसिएका परदेशी नेपालीहरु आफ्नो जन्मभूमि फर्कने पुनर्मिलनको समय हो / दसै आफु जन्मि हुर्केको घर-आगन, बृद्ध आमा, बा, छर-छिमेक, ईष्ट-मित्र, दौतरीसंगको भेट-घाट गर्ने, मिठो मसिनो खाने र रमाइलो गर्ने अवसर पनि हो/ बाध्यता र विवसताले बिदेशमा रहदा हर राति सपनीमा देखिने आफ्नो जन्मथलो, आफु हिडेको बाटो, भज्याङ्ग चौतारी, बन-पाखो, उकाली-ओराली, कुवा -पधेरो सबै सबै आफ्नो लाग्ने ठाउमा पुग्न आतुर बिदेसियका नेपालीहरुको चाहना हुन्छ/ अझ दसैको समयमा आगनको छेउमा फुल्ने गोदावरी र मखमली फुल, बारीमा लह लह झुमेको कोदाका वाला, धानखेतबाट आउने वासना, चौतारी नजिकैको पिङ्ग आदि सम्झदै गर्दा मनै प्रफुलित र उमंग हुन्छ/

दसै स-साना नानी-बाबुहरुको लागि महिना, हप्ता र दिनहरुको पट्यारलाग्दो पर्खाई पछिको नाना-चिची पाउने अवसर हो भने वृद्द आमा-बाबुहरुलाई दसै आफ्ना सन्तानहरुलाई आखाभरि देख्न, सुम्सुमाउने र आफ्नो सुख-दु:ख बहने मौका हो/ आफ्ना सन्तान जवान मात्र होईन अधबैसे हुदा समेत बालखै देख्ने आमा-बुवाको आफ्ना छोरा-छोरीले ल्याईदिएको कपडाले आफ्नै मुख छोपी खुशीको आशु पुछ्ने र जीवन सार्थक भयकोमा कृतज्ञता जाहेर गर्ने गर्वको पर्व पनि हो/ आफ्ना सन्तानको सुखद आगमनको कल्पना गर्दै वृद्द आमाले आफुले बिरामी हुदा समेत नखाई जोहो गरि राखेको चालम, घ्यु-तेल र स्थानीय मर-मसलामा खाना बनायर खुवाउने र आफ्ना सन्तानले खानाको स्वादमा आफ्नो स्वाद अनुभति गर्ने आमाको चाड हो/ आफ्ना सन्तानको घर फिर्ती अगाडिनै कमेरो वा रातोमाटोले लिपपोत गरि पिडिको डिलमा बसी आफ्ना सन्तान आउने बाटोभरी आखा बिछ्याउने र टाढाबाट कुनै छाया देख्दा आफ्नै सन्तान जस्तो देख्ने आमा -बाहरुको उत्सव हो/ बारीको डिलको झ्यांगमा फलेको सवभन्दा राम्रो पहेलो काक्रो र गोठको छेवैको केराघारीमा पाक्दै गरेको केरा पनि दसैका गहना हुन्/

जनता
दसैको संघारैमा नेपालगंजको जमुनाह नाकामा विदेशिने नेपालीहरुको लर्को देख्दा लाग्छ त्यहा साक्षात नवदुर्गा भवानीको अवतरण भएको छ र जीवित देवीको दर्शनको लागि मानिसहरु लामबद्द छन्/ तर विडम्वना त्यो लाईन देवीको दर्शनको लागि होईन आफ्नै देशमा गरिवी, भोक, दीनहीन, दुख: बेसहारा, दरिद्रता र निर्धनताले लखेटिएका नेपालीहरु हुन्/ बाहिर भएकाहरु समेत आ-आफ्नो घर -आगन फर्कने यो बेला बिदेसिन बाध्य यी नेपालीहरु देख्दा लाग्छ यी सबै कुनै खतरनाक आतंककारिको आक्रमणबाट आफ्नो जिउ-ज्यान जोगाउन भाग्दैछन्/

दसैको मुखैमा कोरोनाको भुङ्ग्रो भैरहेको भारत तिर लर्को लगाउने मध्य की एक प्रतिनिधि पात्र हुन् अछामकी फुलमाया, उनका श्रीमान लक्ष्मीनारान र साथमा दुई बर्षकी छोरी लक्ष्मी र ४ बर्षिय छोरा जगन्नाथ/ एकातिर फाटेको जेब्रा झोला, अर्की तिर छोरी लक्ष्मी च्यापेर जगन्नाथलाई डोराउदै अगाडि बढ्दा सडक छेउ संगैको ढावामा पाउरोटीको बासनाले छोरीको ध्यान तान्यो र आमालाई हातले ईसारा गर्दै खान खोजिन/ संगै रहेको उनको दाई जगन्नाथ पहिले देखिनै पाउरोटी हेर्दै थुक निल्दै थिए र बैनीले जिद्दी गरि रोईकराई गरे आमाले किन्दिन्छ्नकी भन्ने आशामा थिए/

फूलमायाले आफ्नो पटुकी, गोजी सबै छामछुम गरिन तर उनीसंग जति जोड घटाउ गर्दा पनि किन्ने ल्यागत पुगेन/ समय सघै लाईन अगाडि बढ्यो / दुई र चार बर्षे छोरी छोराको भोक मेटाउन नपाउदा एउटी आमाको पिडाको पराकास्ट थियो त्यहा/ आमाको ममताले फूलमायालाई मुटुनै बाहिर आउला जस्तो गरि खिन्नता, पश्चाताप, ग्यानी, क्षुब्ध र उदास बनायो/ फूलमायाले पछ्यौराको फेरले आफ्ना चिसा आखा पुछिन र लाईन संगै अगाडि बढिन/ अलि पर एउटा पसलमा लगाईएको टिभीमा ठूलो आवाजमा सम्बृद्ध र सुखी नेपालीको बारेमा नेताबाट प्रवचन हुदै थियो र ती नेताले भोकले कोहि मर्दैन र भोकमा कोही रहनु पर्दैन त्यो ग्यारेन्टी भै सक्यो भन्दै थिए/ ती नेताको आवाज र अनुहार देख्दा फूलमायाको अनुहारमा घृणा प्रस्ट देखिन्थ्यो/ फूलमायालाई के थाहा जवसम्म प्रतिरोध हुदैन तवसम्म उनको जीवनमा कुनै परिवर्तन हुने वाला छैन /

लक्ष्मीनारन पनि दर्ता प्रक्रिया पुरा गरि निन्याउरो मुख लगाई आईपुगे/ उनले मनमनै सोच्दै होलान हाम्रो सरकारले हाम्रो नाम ठेगाना किन टिप्दाहुन्? न कतै आपत -बिपत पर्दा उद्दार गर्ने, न परिवारलाई कुनै सर-सहयोग/ लक्ष्मीनारानलाई के थाहा नेताहरु चड्ने करौडौको गाडि, हेलिकटर, बिदेशमा हुने उपचार आदि सबै लक्ष्मीनारानहरु जस्ताले पठाएको रेमिटेन्सको आम्दानीबाट हुने गर्दछ/ घरमा बुडा भएका बा र रोगि आमाको जिम्मेवारी, दुई दुईवटा लालावाला सन्तानको भविष्यको चिन्ताले गर्दा लक्ष्मीनारान पैतिस बर्षको उमेरमै उनको शरीर निकै जिर्ण भैसकेको छ र उनलाई अरु सोच्ने फुर्सद पो कहा छ र ? प्रतेक पटक घर छोडि बिदावारी हुदाको आमा बा को निन्याउरो अनुहार र फेरी भेट हुने नहुने भविश्यको चिन्ताले सधै सधै लक्ष्मीनारानलाई पछ्याई रहन्छ र आफ्नो सबै दु:ख उनले आफ्नो पूर्व-जन्म कमाई र भगवानको खट्न भनि स्वीकार गर्दछन/

सरकार
देशमा संसारकै उत्कृष्ट गणतन्त्रात्मक व्यवस्था छ र त्यसमा पनि कम्युनिष्टको झन्डै दुई-तिहाईको सरकार छ/ व्यवस्था र पात्र फ़ेरिए पनि प्रवृति नफेरिदा भुईमान्छेको जीवनमा कुनै सकारात्मक परिवर्तन हुन सकेन / जसरी पनि चुनाव जित्ने र टाउको गनेर शासन सत्ताको बैधानिकता प्राप्त गर्ने भन्दा अरु प्रगति हुन सकेन/ जनता “भोटर” बाट “नागरिक” हुन सकेनन/ “स्वास्थ्यको लागि खेलकुद” भनेर “तास खेल्नु” र अहिलेको सरकारलाई “कम्युनिष्ट” भन्नु उस्तै उस्तै हो / जन-जीविकाका सवालमा अपवादको रुपमा केहि स्थानीय सरकारले केहि राम्रो काम गरेपनि मूलत: यो सरकार जनताको दृस्टीकोणमा पुर्ण असफल भै सकेको छ/

साशन व्यवस्थाको सर्वमान्य नियम अनुसार चौकी (कुर्सि) मा बस्ने चौकीदार र जमिनमा बस्ने (जनता) जमिन्दार हुनु पर्नेमा ठ्याक्कै उल्टो भएको छ/ एउटा माउसुली घरको सिलिङ्गमा वा छानामा बसेर घरको छत वा छानाको भार आफैले थामेको छु र घर भित्रका मानिसलाई सुरक्षित राखेको छु भन्नु जस्तो भएको छ/ हिजोको झापा बिद्रोह देखि माओवादी जनयुद्द सम्मका नायकहरु जो अहिले सत्ताको सिखरमा छन् उहाहरु सयौको संख्यामा सेना र प्रहरीको सुरक्षा घेरामा साईरन बजाउदै हिडदा आफुलाई बैभवशालि ठान्नु हुदो हो तर जनतालाई त एउटा अपराधीको जेल सरुवा गर्दा जस्तो लाग्न थालेको छ/

याद रहोस यो बर्ष महामहिम रास्ट्रपति ज्यू र सम्माननीय प्रधानमन्त्रि ज्यू बाट दसैको टिका बक्स नहुने भएको छ/
… … र अन्तमा यो कोरोना महामारीको समयमा जो जहा जे जस्तो अवस्थामा छौ सुरक्षित रुपमा आ-आफ्नो हैसियत अनुसार मानाऔ/ हामी जनता ईतिहासका निर्माता हौ/ दसैको शुभ-कामना !!!