बौद्धिक संस्थाहरुलाई नेकपाको भातृ संगठन नबनाइयोस्

गण्डकी प्रदेश अन्तर्गतका स्थानिय तथा प्रदेश स्तरमा गठन हुन लागेको, विभिन्न प्रतिष्ठान एवं विकास वोर्ड सम्बन्धि अवधारणा, प्रकृया र पुराना नजिरहरुका विषयमा यस सम्मानित सभामा केही विषय राख्ने अनुमति चाहन्छु ।

साँस्कृतिक क्षेत्र, साहित्यिक क्षेत्र तथा प्राज्ञिक क्षेत्रलाई संरक्षण र पर्वद्धन गर्ने उदेश्यनुरुप प्रतिष्ठान तथा वोर्ड गर्ने अवधारणा रहेको छ । यसै क्रममा प्रदेश सभाबाट विधयक बनेर गठनको क्रममा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास वोर्ड, गण्डकी प्रदेश गठनको प्रक्रियामा रहेका छन् । पोखरा प्रज्ञा प्रतिष्ठान (महानगर स्तरीय) गठन भएको छ, जुन गठन प्रक्रिया तथा नियुक्तिको विषयलाई लिएर अहिले विवादित बनेको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल साँस्कृतिक संघले मिति २०७७ असोज २२ मा महानगरपालिका प्रमुखलाई ध्यान आर्कषण पनि गराएको छ । र चलचित्र जाँचपास समिति (सेन्सर वोर्ड), गण्डकी प्रदेश गठन हुने क्रममा रहेको छ ।

म यस भन्दा अगाडी गठन भएको प्रतिष्ठान तथा वोर्ड सम्बन्धि केही नजिर प्रस्तुत गर्ने अनुमति चाहन्छु । लोकतन्त्रको स्थापना पछि नेपाली काँग्रेसको तत्कालिन सरकारले नेपालमा केन्द्रिय स्तरको प्राज्ञीक समिति गठन गर्ने प्रक्रियामा, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तत्कालिन संस्कृती मन्त्री डा. मिनेन्द्र रिजालको नेतृत्वमा गठन भएको थियो ।

२०६७ सालमा गठित यि प्रतिष्ठानमा सम्पुर्ण अधिकार आफुमा हुँदा हुँदै पनि प्रतिपक्ष दलको एवं राजनैतिक सहमतिको महत्वलाई ध्यानमा राखी ३ वटै प्रतिष्ठानमा तत्कालिन प्रतिपक्षी दल नेकपा एमालेबाट पनि प्रतिनिधित्व हुने गरी प्राज्ञ सभा गठन गरिएको थियो । जसको उदाहरण संगित नाट्य प्रतिष्ठानमा नेपाली काँग्रेसको तर्फबाट कुलपतीमा अमर गुरुङ्ग र उपकुलपती प्रचण्ड मल्ल, प्राज्ञ सदस्य कविता आले र मिथिला शर्माको नियुक्तिले स्पष्ट पार्दछ कि उहाँहरु साविक नेकपा एमालेमा आवद्ध हुनुहुन्थ्यो ।

यसरी प्राज्ञिक क्षेत्रलाई बौद्धिक, सक्षम, समावेशी र उपलब्धी मुलक बनाउनुपर्छ भन्ने अवधारणलाई वर्तमानमा गण्डकी प्रदेश अन्तर्गत गठन हुन लागेको माथि उल्लेखित प्रतिष्ठानहरुमा नेकपाको सर्वपक्षिय, सहमति विरोधी सोच र एकात्मकवादी कार्य शैलीले प्रदेशको बौद्धिक क्षेत्र साँस्कृतिक क्षेत्र, साहित्यिक क्षेत्र तहसनहस हुँदै छ ।

त्यतिमात्र नभएर यी बौद्धिक र प्राज्ञिक प्रतिष्ठानहरुलाई नेकपाको भातृ संस्थाको रुपमा गठन गर्ने, कार्यकर्ता भर्ती केन्द्रको रुपमा प्रयोग गर्न खोज्ने यो गलत नियतलाई तत्काल बन्द गरी प्राज्ञ छनौट समिति समावेशी र सर्वपक्षिय प्रज्ञिक थलोको रुपमा स्थापित गर्नुपर्दछ । अतः प्राज्ञ तथा विकास वोर्डको अवधारण तथा मर्मनुरुप गठन गर्न म सभामुख मार्फत सम्बन्धित स्थानिय तथा प्रदेश सरकारको ध्यानआर्कषण गराउन चाहन्छु ।

प्रदेशसभा सदस्य थापाले २०७७ असोज २५ गते प्रदेश सभा बैठकमा विशेष समयमा प्रस्तुत गरेको भनाइ ।