हाइपर टेन्सन साइलेन्ट किलर हो

हाम्रो मुटुले एउटा पम्प वा मोटरको रुपमा काम गरिरहेको हुन्छ । मुटुुले शरीरमा रहेको रगतलाई तानेर शरीरका हरेक अंग, भागमा पठाउने गर्छ । यही रगत सञ्चार गर्ने क्रममा मुटुमा एक प्रकारको शक्ति, बल या ऊर्जा पैदा हुन्छ । यसैलाई नै हामी रक्तचाप भन्छौं ।

औसतमा एउटा वयस्क मानिसको रक्तचाप १२०/८० मर्करी वा यसैको सेरोफेरोमा रहन्छ । यही यो बढ्दै गयो र १४०/९० वा सोभन्दा बढी भयो भने यसलाई हामी उच्च रक्तचाप वा हाइपर टेन्सन भन्छौं । अमेरिकन कार्डियोलोजी सोसाइटी, युरोपियन कार्डियोलोजी सोसाइटी लगायतका विभिन्न संस्थाका उच्च रक्तचापबारे विभिन्न मापदण्ड छन् । जोखिम मापन गर्ने आ–आफ्नै तरिका छन् ।

यही मापन अनुसार उपचार विधि पनि केही फरक हुन्छ । सामान्यतया उच्च रक्तचापका केही पनि लक्षण देखिदैनन् । कसै कसैलाई मात्र टाउको दुख्ने, चक्कर लाग्ने, कान डम्म हुने, चिटचिट पसिना आउने, रिस उठेको महसुस हुने, मुटुको धड्कन बढ्ने, स्यास्या हुने र कहिलेकाँही शरीर सुन्निने जस्ता लक्षणहरु देखिन्छन् ।

उच्च रक्तचापबाट शरीरमा धेरै नकारात्मक असरहरु पर्न सक्छन् । यसले मष्तिस्कघात र पक्षघात गराउन सक्छ । आन्तरिक रक्तस्राव र ब्रेनह्याम्ब्रेज गराउन सक्छ । आँखाभित्र रक्तस्राव भएर दृष्टि गुम्ने पनि हुन सक्छ । हृदयघातका साथै मुटुलाई फेल गराउन सक्छ । मृगौलाले काम गर्न छाडी डाइलाइसिस गर्नुपर्ने अवस्था आउन सक्छ । हातखुट्टामा यसले नसाहरु सुकाएर रगत सञ्चालनलाई कम बनाउँछ । यसो हुँदा हातखुट्टा सुन्निने, झमझम गर्ने, काम नगर्ने, दुख्ने हुन सक्छ ।

यसले मष्तिस्कघात र पक्षघात गराउन सक्छ । आन्तरिक रक्तस्राव र ब्रेनह्याम्ब्रेज गराउन सक्छ ।

यी जोखिम आउनुभन्दा अघि अधिकांश मानिसमा केही पनि लक्षण देखिदैनन् । त्यसैले हामी मेडिकल भाषामा यसलाई साइलेन्ट किलर भन्छौं । हामीले बेला बेलामा रक्तचाप जाँच गराइरहनुपर्छ । ४०/४५ वर्षको उमेरदेखि हरेक वयस्कले समय समयमा आफ्नो रक्तचाप जाँच गराइरहन सुझाव दिन्छु । यदि परिवारमा कसैलाई उच्च रक्तचाप छ भने यो भन्दा पनि अलि चाडैदेखि आफ्नो रक्तचाप जाँचिरहनुपर्छ ।

उच्च रक्तचापको उपचार सम्भव छ । यसलाई नियन्त्रण गर्न सकिन्छ । यसका रोगीले जीवनशैली सादा र सरल बनाउनुपर्छ । यो रोगबाट बाच्ने एउटा उपाय पनि यही हो । तनावमुक्त हुनु र रक्सी, चुरोट जस्ता अम्मलबाट परै रहनु आवश्यक हुन्छ । आहारविहार सामान्य अपनाउनुपर्छ । खासगरी नून र चिल्लोको मात्रा कम गर्नुपर्छ । सामान्य हामीले खाने खानेकुरामा नूनको मात्रा ५ देखि ६ ग्राम हुन्छ जबकि हाम्रो शरीरलाई २ देखि ३ ग्राम नून भए पुग्छ । त्यसैले हामीले हाम्रो नियमित खानामा नूनको मात्रा कम गर्दा राम्रो हुन्छ ।

यसैगरी नून बढी भएका अचारहरु, मार्केटमा पाइने चिप्सहरु, कुरकुरे, लेज, निमकिनहरु कम प्रयोग गर्नुपर्छ । घिऊ, तेल लगायतका चिल्लो पदार्थ कम गर्नुपर्छ । तारेका, भुटेका खानेकुरा कम खाँदा शरीरमा रक्तचाप नियन्त्रणमा राख्न सजिलो हुन्छ । यी सबै विधिबाट पनि रक्तचाप नियन्त्रणमा आएन भने हामीले औषधि सेवन गर्नुपर्ने हुन्छ । यसको औषधि अलि लामो समयसम्म खानुपर्ने हुन्छ किनकि यसले शरीरआफैं हुन नियन्त्रण नसक्ने अवस्थामा पुगेको हुन्छ । यसले शरीरमा अन्य जोखिम गराएमा वा त्यही अनुसारको उपचार आवश्यक पर्छ ।

डा अधिकारी अन्नपूर्ण सिटी क्लिनिक महेन्द्रपुलमा आवद्ध हुनुहुन्छ ।