कोरोना कहरमा बच्चाको योजना गर्ने कि नगर्ने ?

अहिले विश्वभर नै कोभिड १९ को महामारी फैलिएको छ । यस्तो अवस्थामा कोभिड १९ र गर्भावस्थाबारे जानकारी राख्नु अझ जरुरी हुन्छ । यसबारे धेरैमा अनेक भ्रम छन् भने मानिसमा उस्तै प्रकारका जिज्ञासा पनि छन् ।

कोभिड १९ एक किसिमको भाइरल इन्फेक्सन हो । यो एउटा नौलो खालको भाइरस कोरोना भाइरसका कारणले हुन्छ । कोरोना भाइरस भन्ने एउटा ग्रुप हुन्छ, त्यसमध्येको यो एउटा नयाँ खालको भाइरस हो । यसले खासगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ । यो सामान्य रुघखोकी जस्तै हो तर यसमा सामान्य रुघाखोकीभन्दा अलि बढी मानिसको फोक्सोमा संक्रमण भयो भने जटिलता आउने र मृत्युसमेत हुने गरेको देखिएको छ ।

यो संसारभरि नै यो फैलिइसकेको छ । फैलिने क्षमता यो भाइरसको तीव्र हुन्छ । यस कारणले कोभिड १९ बारे जान्नु र यसबाट बच्नु जरुरी छ । अरु सर्वसाधारणलाई जति यसको जोखिम छ, गर्भवतीलाई पनि जोखिम उस्तै हो ।

तर एउटा कुरा हामीले के बिर्सनुहन्न भने गर्भवती हुँदा महिलाको रोगसँग लड्ने प्रतिरक्षा क्षमता अलि कम भएको हुन्छ । यस अर्थमा अरु मानिसलाई भन्दा गर्भवतीलाई थोरै बढी जोखिम त हुन्छ तर सामान्य मानिसलाई भन्दा निकै बढी जोखिम भने हुँदैन । सुत्केरी महिलालाई पनि यही कुरा लागू हुन्छ ।

कुनै गर्भवती महिलालाई कुनै रोग छ, जस्तो प्रेसर, सुगर, मुटुरोग वा अरु, उनीहरुलाई चाहिँ जोखिम अलि बढी हुन्छ । गर्भवती, सुत्केरीलाई पनि शंका लागेमा, लक्षण देखिएमा कोभिड १९ को जाँच गर्न मिल्छ । ज्वरो आयो, थकान महसुस भयो, घाँटी दुख्यो आदि भने पिसिआर जाँच गराउनुपर्छ ।

हामीले के बिर्सनुहन्न भने गर्भवती हुँदा महिलाको रोगसँग लड्ने प्रतिरक्षा क्षमता अलि कम भएको हुन्छ ।

कोभिड १९ को सुरुआती अवस्थामा यसबारे धेरै कुरा थाहा थिएन । अझै केही पक्ष अनुसन्धानकै क्रममा छन् । यो महामारीको सुरुवातमा हामीले महिलाहरुलाई तुरुन्तै गर्भवती हुने योजना नबनाउन पनि सल्लाह दियौं । यो एकदमै नौलो खालको भाइरस हो । गर्भवती भएको ३ महिनाभित्रै संक्रमण भयो भने त्यसको परिणाम के हुन सक्छ भन्ने कसैलाई पनि थाहा छैन । बच्चामा कुनै खराबी आउने हो कि, गर्भ नै तुहिने छ कि सामान्य नै हुन्छ, यो कसैलाई थाहा छैन । यो अझै अध्ययनकै विषय हो ।

पहिले हामीले तुरुन्तै बच्चाको योजना नबनाउन सल्लाह दियौं । अहिले हेर्दा यो महामारी लामो समयसम्म जाने जस्तो देखियो । अब बच्चाको योजना नबनाउनोस् भन्न पनि हामीलाई गाह्रो भयो । यस्तो अवस्थामा कोही गर्भवती भइहाल्नु भयो भने संक्रमणबाट जोगिनु नै सबैभन्दा उत्तम हुन्छ । कतिपय देशमा आमाबाट बच्चामा सर्छ वा सर्दैन भन्ने अध्ययनहरु भएका छन् । निष्कर्षहरु पनि सार्वजनिक भएका छन् । यो आमाबाट बच्चामा सर्न त सक्छ तर यसले गर्भावस्थामा त्यति धेरै असर नगर्ने जस्तो देखियो । आमालाई कोरोना भए पनि बच्चामा नसरेका धेरै उदाहरण पनि देखिए । यदि आमालाई लक्षणहरु देखिए, जस्तो आमाकै जीवनमा जोखिम देखियो भने बच्चामा जोखिम स्वतः नै हुने भयो ।

यो रोग लागेकामध्ये ८० प्रतिशतमा सामान्य रुघाखोकी जस्तै देखिएको छ । उमेर बढी भएका, संक्रमणमा भाइरल लोड धेरै भएका गर्भवतीमा समस्या बढी आउन सक्छ । आमालाई निमोनिया नै भयो, हस्पिटलमा भर्ना गरेर नै राख्नुपर्ने अवस्था भयो, भेन्टिलेटरमा राख्नुपर्ने अवस्था भयो भने बच्चामा पनि जोखिम बढिहाल्छ ।

गर्भवती भएको ३ महिनाभित्रै संक्रमण भयो भने त्यसको परिणाम के हुन सक्छ भन्ने कसैलाई पनि थाहा छैन ।

नेपालमै पनि आमाबाट बच्चामा नसरेका निकै घटना हाम्रो सामुन्ने छन् । शल्यक्रियाबाट र सामान्य सुत्केरी भएका संक्रमित महिलाका सन्तानमा नसरेको देखिएको छ । स्तनपान गराउँदा आमाबाट बच्चामा भाइरस सर्छ कि सर्दैन भन्ने अध्ययन पनि भएका छन् । ती अध्ययनले स्तनपानबाट कोरोना नसर्ने देखिएको छ । तर स्तनपान गराउँदा सुरक्षाका उपायहरु अपनाउनुपर्छ । अरु सामान्य मानिसले जसरी कोरोनाबाट बच्न माक्स, पञ्जा आदि लगाउने लगायतका सजगता अपनाउँछन्, आमाले पनि त्यही गर्नु जरुरी हुन्छ ।

आमा संक्रमित भएमा मेरो विचारमा बच्चाको स्याहार आफैं गर्ने वा अरुलाई जिम्मा दिने भन्ने विकल्प आमालाई रोज्न दिनुपर्छ । संक्रमित भएको अवस्थामा पनि बच्चालाई दूध चुसाउन चाहने आमाले माक्स लगाउने, हाच्छ्यू गर्दा सुरक्षाका उपाय अपनाउने, हात बेला बेलामा धोइरहने गर्नुपर्छ । आमाले चाहेको अवस्थामा बच्चालाई दुई मिटर पर राखेर दूध दुहेर पनि ख्वाउन सकिन्छ ।

अहिले मानिसमा ठूलो डर छ, अस्पताल गयो भने कोरोना सर्छ । कतिपय गर्भवती नियमित गर्भ जाँचका लागि आउनुभएको छैन । लकडाउनका र डरका कारण आउन नसकेको बताउने कतिपय गर्भवतीमा गर्भमै र उनीहरुको स्वास्थ्यमा खराबी पनि देखिएको छ । यो महामारीले मातृ मृत्युदर बढ्ने हो कि भन्ने जोखिम पनि छ । कतिपय महिलाले घरमै सुत्केरी हुँदा र प्रसूति सेवा नपाउँदा जोखिम बढेको छ ।

अध्ययनहरुले स्तनपानबाट कोरोना नसर्ने देखाएका छन् । तर स्तनपान गराउँदा आमाले सुरक्षा सजगता भने अपनाउनुपर्छ ।

अहिले स्वास्थ्य संस्थाहरुमा पनि पहिलाकै जस्तो गर्भवतीका जाँच गराइदैन । तर केही जाँचहरु चाहिँ निकै महत्वपूर्ण हुन्छन् । गर्भवतीले कमसेकम चार पटक जँचाउन जानु एकदमै जरुरी हुन्छ । हामीले स्वास्थ्य संस्थाहरुमा कस्तो मार्गदर्शन बनाएका छौ भने नि त्यो बेला एकै पटकमा प्रमुख जाँचहरु गरिदिन्छौं । दोस्रो जाँच चार वा साढे चार महिनामा एकदमै जरुरी हुन्छ । त्यो जाँचमा बच्चाको भिडियो एक्सरे हेरिन्छ । सामान्य अवस्थामा गर्भवतीलाई त्यसपछि हामी दुई वा साढे दुई महिनामा पनि बोलाउँछौं । विभिन्न रोगबाट पीडित गर्भवती छिन् भने आवश्यक परेका बेला अस्पताल आएर जाँच गराउनुपर्छ ।

यो अवस्थामा डराएर घरै बस्दा कोरोनाको साटो अरु रोगले गम्भीर अवस्था आउन सक्छ । यो अवस्थालाई मध्यनजर गरी कतिपय अस्पतालले टेलिमेडिसिनको अवधारणा पनि ल्याएका छन् । धेरै बिरामी एकै पटक नजाने, सामान्य कुरा फोनबाटै सोध्ने गर्न पनि सकिन्छ । गर्भवती महिलाहरुलाई म अहिलेको अवस्थामा अरु मानिसले अपनाउनुपर्ने स्वास्थ्य सजगता नै अपनाउन सल्लाह दिन्छु । बेला बेलामा हात धुने, अत्यावश्यक नभई भीडभाडमा नजाने गर्नुपर्छ । गर्भवतीलाई दहीच्यूरा खुवाउने, सुत्केरीलाई भेट्न आउने चलन पनि हामीकहाँ छ ।

यसले जोखिम थप बढाउँछ । माक्सको प्रयोग गर्ने, कोही शंकास्पद लक्षण भएका मानिस नजिकै भए उनीहरुबाट टाढै रहने, सेनिटाइजर लगाउने गर्नुपर्छ । नबुझेर गर्भवतीहरु बजार गइरहेको देख्छौ, सामाजिक जमघटमा गएको देख्छौं । अहिलेको अवस्थालाई बुझेर सचेततापूर्वक व्यवहार गरे कोभिड १९ को जोखिमबाट हामी धेरै हदसम्म बाच्न सक्छौं ।

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रेष्ठ मणिपाल शिक्षण अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख हुन् । उनी अन्नपूर्ण सिटी क्लिनिक महेन्द्रपुलमा पनि आवद्ध छिन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।