मनोरेल चढेर शिवजीको परिक्रमा

- पुम्दीकोट धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै

फेवाताल पारी अनदुँ डाँडामा विश्वशान्ति स्तूप बजारबाटै देखिन्छ । विश्वशान्ति स्तूपभन्दा पर अझ उचाईमा रहेको पुम्दीकोटमा विशाल शिवमूर्ति राख्ने अन्तिम तयारी गरिएको छ । मूर्ति ल्याउन बाँकी छ ।

भारतको मथुरामा मूर्ति तयार छ । विश्वव्यापी महामारी कोरोनाले चैत ११ गतेदेखि ४ महिना लकडाउन लगाईयो । लकडाउनकै कारण शिवमूर्ति पोखरासम्म आउन अझै समय लाग्ने देखिएको छ । पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य थपिनेछ ।

१ हजार ३ सय मिटरमा पुम्दीकोटमा भ्यु टावर छ । भ्यु टावरसँगैको जग्गामा शिवमूर्ति राख्न आवश्यक भौतिक पूर्वाधार तयार गरिएको छ । मूर्ति राख्नका लागि पूर्वाधारसहितको स्ट्याण्ड तयार भइसकेको पुम्दीकोट कोट विकास समिति अध्यक्ष चन्द्रकान्त बराल बताउँछन् । ‘कोरोनाले शिवमूर्ति ल्याउन सकिएको छैन् । मूर्ति राख्न आवश्यक सबै पूर्वाधार तयार भइसकेको छ,’ उनले भने, ‘महामारीको अन्त्य भएपछि मथुराबाट मूर्ति पोखरा आउँछ ।’

पुम्दीकोटमा शिवमूर्ति स्थापना गर्ने परिकल्पना बरालले नै गरेका हुन् । तीन वर्षअघि परिकल्पनालाई साकार पार्न महायज्ञ लगाइयो । महायज्ञबाट ६ करोड जम्मा भयो । दानबाट पूर्वाधार निर्माणअघि बढाइयो । ‘महायज्ञबाटै जुटाइएको दानबाट काम सुरु गरियो,’ परिकल्पनाकार बरालले भने, ‘१३ करोड रुपैयाँ खर्च भइसक्यो ।’ उनका अनुसार पुम्दीकोट धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सुुरु गरिएको योजना साकार पार्न ४० करोड खर्च हुने अनुमान छ ।

पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य थपिनेछ ।

योजनाका लागि पर्यटन मन्त्रालयबाट २ करोड ८० लाख रुपैयाँ प्राप्त भएको बरालले जानकारी दिए । पोखरा महानगरपािलकाले १ करोड ५० लाख उपलब्ध गराएको थियो । गण्डकी प्रदेश सरकारले ४८ लाख रुपैयाँ उपलब्ध गराएको थियो । सहकारी संस्थाबाट समेत ऋण लिएर कामलाई फत्ते गर्ने योजना समितिले लिएको छ ।

मूर्ति १०८ फिट अग्लो राख्ने योजना थियो । तर नागरिक उड्डयन प्राधिकरणले स्वीकृति नदिएपछि घटाएर ५१ फिटमा झारिएको छ । पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलले एयर रुट पर्ने सम्भावना देखाउँदै उचाई घटाउन निर्देश गरेको थियो ।

‘नागरिक उड्डयन प्राधिकरणको सुझावलाई मध्यनजर गर्दै १ सय ८ फिटबाट घटाई ५१ फिटमा झारिएको हो,’ उनले भने–‘उभ्भिएको मूर्ति राख्ने योजना थियो । अब बसेको(पद्मासनको) मूर्ति राखिनेछ ।’ मूर्ति फाइबर ग्लासको हुनेछ । मूर्तिको लागत २ करोड १६ लाख रुपैयाँमा कबोल गरिएको थियो । अहिले लागत बढ्न सक्ने उनको भनाइ छ ।

पुम्दीकोटमा शिवमूर्तिसँगै १ सय ८ वटा शिवलिङ्ग, १ सय ८ स्वर्गद्वारी सिढीं, महादेवको मूर्तिलाई परिक्रमा गर्ने मनोरेलसमेत राख्ने योजना छ ।

पुम्दीकोटमा शिवमूर्तिसँगै १ सय ८ वटा शिवलिङ्ग, १ सय ८ स्वर्गद्वारी सिढीं, महादेवको मूर्तिलाई परिक्रमा गर्ने मनोरेलसमेत राख्ने योजना छ । कुमार तथा पार्वतीको मूर्तिसमेत राखिनेछ । सुमेरु पर्वतसमेत रहनेछ । ५ फिट उचाईको शिवलिङ्ग तथा बसाहासमेत राखिने समितिका अध्यक्ष बरालले बताए । १८ वटा सटर निर्माण गरिएको छ । गुरु महाराज आश्रमसमेत बनाइएको छ । आश्रम सुविधायुक्त छ ।

शिवमूर्ति स्थापनापछि पुम्दीभुम्दी बौद्ध र धार्मिक पर्यटनको गन्तव्य बन्ने विश्वास स्थानीय युवा तथा महायज्ञ मुल समितिका महासचिवसमेत रहेका प्रकाश बरालले बताए । ‘पुम्दीकोट आफैंमा ऐतिहासिक स्थल हो । त्यसलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने अभियानसँगै विशाल शिवमूर्ति राख्ने योजनालाई साकार बनाउँदै छौं,’ उनले भने ।

बौद्ध धर्मका अनुयायीहरु विश्वशान्ति स्तूप उक्लिने छन् । हिन्दू धर्ममा आस्था राख्ने सर्वसाधारण पुम्दीकोटमा पाइला टेक्ने छन् । शान्तिस्तुप र पुम्दीकोट पैदलयात्रा केवल बढीमा १ घण्टाको दूरीमा छ ।