घुम्दै जाउँ हिमालमा कुसुमका,सेतै फुलेका गरा
छन् सर्वाेच्च र शैल उच्च चुचुरा मस्केर हाँस्ने धरा
नाैलो लाग्छ सुरम्य टार हरिया,गल्छी र वेशीहरु
राराले मुगुमा सुवास छरने,साैन्दर्य फेदीहरु।।१।।
छन् अाकर्षक ठाउँ संकलन लाै नाैला कला मन्दिर
हाे भू स्वर्ग यही धरातल सबै छन् चैत्य अाै मस्जित
फाेक्साेण्डाे गहिराे छ उच्च गिरिमा,डाँफे नचाई दिने
सेतीको छ पताल खाेज्न अतिनै पानी भसाई दिने ।।२।।
कर्णाली छ उता सदैव गरिबी भाेकै बिरामी हुने
भेट्दैनन् उपचार लाै समयमा दु:खी बिरामी रुने
धामीका भरमा छ जीवन उता बाँच्दै रहेकाे पर
सन्ताेषी जन छन् पहाड गिरिमा अानन्द मान्छन् तर ।।३।।
घुम्दा लाग्छ खुशी गुफा र छहरा फेवा र रूपा अति
फेवामा रमणीय शैल सजिने मान्छे भुलायाे कति
सेतीको जलसाय भित्र अति नै भूमार्ग खाेज्दै गयाे
भाे गन्तव्य सधैं अमूल्य सबकाे भूगर्भ प्रेमी भयाे ।।४।।
धेरै युद्ध भए भयाे बिपत नै सम्वृद्धिकाे खातिर
नेपाली जनकाे भयाे विजय लाै भाे शान्ति याे अाखिर
हाम्रा संस्कृति छन् सहिष्णु पनकाे,अापस्तमा सुन्दर
सीता अाै भृकुटी र बुध्द सबकाे,नेपाल नै हाे घर ।।५।।
छ्न्द-: शार्दूलविक्रिडित









