कविता : भाँचिएको सियो

अचानक
जूठी दमिनीको हातको सियो
भाँचिएको छ

सियो भाँचिएदेखिन्
निकै चिन्तित छिन् उनी

उनीसँग छैन
अर्को जगेडा सियो

नयाँ सियो किन्न
बजार जान पनि सक्दिनन् उनी
यतिखेर
लकडाउनले
बन्द छ बजार
र बन्द छन् दोकान

चिन्तामा छिन् जूठी दमिनी

टाँक हाल्नुपर्ने छ
ब्लाउजमा
यत्ति टाँक हाल्ने ठाउँ
खिप्न पाएदेखिन्
आउने ठाउँ थ्यो
गोडा दुईचारेक रुपैया
चामलको पैंचो
त्यै पैसो दिनुहुन्थ्यो
छिमेकीलाई

पैंचो नतिरे
फेरि पैंचो पाइन्न

हातको ब्लाउज
अधुरै राखेर
जूठी दमिनी
पिँढीलाई एकतमासले
नियाल्छिन्

उसै त दलित भनेर
गाउँमा अछुत छिन्
त्यसमाथि कोरोनाले सास्ती
थपिदिएको छ

‘म अछुत त
सधैंको अछुत भइहालें
छुतलाई पनि अछुत बनाउने
मान्छेलाई घरबाहिर समेत
निस्कन नदिने ?
यो के जाती रोग हो
कुन्नि !
कोरोना ।’

जूठी दमिनीको मन
एकोहोरिन्छ

‘यो भाँचिएको मन
र भाँचिएको सियो जोड्ने ओखती किन हुन्न हँ !
जूठी दमिनीको मनले
सोच्छ ।

२०७७ भाद्र १६