किन धमाधम ज्यान जाँदै छ आइसोलेनमा ?

- जनशक्ति र स्रोत, साधन निकै कम रहेको यो कक्षका इन्चार्ज घरैबाट निर्देशन दिन्छन् । आइसोलेसन छिर्दैनन् ।

डेढ हप्ताअघि कोशी अस्पतालको आइसोलेसनमा एक बिरामीको मृत्यु भयो । पिसिआर जाँचको रिपोर्ट आउन बाँकी रहेकाले लास नलैजान अनुरोध गर्ने डाक्टर नै मृतकका आफन्तबाट कुटिए ।

पछि डाक्टरको नै पिसिआर रिपोर्ट पोजेटिभ आयो । कोशी अस्पतालको आइसोलेसन कसरी चलेको छ भन्ने एउटा उदाहरण हो यो । यो वार्डमा अहिलेसम्म इन्चार्ज नै नछिरेको गुनासो एकातिर छ भने आवश्यक जनशक्ति र उपकरणको चरम अभाव पनि छ ।

अस्पतालको आइसोलेन वार्डमा ल्याइएका बिरामीको पिसिआर जाँच गर्न पठाउने गरिएको छ । अवस्था जटिल भएर आएका बिरामीले पनि पिसिआर रिपोर्ट नआएसम्म कुनै उपचार नपाउने अवस्था छ ।

बिरामीको पिसिआर नेगेटिभ आए सम्बन्धित वार्डमा पठाइन्छ भने पोजेटिभ आए कोभिड अस्पताल लागिन्छ । तर रिपोर्ट पर्खिदा पर्खिदै त्यो अवधिमा उपचार नपाएर करिब एक दर्जनको ज्यान गइसकेको छ ।

‘कोरोनाको रिपोर्ट ढिलो आउँदा प्रेसर, ग्लुकोज केही जाँच नहुने र साधन, स्रोत नहुँदा बिरामीको ज्यान गइरहेको छ ।’

अस्पतालले यहाँ नर्सिङ स्टाफकै व्यवस्था गर्न सकेको छैन । अस्पतालकी मेट्रोन मञ्जु यादवले प्रिआइसोलेसनमा ४ जना डाक्टर र एक सिफ्टमा १ जना नर्स खटाइएको दाबी गरिन् । उपचारका लागि अन्तिम अवस्थामा आएकाको मृत्यु भएको उनको भनाइ छ । यादवले भनिन्, ‘अन्तिम अवस्थामा यहाँ आउँछन् । अहिलेसम्म ९, १० जनाको मृत्यु भयो होला ।’

साधन, स्रोतको अप्ठ्यारो नभएको उनले दाबी गरिन् । तर आइसोलेसन कक्षमा जनशक्तिसहित साधन, स्रोतको समस्या छ । जुनियर मेडिकल अफिसरमात्र खटिएको यो कक्षमा उनीहरुसँग ग्लुकोमिटर, मोनिटरसमेत केही छैन ।

कोरोनाको रिपोर्ट पर्खिदा पर्खिदै उपचार नपाएर धेरैको ज्यान गएको एक चिकित्सकले बताए । उनले भने, ‘कोरोनाको रिपोर्ट ढिलो आउँदा प्रेसर, ग्लुकोज केही जाँच नहुने र साधन, स्रोत नहुँदा बिरामीको ज्यान गइरहेको छ ।’

आइसोलेसनका इन्चाई डा लक्ष्मीनारायण यादव भने घरबाट नै निर्देशन दिइरहन्छन् । उनी अस्पताल र आइसोलेसन कक्षमा विरलै आउँछन् । उनी अब मेडिकल सुपरिटेन्डेन्ट बन्ने धुनमा लागेको र केही नेताको उनलाई साथ रहेको स्रोतले जानकारी दियो ।

‘इमर्जेन्सीले मृत घोषणा गर्दैन । यहाँ ल्याएपछि हामीले कोरोना जाँच गर्ने र डेथ सर्टिफिकेट दिने गरेका छौं ।’

आइसोलेसन इन्चाई डा लक्ष्मीनारायण यादव

आइसोलेसनमा स्रोत, साधन कम भएको डा यादवले स्वीकारेनन् । उनले नेपालदुतसँग भने, ‘यो ट्रान्जिट प्वाइन्ट हो । ज्वरो आएको छ, घर टाढा छ भने हामी राख्छौं । अक्सिजन, नेबुलाइजेसन, मोनिटर छँदै छ ।’ उनले कोरोनाको रिपोर्ट आउनसाथै उनीहरुलाई पठाइने बताए ।

अहिले सिरियस र अन्तिम अवस्थाका बिरामी आउन थालेको उनले बताए । उनले अरु ३, ४ वटा अस्पतालमा गएर त्यहाँ भर्ना नभएपछि यहाँ आउने गरेको उनले जानकारी दिए । कतिपय त मरेकैलाई त्यहाँ ल्याइएको उनले दाबी गरे । उनले भने, ‘इमर्जेन्सीले मृत घोषणा गर्दैन । यहाँ ल्याएपछि हामीले कोरोना जाँच गर्ने र डेथ सर्टिफिकेट दिने गरेका छौं ।’

यहाँको आइसोलेन मृत्यु केन्द्र बन्दा पनि सम्बन्धित निकायको ध्यान गएको छैन । अन्य रोगबाट ग्रसित र तत्काल उपचार चाहिने बिरामी कोरोना संक्रमित भए आइसोलेसनमै ज्यान जाने अवस्था हटाउन अस्पतालले गम्भीरता देखाएको छैन ।