इबरा : भाषा आन्दोलनका बौद्धिक केन्द्र

“मेरो मातृभाषा नेपाली भारतमा विदेशी रहेछ भने मेरो भाषामा मेरो कृतिको निम्ति दिइएको भारतको कुनै पनि पुरस्कार म राख्न सक्तिनँ” भनेर साहित्य अकादमी पुरस्कार फर्काउने भाषा संग्रामी थिए इबरा अर्थात् इन्द्रबहादुर राई)

भारतीय नेपाली साहित्यका शीर्ष पुरुषको ख्याति पाइसकेका इन्द्रबहादुर राई साहित्य लेखनमा मात्र होइन तर युगको आवश्यक्तानुरूप सामाजिक, भाषिक र राजनीतिक क्षेत्रमा पनि आफूलाई संलग्न र सक्रिय गराउन कहिल्यै पछि हट्दैन थिए । साठीको दशकदेखि नै दार्जिलिङ जिल्लामा ‘नेपाली’ सरकारी भाषा घोषित हुनपर्छ भन्ने दाबी लिएर सक्रिय रूपले अघि बढ़ेको ‘जिल्ला भाषा मान्यता समिति’-का मूलमन्त्री थिए इन्द्रबहादुर राई ।

गणेशलाल सुब्बा र उनको नेतृत्वमा ३१ मार्च १९६१ का दिन ‘दार्जिलिङ डिस्ट्रिक हिल पिपल ल्याङ्गवेज इम्प्लिमेन्टेसन कमिटि’- को गठन भएको थियो । जसको उद्देश्य नेपाली भाषीलाई तीन वर्षे डिग्री कोर्समा कलकत्ता विश्वविद्यालयमा समावेश गर्नु, नेपाली भाषालाई सरकारी भाषाको रूपमा मान्यता दिलाउनु अनि मुख्यमन्त्री डा. बी. सी. रोयले दार्जिलिङ जिल्लामा नेपाली भाषीहरू २० प्रतिशत मात्र छन् भनी दिएको रिपोर्टको विरोध जनाउनु आदि रहेका थिए ।

यस आन्दोलनमार्फत १९६१ को जनगणनामा सबै नेपालीहरूलाई आफ्नो भाषा ‘नेपाली’ लेख्ने आह्वान गरियो भने भाषा सचेतनाको निम्ति सभा-सङ्गोष्ठी आयोजन गर्ने र भाषा सप्ताह पालन गर्ने जस्ता कार्यक्रमहरू गरिए । यस समितिले प्रत्यक्षरूपमा नेपाली भाषाको संवैधानिक मान्यता आन्दोलन नगरे पनि दार्जिलिङ पार्वत्य क्षेत्रमा नेपाली भाषाको प्रयोग गराउन तथा नेपाली भाषाको संवैधानिक मान्यता आन्दोलनको उर्वर पूर्वाधार तयार पार्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

मेरो मातृभाषा नेपाली भारतमा विदेशी रहेछ भने मेरो भाषामा मेरो कृतिको निम्ति दिइएको भारतको कुनै पनि पुरस्कार म राख्न सक्तिनँ” भनेर साहित्य अकादमी पुरस्कार फर्काउने भाषा संग्रामी थिए इबरा अर्थात् इन्द्रबहादुर राई

सन् १९६३ मा स्थापित ‘नेपाली साहित्य परिषद’-का अध्यक्ष पनि रहेका इन्द्रबहादुर राई सन् १९७२ का दिन दार्जिलिङमा गठित ‘अखिल भारतीय नेपाली भाषा समिति’-का अग्रपंक्तिका नेता थिए । पछिबाट सन् १९७८ को १५ र १६ अप्रेलका दिन सम्पन्न्न भएको भाषा समितिको दोस्रो अधिवेशनमार्फत उनी यस समितिका राष्ट्रिय अध्यक्षका रूपमा निर्वाचित भई नेपाली भाषाको संवैधानिक मान्यता आन्दोलनलाई अघि बढ़ाउन सक्रिय रहेका थिए ।

त्यतिमात्र होइन, त्यस बेलासम्म संवैधानिक मान्यता नपाएका अन्य भाषाका प्रतिनिधिहरूको समर्थनमा गठित ‘संवैधानिक मान्यता आकाङ्क्षी भारतीय भाषा समिति’-का पनि उनी संयोजक चुनिएका थिए ।

नेपाली भाषालाई दार्जिलिङको सरकारी भाषा बनाउने दिशामा साठीको दसकमा गरिएको भाषा आन्दोलन होस् अथवा त्यसपछि संवैधानिकरूपमा नेपाली भाषालाई मान्यता दिलाउन गरिएको आन्दोलन होस्, दुवै आन्दोलनका प्रमुख बौद्धिक केन्द्र र उर्जा थिए इन्द्रबहादुर राई । ३६ वर्षे भाषा आन्दोलनमा उनको दोहोरो भूमिका थियो-आन्दोलनकारीहरूको बौद्धिक नेतृत्व र लेखकको । भाषा समितिद्वारा प्रकाशित ‘हाम्रो भाषा’-मा मात्र नेपाली भाषा आन्दोलनसित सम्बन्धित उनका २३ वटा लेखहरू प्रकाशित छन् भने नेपाली साहित्य सम्मेलनद्वारा प्रकाशित ‘दियालो’ पत्रिकामा पनि भाषा आन्दोलनसम्बन्धित उनका अनेक लेखहरू प्रकाशित भएको थाहा पाइन्छ ।

३६ वर्षे भाषा आन्दोलनमा उनको दोहोरो भूमिका थियो-आन्दोलनकारीहरूको बौद्धिक नेतृत्व र लेखकको ।

दार्जिलिङ जिल्लामा सरकारी कामकाजको भाषा नेपाली हुनुपर्छ भन्ने माग गर्ने शिष्ट मण्डलीको नेतृत्व गर्दै उनले १० अप्रेल १९६१ का दिन दार्जिलिङमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूसँग भेटघाट गरेका थिए भने नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गर्नुपर्छ भन्ने माग लिएर १५ अक्टोबर १९७२ का दिन भारतका अर्का प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेट्ने शिष्ट मण्डलीमा पनि उनी सामेल भएका थिए ।

अखिल भारतीय नेपाली भाषा समितिको अगुवाइमा श्रीमती गान्धीलाई दिल्लीमा भेट्न जाने विभिन्न राजनैतिक दल र साहित्यिक संस्थाका २४ जना सदस्यहरूमध्ये उनले नेपाली साहित्य परिषदलाई प्रतिनिधित्व गरेका थिए । १९९० मा नरबहादुर भण्डारीको अध्यक्षतामा गठित भारतीय नेपाली राष्ट्रिय परिषदका सल्लाहकार सदस्य रहेका श्री राईले नै भानेरापद्वारा दिल्लीमा आयोजित वृहत् सङ्गोष्ठीको अध्यक्षता पनि गरेका थिए ।

भारतका तत्कालीन प्रधानमन्त्री मोरारजी देसाइले ३० मई १९७९ का दिन दार्जिलिङमा “नेपाली भाषा विदेशी हो” भन्ने मन्तव्य दिएकोमा प्रतिवाद गर्दै उनले आफूले प्राप्त गरेको साहित्य अकादमी पुरस्कार पनि साहित्य अकादमीलाई फिर्ता गरिदिएका थिए । पुरस्कार फिर्ता गरेको जानकारी दिँदै उनले साहित्य अकादमीका अध्यक्षलाई पत्रमा लेखेका थिए – ‘प्रधानमन्त्री भएको मोरारजी देसाइले गत: ३० मई ७९ का दिन दार्जिलिङमा ‘नेपाली भाषा विदेशी भाषा हो’ भनेकाले समस्त भारतीय नेपालीहरू अपमानित र क्रुद्ध भएका छन् ।

तत्कालीन प्रधानमन्त्री मोरारजी देसाइले ३० मई १९७९ का दिन दार्जिलिङमा “नेपाली भाषा विदेशी हो” भन्ने मन्तव्य दिएकोमा प्रतिवाद गर्दै उनले आफूले प्राप्त गरेको साहित्य अकादमी पुरस्कार पनि साहित्य अकादमीलाई फिर्ता गरिदिएका थिए

मेरो मातृभाषा नेपाली भारतमा विदेशी रहेछ भने मेरो भाषामा मेरो कृतिको निम्ति दिइएको भारतको कुनै पनि पुरस्कार म राख्न सक्तिनँ। साहित्य अकादमी पुरस्कार मलाई दिएको (ताम्र प्रतीक र रुपियाँ पाँच हजार ) यहाँ फिर्ता पठाएको छु ।”

गोरामुमो प्रमुख सुवास घिसिङले दार्जिलिङका काङ्ग्रेस सांसद इन्द्रजीत खुल्लरलाई लगाएर केन्द्रमा गोर्खा भाषाको माग गरिरहेको समयमा घरीघरी केन्द्रले दार्जिलिङलाई पनि हेर्ने गर्थ्यो । सिक्किम, असमलगायत देशका अरू जम्मै भागहरूबाट नेपाली भाषाकै पक्षमा आवाजहरू गइरहे पनि जस्तै परिस्थितिबीच पनि त्यसबेला दार्जिलिङ चुपचाप रहनु कदापि उचित थिएन तर गोरामुमोको सन्त्रासपूर्ण एकक्षत्र शासनभित्र नेपाली भाषाको पक्षमा केही गर्नु पनि सहज थिएन ।

प्रबुद्ध लेखक, प्रखर वक्ता र प्रतिबद्ध भाषा आन्दोलनकारी इन्द्रबहादुर राई भाषा आन्दोलनको अन्तिम घड़ीसम्म अत्यन्तै सक्रिय रहेका थिए

एकातिर गोर्खा भाषाको तर्कलाई काट्नु थियो अर्कोतिर नेपाली भाषाको आवाजलाई सड़क-सड़क लानु थियो । जस्तै प्रतिकूलताबीच पनि यी दुवै काम गर्न इन्द्रबहादुर राई पछि हट्दै-हटेनन् । दार्जिलिङमा उनी नेपाली भाषाको पक्षमा दरिलो पर्खाल भएर उभिए, र’ नै नेपाली भाषाको संवैधानिक स्वीकृतिले अरू सुगमता पायो ।

प्रबुद्ध लेखक, प्रखर वक्ता र प्रतिबद्ध भाषा आन्दोलनकारी इन्द्रबहादुर राई भाषा आन्दोलनको अन्तिम घड़ीसम्म अत्यन्तै सक्रिय रहेका थिए भने २० अगस्त १९९२ का दिन भाषा मान्यता पाएपछि गीताङ्गे डाँड़ामा आयोजित विजय उत्सवमा उनकै हातबाट कतिजनालाई रसदाना बाँडिएको थियो ।