१. अहिले नेपालमा प्रायः गाउँ गाउँमा मोटरबाटो पुगेको र अधिकांशको हात–हातमा मोवाइल पुगेको छ भने बालविवाह कतै कतै अपवादबाहेक अन्त भएको छ । शिक्षा र चेतनाको विकास अनि नारी हक–अधिकार बारे सचेतता बढ्रदै गएको अवस्था छ । यसैले पहिलेझैं तीजमा माइत आउन अब भौगोलिक अप्ठेरो, सञ्चारको असुविधा र सासूको बुहार्तन खेप्नु पर्दैन र बर्षको एक दिन आउने तीजै कुर्नु पर्दैन, इच्छा र आवश्यकता अनुसार जहिलेसुकै माइत आउन र फोनबाटै कुराकानी गर्न सकिने अवस्था छ ।
२. रजस्वला जस्तो स्वाभाविक र आवश्यक प्राकृतिक प्रक्रियालाई ठूलो अपराध र पाप भन्दै (हेर्नू, ऋषि पञ्चमीको कथा र गरुडपुराण) त्यसको प्रायश्चित्त गर्न ऋषि पञ्चमीको पूजा गर्ने प्रचलन नारी–उत्पीडन र लाञ्छनाको पराकाष्टा हो । यसलाई स्वीकार्नु भनेको त्यही उत्पीडनकारी प्रचलनलाई प्रश्रय दिनु हो । यसैले यसको परित्याग गर्नुपर्छ ।
३. हरितालिकाको दिन दिनभर भोकै बसेर मनोकामना पूरा हुने कुरा अन्धविश्वास र धार्मिक पाखण्डबाहेक केही होइन । यो त अल्छी, फटाहा र सामन्तहरुले सर्वसाधारणलाई चेतनाविमुख बनाउन रचेको जाल र चालमात्र हो ।
४. भोलिपल्ट (हरितालिकाको दिन) भोकै बस्ने भएकाले शक्ति सञ्चयको लागि अघिल्लो दिनको रात दर ९दह्रो वा पौष्टिक खाना० खाने प्रचलन गरेकोमा अहिले एक–डेढ महिना अघिबाटै होटल–रेस्टुरेन्ट र समाजघरहरुमा भोज खाने–खुवाउने गर्नुले उक्त सन्दर्भसँग यस्तो भोजले कुनै तादात्म्य राख्दैन ।
यो त अल्छी, फटाहा र सामन्तहरुले सर्वसाधारणलाई चेतनाविमुख बनाउन रचेको जाल र चालमात्र हो ।
आफन्त र छोरी–चेलीहरुलाई भोज खुवाउन जुनसकै अवसर र सन्दर्भ पार्दा हुन्छ, तीजै चाहिने कुरा हुँदैन । फेरि अहिले दर खाने प्रथा फेसनका रुपमा बढिरहेको अनि गहना र लुगाको प्रदर्शन, व्यापार–व्यवसायको प्रवद्र्धन र आर्जित सम्पत्तिको आडम्बर देखाउने निहुँ पनि बनिरहेको अवस्थामा यसले उपभोक्तावादी विकृत संस्कृति मात्रै बढाइरहेको छ ।
५. पहिला पहिला तीजमा महिलाहरुले आफ्नो गाउँ–समाजको अवस्था, पारिवारिक स्थिति, भौगोलिक–प्राकृतिक अवस्था, आर्थिक–सामाजिक स्थितिलाई आफ्ना विभिन्न तीजे भाकामा उन्मुक्त भएर गाउने गर्दथे जसले नेपालको लोक संस्कृति (लोकगीत)को प्रतिविम्बन समेत गर्दथ्यो । अहिले त्यो स्थिति रहेन । हलुका, कृत्रिम, सस्तो मनोरञ्जनयुक्त र यौनजन्य गीतहरुलाई दोहोरी र महिला–पुरुष मिश्रित भएर गाउने वा रेकर्ड गरिएका गीतमा नाच्ने गरिएबाट तीजे गीतको मर्म र औचित्य अव समाप्त हुँदै गएको छ ।
यसैले तीजको औचित्य र सान्दर्भिकता अब बाँकी रहेन ।




