समुदायमा संक्रमण, रतन पाण्डेमा नियमित कक्षा

पोखरा महानगरमा समुदायमै कोरोना संक्रमण बढिरहेको छ । कोरोनाबाट महानगरमै १ जनाको मृत्यु भएको छ । केही वडा सिल गर्ने तयारी भएको छ भने पोखरा २७ को कार्यालय सिल गरिएको छ ।

यस्तो बेलामा विद्यार्थी, शिक्षकको सुरक्षालाई वेवास्ता गर्दै पोखरा १३ आर्वाको रतन पाण्डे माविले भने नियमित कक्षा सञ्चालन गरेको छ । असार १ गतेदेखि नै नियमित कक्षा चलाएको रतनपाण्डेका प्रधानाध्यापक डिल्लीराम बराल भने वैकल्पिक कक्षामात्रै चलाएको दाबी गर्छन् ।

सबै विद्यार्थीलाई समय मिलाएर अरु बेलाकै जस्तो कक्षामा राखेर पढाउने गरेको रतन पाण्डेका एक शिक्षकले बताए । उनले भने, ‘अरु बेला जस्तै कक्षामा पढाइरहेका छौं । १० बजे नै स्कुल पुग्नुपर्छ नभए बिदा लेखिन्छ ।’

प्रधानाध्यापक अमानवीय बनेको उनको आरोप छ । सार्वजनिक सवारी नचल्दा १० बजे नै पुग्न नसके बिदामा बस्नुपरेको उनले सुनाए ।

यतिमात्र होइन, रतन पाण्डेले विद्यालयलाई सहयोगको नाममा शिक्षकको तलबसमेत काटेको छ । पछिल्लो चौमासिकको तलब निकासा भएपछि ७ शिक्षकले ३ महिनाको मात्र तलब पाए । शिक्षकहरुले विरोध गरेपछि प्रधानाध्यापक बरालले पछि थप १ महिनाको तलब पठाए ।

रतन पाण्डेमा नयाँ गएका २ शिक्षकको भने एक महिनाको पूरै तलब काटिएको छ । उनीहरुलाई विद्यालयले हस्ताक्षर नगरेको सहयोग रसिद थमाएको छ । प्रधानाध्यापक बराल भने शिक्षकहरुले स्वइच्छाले नै सहयोग गरेको दाबी गर्छन् । उनले भने, ‘नियमानुसार दिनुपर्ने सबै तलब दिइएको छ ।’

बाँकी शिक्षकले भने सबै तलब आफ्नो खातामा आएपछि विद्यालयलाई रकम दिएका छन् । निजी स्रोतमा काम गर्ने शिक्षकसँग समेत १ महिनाको तलब सहयोग भनेर लिइएको छ ।

पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य महानगरको निर्देशन बमोजिम अतिरिक्त कक्षा चलाउन सकिने तर नियमित कक्षा चलाउन नमिल्ने बताउँछन् । शिक्षकको तलब त्यसरी काट्न नमिल्ने उल्लेख गर्दै उनले त्यसो भएको भए कारवाही हुने बताउँछन् ।

प्रधानाध्यापक बरालले शिक्षकहरुलाई धम्की दिनेगरेको नेपालदुतको सम्पर्कमा आएका शिक्षकहरुले बताए । एक शिक्षकले भने, ‘जे सक्नुहुन्छ गर्नुस् भन्नुभयो । सहयोग गर्नैपर्छ भनेपछि तलबबाट फेरि केही रकम दिएँ ।’

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।