लकडाउनमै बन्यो नेपालको नमुना हाँस फार्म (भिडियोसहित)

लकडाउनमा सबैजसो व्यवसाय तहसनहस भएका छन् । जनजीवन कष्टकर हुँदै गएको छ । यही संकटमा पनि आशाका किरणहरु छर्नेहरु पनि छन् ।

लकडाउनकै बेला फेवातालको सिरान पोखरा २४ लौरुकमा नेपालकै नमुना हाँस फार्म खुलेको छ । युवा व्यवसायीहरु विष्णुहरि न्यौपाने र गुरुप्रसाद पौडेलले बिजी एग्रो एन्ड ब्रिडिङ फार्म खोलेका हुन् ।

विष्णुहरिसँग वेगनासतालको आफ्नै घरमा एक, डेढ सय हाँस पालेको अनुभव थियो । लकडाउन सुरु भएपछि केही दिन घरबाट बाहिर ननिस्केका विष्णुहरि साइकलमा पामे हुँदै घाँटीछिनासम्म पुग्थे । त्यही बेला उनले फार्म चलाउन यो ठाउँ छानेका हुन् ।

फार्म सुरुआत गरेको ५ महिना भयो । अहिले नै हाँस बेच्न सुरु भइसकेको छ । विष्णुहरि भन्छन्, ‘बजारको अवस्थाबाट उत्साहित छु । चाहिनेभन्दा बढी भाले बेच्दै छौं । बजारमा मासुको खपत बढाउने र आवश्यकता परेकालाई चल्ला दिने मुख्य लक्ष्य हो ।’

उनले हाँस पोखरीमा पाल्नु र खोलामा पाल्नुमा धेरै फरक भएको तर्क गरे । उनले भने, ‘बोइलरको जसरी पाल्ने हो भने उस्तै त हो मासु । अर्गानिक खाना दिएका छौं । दिनभर खोलामा हुन्छन् ।’

यो फार्ममा अहिले २ हजार ६ सय हाँस छन् चाडै २ हजार ५ सय चल्ला थपिँदै छन् । फार्मको क्षमता भने १० हजार हाँस पाल्न सक्नेछ । यहाँ प्रत्यक्ष रुपमा ६ जनाले रोजगारी पाएका छन् ।

हाँसको बजार प्रवद्र्धन नभई सकेकाले आफैंले कन्सेप्ट बुझाउनुपर्ने अवस्था छ । विष्णुहरि भन्छन्, ‘हाँसको मासु स्वास्थ्यकर छ । बोसो, छाला पनि खान हुने हुन्छ । बोसो ओलिभ आयलभन्दा पनि राम्रो हुन्छ।’