छ त, मेरो देशमा पनि सरकार छ !

कोरोना भाइरसले स्थिति भयावह छ
अत्यावश्यक काम बाहेक
घरबाट ननिस्कन सूचना जारी गरिएको छ
आफु चाहीं साँघुरो हलमा
कार्यकर्ताहरुको भीड लगाएर
विना मास्क घण्टौं भाषण गर्छ,
दूरी कायम गर्दै
मास्कसहित प्रदर्शनमा उत्रेकाहरुलाई
पक्राउ गरेको समाचार
बेलुकी टेलिभिजनको पर्दामा हेर्दा
मेरी नातिनी खुशीले उफ्रदै भन्छे-
छ त, मेरो देशमा पनि सरकार छ ।

स्मार्ट सिटीको कुरा गर्छ
सरकारी कार्यालयमा
महँगा डिजिटल इक्युपमेण्टहरु
खरिद नियमावली मिच्दै किन्छ
लाखौं खर्च गरेर
वेव साइट र सफ्टवेयरहरु निर्माण गर्छ
मन्त्री, सचिव र सूचना अधिकारीका फोटोहरु अपलोड गर्छ
कामको लागि कार्यालयमा सम्पर्क गर्न भन्छ, र
वेवसाइटको माथिल्लो भागमा आउने स्क्रोलमा
भ्रष्टाचारीलाई वहिस्कार गरौं, र
म भ्रष्टाचार गर्दिन भन्ने वाक्य दोहोरिरहेको हुन्छ, तर
सरकारी कार्यालयहरुमा
जडान भएको दिनदेखिनै नचलेका डिस्प्ले बोर्डहरु
धूलो भरिएका र तार टुटेका स्क्रिनहरु
अध्याँरा कोरिडर
साँघुरा काउण्टर
सेवाग्राहीका अन्यौलग्रस्त भीड, र
नूर गिरेका रुखा कर्मचारीका
पछाडी पट्टी रहेको सूचना पाटीमा
वर्षौंदेखि नझिकिएका सूचनाहरुको बीचमा टाँसिएको
भिसिआर र सर्भर विग्रिएको सूचना सहितको स्थलगत रिपोर्ट
बेलुकी टेलिभिजनको पर्दामा हेर्दा
मेरी नातिनी खुशीले उफ्रदै भन्छे-
छ त, मेरो देशमा पनि सरकार छ ।

कोरोनाको कहरमा विश्र्व अस्तव्यस्त छ
देशको अर्थतन्त्र तहसनहस छ
मानिसहरु काम नपाएर अलपत्र छन्
देश वाहिर फसेकाहरु
विदेशमा अलपत्र छन्, तर
तालिम र रोजगारीको भाषण
नेताहरुका साँडे जुधाईको प्रहसन
महँगा र विलासी गाडीहरुको लश्कर
काला शिशा भएका गाडीभित्रका मानिसहरुको
वालुवाटार र भैंसेपाटीतर्फ ओहोरदोहोरको दृष्य
बेलुकी टेलिभिजनको पर्दामा हेर्दा
मेरी नातिनी खुशीले उफ्रदै भन्छे-
छ त, मेरो देशमा पनि सरकार छ !

गाईजात्रा विशेष

राजधानीका सडकहरुमा
साइरन बजाउँदै
एम्बुलेन्सभन्दा बढी प्राथमिकताका साथ
दौडिरहेका गन्तव्यहीन
सरकारी गाडीहरु देख्ने
जो कोहीलाई लाग्छ-
यो देशमा सरकार छ
प्रधान सहित मुख्यमन्त्री, र
अरु थुप्रै मन्त्रीहरु पनि हुनुहुन्छ,
सरकारी कोषमा बाँचेका
पदाधिकारीहरु हुनुहुन्छ, र
चिडियाखानाभित्रका खोरहरुमा रहेका
मानिसहरुद्वारा नियन्त्रित
हिंस्रक र शान्त दुबैथरी जस्तै
संसद नामको कुनै स्थान विशेषमा बस्ने गरेका
पार्टीहरुद्वारा नियन्त्रित
हिंस्रक र शान्त दुबैथरी
मनोरन्जनका प्राणीहरुलाई
बेलुकीको समाचारमा टेलिभिजनको पर्दामा हेर्दा
मेरी नातिनी खुशीले उफ्रदै भन्छे-
छ त, मेरो देशमा पनि सरकार छ ।

म चाँही मनमनै भन्छु –
सरकारी कोषको ट्याबलेट खाएर उत्तेजित
शत्ता र शक्तिका लागि आतुर निर्लज्जहरुको
घिनलाग्दो र डरलाग्दो लश्कर पनि छ
हो मेरो देशमा पनि सरकार छ, तर
सर्वाङ्ग नाङ्गो तर लाज नभएको
छ त, मेरो देशमा पनि सरकार छ !

२१ साउन २०७७