भास्करका ‘मगर काका ‘ कथा सङ्ग्रहको समाजशास्त्रीय अध्ययन

१.विषयारम्भ

प्रा डा भवानीप्रसाद पाण्डे ‘ भास्कर ‘ (१४ बैशाख २००४ गल्कोट बागलुङ /हाल नयांबजार पोखरा ) नेपालीप्रगतिवादी साहित्य समालोचना र माक्सवादी दर्शन संस्कृतिका क्षेत्रमा परिचय दिइरहनु पर्ने नाम होइन । ‘पारिजातका उपन्यासमा समाजवादी यथार्थवाद ‘ विषयमा विद्यावारिधि गरेका पाण्डे साहित्यमा भास्करका नाममा परिचित छन् । समालोचना क्षेत्रमा ‘नेपाली खण्डकाव्यका केही पक्षहरू(२०३८), मान्यता मुल्याङ्कनर स्पष्टीकरण २०५६), प्रगतिवादी नेपाली उपन्यासको इतिहास (२०६०),पारिजातका उपन्यासमासमाजवादी यथार्थवाद(०६४) , कथाबिधामा पिशाचको कसौडी(२०४२), चोरबत्ती (०५४),स्मृतिका पानाहरु(०५७), नयाँ गीत (०६७) ,जस्ता चारवटा र दुईवटा किशोर कथासङ्ग्रह -गिद्धको निम्तो (०७१),टाउकाकोखोजी (०७१) गरी छवटा र उपन्यास विधामा हाँडीका कनिका (०४४),बन्दी आवाज (०४६),अमरवस्ती(०५३),अचम्मको फैसला (२०५६),समर्पण (०५७),पाँच उपन्यास ,रातोवेद (०६७)गरी ६ वटा उपन्यास र रातो बेद (०६७,कविता सङ्ग्रह )गरी भास्करका १८ वटा प्रगतिवादी सशक्त विचार चेत बोकेका कृतिहरु प्रकाशित छन् । प्रगतिशील र प्रगतिवादी साहित्यमार्फत श्यामप्रसाद शर्मा, गोकुलजोशी, पारिजात, केवलपुरे किसान, चैतन्य, रामप्रसाद अधिकारी, जनकप्रसाद हुमागाई , कृष्ण सेन इच्छुक आदिकै बाटो समाउने पोखरामा केही छन् ।

समकक्षी हुँदैमा विचारले लिड नगर्ने कुरा मुख्य रहन्न । पाण्डेका बैचारिक प्रहार र सङ्गतले पोखरामा तर्सने र सुध्रने पनि धेरैछन् । घनश्याम ढकाल, भास्कर, कुलप्रसाद खनाल,र विलाल अधिकारी, नुमराज बराल, लोकबहादुर थापा,दीर्घ पाण्डे , कृष्णराज अधिकारी, पशुपतिनाथ तिमिल्सेना, परशुराम कोइराला, नारायण परिश्रमी, नारायण मरासिनी,प दमराज ढकाल,कल्पना चिलुवाल, यादवराज उपाध्याय, लोकनाथ पुडासैनी, बिपि बिद्रोही, संजीब कोइराला ( मोहन/मातृका) ,छवि सुवेदी, याम राना, शोभाकान्त गौडेल हुँदै धेरै देखिन्छन् । दर्शन चेतनाका सिंहजुरो नबुझ्ने नछुट्याउनेले पाण्डेका विरोध गर्ने पनि सुनिएकै छ ।

ती मध् यमार्क्सवादी विचारचेतनाका दृष्टिले भास्कर धेरैका असल साहित्यिक चेतनाका अभिभावक मानिन्छन् ।घनश्याम ढकाल र भवानी पाण्डे ‘ भास्कर ‘ का भूमिका पनि पोखरेली सेरोफेरोका प्रगतिशील साहित्य संस्कृतिका फाँटलाई उर्वर बनाउन सानो थिएन । पुराना पुस्तामात्रै नभएर नयाँ पुस्ताका सर्जकहरुका मूल्याङ्कनले पनि यी कुराका सङ्केत गरेकै छन् । पोखराका साहित्यकारहरूका साहित्यिक प्रवृत्तिहरू कोट्याउने क्रममा संजीव कोइराला ( मोहन/मातृका)ले आफ्नाकृति जिन्दगीका सत्ताइस वर्षभित्रको अन्तरकथामा ( पृ.१८,२२,२३ …) मा सङ्केत गरेसम्मका विषयले पनि पाण्डे र ढकालका प्रभाव युवापुस्तासम्मै साना देखिन्नन् । गलत र असभ्य राजनीतिबाट सिर्जिने सबैखाले गलत संस्कृति,अमानवीय व्यवहार र समाज तथा राष्ट्रविरोधी व्यवहारका खरो र निडर,दरो कटु आलोचकका रुपमा पनि भास्कर चिनिन्छन् ।

१-१ .विशेष फरक प्रवृत्ति : धेरैलाई छोट्याएर पढ्न बुझ्न र समग्रतालाई संक्षिप्तमा पनि प्रभावकारी रूपले व्यक्त गर्न सक्ने पाण्डे अरुले भने गरेका कुरामा कहिल्यै चित्त नबुझाउने द्वन्द्वात्मक चेतनाले परिपक्व पाका साधक हुन् । हरेक कुराका पछि रहष्य र कारण खोज्ने कडा आलोचक पनि मान्छन् धेरैले । खुला, स्पष्ट रपारदर्शी होऊ भन्ने माओकै जस्तो प्रभाव शैलीमा लागेदेखेका कुरा रिसाओस् खुसाओसका प्रवाह नगरी प्रष्ट रूपमा राख्नु भास्करको पृथकपन हो । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने र सत्य प्रष्ट बोल्नेहरुप्राय हाम्राजस्ता कुरा चपाउने समाजमा सर्वप्रिय हुँदैनन् र पनि चाटुकार प्रवृतिका घोरविरोधी पाण्डेलाई यसतिर वास्तै देखिन्न ।

खुला, स्पष्ट रपारदर्शी होऊ भन्ने माओकै जस्तो प्रभाव शैलीमा लागेदेखेका कुरा रिसाओस् खुसाओसका प्रवाह नगरी प्रष्ट रूपमा राख्नु भास्करको पृथकपन हो ।

१-२-‘मगर काका ‘ कथा सङ्ग्रहबारे

भास्करका सबै विधाका १८ कृतिमध्ये कथा साधनाको सातौं सङ्ग्रहका रूपमा अलि फरक र उपन्यास शैलीमा आएको यो समाज शास्त्रीय कथा सङ्ग्रह हो । विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ले यसको प्रकाशन अभिभारा निभाएको छ । कुल १४४ पृष्टमा मगर काका, एनजीओ सर, सार्की दाइ, साधु बाजे , पिछडापन शीर्षक गरी सङ्ग्रहमा पाँच शीर्षक (पाँच खण्ड)छन् । पाँच खण्डका पाँचै कथा फरक स्वादकाछन् । संस्कृति,संस्कृतिको इतिहास, वर्ग इतिहास, राजनीति र एनजिओ ,आइएनजिओ संस्कृति रराजनीतिमा तिनका प्रभाव जातीय संङकीर्णता चिरफार गर्छन् कथाहरूले । नेपाली समाजका विद्यमानअन्धविश्वास, कुरीति विरूद्ध सशक्त धावा बोल्ने यो सङ्ग्रह वर्ग आन्दोलन, राष्ट्रिय एकता, राष्ष्ट्रियस्वाभिमान, जातीय, क्षेत्रीय,भाषिक,धार्मिक बिविधतालाई सम्मान गर्ने सङ्ग्रह हो ।

अन्धविश्वास, कुरीति,मानवीय विभेद आदिका विरुद्धका चेत यसमा सलबलाएको छ । ढाँचछल गद्धारी गर्ने ,विचारलाईतिलान्जली दिनेप्रतिका आक्रोस कथामा छ ।बर्तमान कुरूपताप्रति वितृष्णा छ । बर्गीय चेतना, वर्गीयसङ्घर्ष र रुपान्तरणकारी विज्ञान, मार्क्सवादी शिक्षा आदिलाई एनजिओवादीहरुबाट भ्रष्टीकरण भएकामाकथाका पात्रहरु दुखी देखिन्छन । चोरबाटोबाट मार्क्सवादका विरोध गर्ने उत्तरमार्क्सवादी र नवमार्क्सवादीहरुका सशक्त विरोध यसमा भएको छ ।जातीय सङ्कीर्णता ,छुवाछुत आदि जघन्यसामाजिक अपराध हो । भास्कर यो विषयमा सचेत छन् । भास्करका अन्य १७ वटा कृतिहरुलाई छोडेरसङ्ग्रहका (मगर काका) भित्रका पाँचवटा कथाका विविध पक्षलाई विविध कोणबाट सामान्य चर्चा गर्नेप्रयत्न यसमा गरिएको छ ।

१-२-१ रूपान्तरित यथार्थ प्रेम

संङ्ग्रहको पहिलो कथा हो मगर काका । सङ्ग्रहका पाँच कथामध्य बर्गसमाज इतिहासको सुन्दर समीक्षा, पाकाहरुका सम्मान भाव , ग्रामीण जीवन पद्धधि,संस्कति, सानै उमेरका विवाह चलन, जन्तमलाम , मेलापात, भावनात्मक नाता सम्बन्धजस्ता सामाजिक र मानवीय सहयोग र सहाराका चित्रहरु यथार्थ रूपमाआउँछन् कथाहरुमा । पाठकमा सामाजिक भाव संवेदना उर्लाउँछन् घटनाहरुले ।

नेपाली समाजका विद्यमानअन्धविश्वास, कुरीति विरूद्ध सशक्त धावा बोल्ने यो सङ्ग्रह वर्ग आन्दोलन, राष्ट्रिय एकता, राष्ष्ट्रियस्वाभिमान, जातीय, क्षेत्रीय,भाषिक,धार्मिक बिविधतालाई सम्मान गर्ने सङ्ग्रह हो ।

यथास्थिति र नवीनताकादोसाँध र द्वन्द्व यथार्थ ,बाहुन क्षेत्री,मगर आदिका मिश्रित बस्ती, सधैं रमाइला नवीन र नयाँ कुरा गर्ने मगरकाकाका पाकेका उमेर अनुभवहरु सुन्न लायक छन् । उनका अनुभवहरु नेपाली समाजकै प्रतिनिधिमूलक अनुभवहरु हुन । वाल्यकालदेखिका स्मृतिमा कथाकार डुबेका छन् । जुन, पाठकका लागि प्रेरक बन्छन् । मगरकाका लगायतका पात्रले भोगे बाँचेका समाजसन्दर्भ बीसौं एक्काइसौं शताब्दीका लागि प्रेरकनिर्देशिका जस्ता लाग्छन् धेरैलाई ।

१-२-२- उपयोगिता सन्दर्भ

गतिशील र बौद्धिक विकासका लागि भास्करका प्राय कथाहरू नवीन धारणा निर्माणमा उपयोगी लाग्छन्। यो लेखकमा हुनुपर्ने विशेषता पनि हो । कक्षाकोठा होस वा अन्य सन्दर्भ, भेटघाटमा हामी ०४८/४९ सालदेखि लगभग निरन्तरजस्तै छौं । गण्डकी साहित्य सङ्गम ,प्रगतिशील लेखक सङ्घ ,अखिल नेपालजनसांस्कृतिक सङ्घ/महासङ्घ ,चितवन, स्याङ्जा, गोर्खा, तनहुँ, काठमाडौं, पोखरा सेरोफेरो र गसासका गणतान्त्रिक कविता महोत्सवका गाउँजागरण अभियानहरू हुन् वा पाल्पा र घान्द्रुकमा सम्पन्न नेपालबालसाहित्य समाजका अन्तरङ्ग कार्यक्रम आदि अनेक संघसंस्थाका कार्यक्रमहरूमा संगसगै हुँदाकाअनुभवहरूले पनि पाण्डेका वैचारिक प्रष्टता र गुरूभूमिका आदरयोग्य लाग्थ्यो ।

यो नयाँ पुस्तासम्मका धेरैलाई लागिरहेका विषय पनि हो । दास चिन्तनका घोरविरोधी पाण्डे यस कथामार्फत दासप्रथा समाप्तै गर्नुपर्छ भन्दा संसारै अन्धकार हुन्छ भन्ने र दासहरु मुक्त भए कसले काम गरिदिन्छ ठान्नेका मनोविज्ञानलाई दर्शाउन मगरकाका पात्रलाई प्रयोग गरेका छन् । मानव वली र बोक्सीका कुप्रथा , पछौटेपन , उत्पीडन, सामाजिक खरावीविरुद्ध पाठकहरुलाई गम्भीर पारिदिने असाधारण कथानकका प्रयोगमार्फत कृषियुगदेखिका जातीय र सांस्कृतिक समाज यथार्थ यसमा छ । हुन तभास्करका अन्य कृति र कथा उपन्यासहरु पनि वौद्धिक र पात्र जीवनका विगतवर्तमान भोगाइ यथार्थ जीवनवेसमा आधारित छन् । रूपान्तरणमा जोडिएका काव्य तथा आख्यानात्क कृतिहरुका महत्व सानाहुँदैनन् ।

भास्कर धर्म,संस्कृति, राष्ट्रवाद , बर्गप्रेम र देशभक्तिका विषयमा पनि सामान्य पात्र माध्यमबाट सवक सिकाउँछन् । आर्य र द्रविड युद्ध सन्दर्भ , द्रबिडका हार र खण्डखण्डमा बिभाजित द्रबिड चेतनाका लाभ उठाउने आर्यहरुका सांस्कृतिक प्रभुत्व र सहअस्तित्वका सङ्कट ,निर्बलियामाथिका उत्पीडन यथार्थ पनि पिछडापन र अन्य कथामा पनि आएका छन् । नवीन सोच र व्यवहारिकता विनाका लोखर्के कुदाइ रपरादेशमै नाच्ने उफ्रने यतिन्जेलका नेपाली चलनप्रति व्यङ्ग्य गर्छन् कथाहरुले । मानव विकास इतिहासदेखि अहिलेसम्मका समाज,संस्कृति र दर्शनसमेतका समग्रतालाई पाँचवटा कथाका माध्यमबाटसमाज शास्त्रीय सन्दर्भबाट देखाउने उद्धेश्य यो सङ्ग्रहको देखिन्छ ।

कथा शिल्प शैली तहमा सामाजिक र मानवीय संवेदना तहलाई मिसाउने नवीनताप्रेमी कम सर्जकहरुमध्य भास्करका कथा पर्छन् प्राय ।

मगर काका , एनजिओ सर ,सार्कीदाइ ,साधु बाजे सशक्त वैचारिक कथा मानिन्छ । अन्य कथाका तुलनामा पिछडापन कथाका राजनैतिक,सांस्कृतिक प्रश्नहरु सोचनीय छन् । कथा शिल्प शैली तहमा सामाजिक र मानवीय संवेदना तहलाई मिसाउने नवीनताप्रेमी कम सर्जकहरुमध्य भास्करका कथा पर्छन् प्राय । सभ्य भनेको विनयी, शिष्ट र भद्रदेख्छन् कथाकार । पिछडिनु भनेको नेपाल एकीकरणदेखि जनयुद्ध सन्दर्भसम्मका रमणीय यथार्थ कथामाछ । जीवन भनेको आफ्नालागि कम र समाजकै लागि बढी देख्छन् कथाकार ।

१-२-३-बर्ग समाजको सुन्दर चित्रण

ग्रामीण बर्ग समाज र वर्गीय जीवनका सौन्दर्य यथार्थ बर्णन, सामाजिक र नैतिक सङघर्ष ,बृद्ध मगरकाका रबृद्ध बूढी मगर्नी सँगै बसेका अवस्था र परिस्थितिबाट कथाकारका मनमनस्थितिमा उत्पन्न द्वन्द्व र उब्जेकाअनेक प्रश्नहरु मगर काका ( पृ.५- ४८ )कथाका आम पाठकका पनि प्रश्नहरु हुन् । प्राय सबै कथामा नयाँ संस्कार र परम्पराभन्दा भिन्न अवस्थाको खोजी देखिन्छ । जनयुद्ध असफल भएपछि दलितहरुसंगकाविहेवारी ,पुरानै वर्गका पूजापाठ ( सार्की दाइ ,पृ.७९ ) पुरातनी बाध्यात्मक सांस्कृतिक स्वीकारोक्तिका सामाजिक मनोधरातलका चित्रण सहित रमणीय सौन्दर्य खोज्छन् कथाकार ।जीवन भनेको अभिमानकालागि होइन देख्छन् उनी । कथाका पात्रहरूका मानसिकता त्यस्तै देखिन्छ । प्रयुक्त पात्रहरू मापरम्पराप्रतिका मोह देखिन्न ।बैराग्य,मोक्ष, पुनर्जन्मका ‘साधुवाद ‘कथाका सन्दर्भहरु ( पृ.१२५ )आधुनिकमानवका लागि सोचनीय बनेका छन् ।

अयोग्यहरूले योग्यहरुका रिस गर्ने समाजमा राम्राहरुलाई कठिनहुनु स्वभाविक हो । वर्णाश्रमवादी आर्यहरुका सन्दर्भ, उपनिवेशवादी निरन्तर दासता र प्रभुत्व,हिटलरकाराष्ट्रवाद सन्दर्भ ,शासक प्रवृति, जातजातिबीचका यथार्थता ,इतिहास समीक्षा,द्वन्द्व, वर्ग अन्तरविरोध , सङ्घर्ष, निष्ठाहिनताका परिणाम सहिदका अवमूल्यन आदिलाई सामान्य चरित्रमार्फत सङ्ग्रहमासामान्यीकरण गरिएको छ । समाज बुझ्ने, मार्क्सवादी,लेनिनवादी, माओवादी सौन्दर्य आलोकपूर्ण विचारबोक्ने, त्यसलाई संरक्षण गर्ने , राष्ट्रियतावोधसहित सामाजिक समस्याहरु हल गर्ने, हरेक कुरालाईद्वन्द्वात्त्मक रूपान्तरणका आँखाबाट हेर्ने विश्लेषण गर्ने ,परिवारदेखि राष्ट्रका चिन्ता गर्नेहरुका मूल्य खोजीगर्ने धेरै मध्य प्रा.डा. पाण्डे (भास्कर )का लेखन यस सङ्ग्रहमार्फत सबैजसो कथामा अरू सरल,समृद्ध,प्रभावकारी र परिष्कृत देखिन्छ । बर्ग,जातजाति र मधेश फुटाउन एनजिओ,आइएनजिओले साम्राज्यवादीप्रतिक्रियावादी रक्षाकवच बनेका ( एनजिओ सर,पृ.६५ ) दृष्टान्तहरुले पनि पाठक लाभान्वित छ ।बर्तमानका जाति,जनजाति, दलित यथार्थ,बाहुनवादका परिणाम आदि दर्शाउने सार्की दाइ कथामा ( पृ.७१-१०१) मानवताका खोजीसहितका संवेदनात्मक विषय उठेका छन् ।

१-२-४ -नाता,माया ,मानवीयता र नैतिकता

बर्ग समाजमा वर्गीय नाता, वर्गप्रेम,मानवता र सामाजिक तथा वर्ग नैतिकताका आदर्शलाई पात्रमार्फत नै बोल्छन् पाण्डे । मगर काका र बूढी मगर्नीका प्रसङ्ग झट्ट हेर्दा समाजमा पच्दैन र पनि सहाराका खाँचो तपर्छ सबैलाई ।एक्लो जीवन चल्न मानिसलाई कठिन छ देखाउँन कथा सार्थक लाग्छ । साथीकै सम्बन्धमारहँदासमेत समाजका दृष्टि भने पुरातनी छ । यी सब सांस्कृतिक चेतनाकै परिणाम हुन् ( मगर काका पृ.५- ४८ )।

एनजिओ र तिनका उद्धेश्यसंग जोडिदै आएका नियत परिणाम ,सर्वहारा क्रान्तिविरोधी हमला, सत्ताका कमिसनमोह ( पृ.४९-७०) आदि , दलित मानवप्रतिका हेयपूर्ण सांस्कृतिक निरन्तरता ( सार्कीदाइ,पृ.७१ -१०१ ), साधु बाजेसंगका एकान्तस्थलका भेट, प्रकृति प्रेम ,आर्थिक, सामाजिक अवस्था , मानवतथा मित्रप्रेम, नैतिकता र धर्मराजका सन्दर्भ आदिसंग जोडिएका सन्दर्भादि ( पृ.१०२- १२८) आम पाठककानिम्ति मननका विषय बन्न पुगेका छन् ।

१-२-५- ईश्वरप्रतिका नवीन दृष्टि

बुढ्यौली एक्लो जीवनमा ईश्वरप्रति आस्था र विश्वासका सहारा नलिए बाँच्नै सकिन्न भन्ने मगर काकाकथामा पनि प्राकृतिक सौन्दर्य हिमाल ,हरियाली,छाँगा छहरा,मन शान्त पार्ने सौंन्दर्य वरदानलाई ईश्वरमानेका छन् । यो चिन्तन पनि नवीनजस्तै लाग्छ ।ईश्वर नमान्नुका अर्थ प्रकृति नमान्नुका निष्कर्ष पनिपहिलो खण्डमै देखिएको छ । प्रकृतिपूजकलाई असभ्य र पिछडिएका आदिवासी बुझ्ने सहरी दृष्टिलाईसुन्दर सत्य नचिन्ने दृष्टि मानिनुमा पनि नवीनता छ । मानिस प्रकृतिबाट अलग हुन सक्दैन ।मगरकाकाजस्ता स्वाभिमान र आत्मनिर्भर मुख पात्रमार्फत प्रकृतिलाई ईश्वर देखिएको छ । मूर्ति,फोटा,व्यक्ति सर्वोच्चतालाई स्वीकार गर्दै ईश्वर अन्ध र कर्मकाण्डी समाजमा अतिशयोक्ति रुपमा ईश्वरीयधारणा हुर्किएको बेला समाजलाई सवक सिकाउँछ यो कथाले ।

मानिसलाई मुर्ख बनाउने,अन्धविश्वासी,हिजोदेखिनै मानव जातिलाई पिछलग्गु पार्ने काम पनि कतिपयधर्महरुले गरे ,गरिरहेछन् ।

कृतिपूजक जनजाति र आदिवासीप्रतिनिधि मगरकाकामार्फत व्यक्त विचार , हिन्दू,मुस्लिम,क्रिश्चियन,बुद्ध आदि धर्मसम्प्रदायगतदृष्टिसमग्रतालाई नयाँ रूपमा देखिनु पर्नेमा पनि कथाकार सजक छन् । ईश्वर र धर्मप्रतिका मगरकाकादृ्ष्टकोण नवीन छ (मगरकाका,पृ.५-४८)। यो आजका आम धर्मभिरु बौद्धिकहरुका लागि चुनौतिका विषयपनि हो । क्रान्ति र परिवर्तन कसरी हुन्छ भन्ने नेतृत्व अनभिज्ञताका सामु प्राकृतिक जीवन बाँच्न गौरव गर्ने मगरकाकाहरु जस्ता पात्रका सोच, तिनका जीवन शैली ईश्वरीय जीवन शैलीभन्दा कमजोर देखिदैनन् । मानिसलाई मुर्ख बनाउने,अन्धविश्वासी,हिजोदेखिनै मानव जातिलाई पिछलग्गु पार्ने काम पनि कतिपयधर्महरुले गरे ,गरिरहेछन् । रामायण,महाभारत,पुराणहरुका सोच पनि हाम्रा थिएनन् । आयातीत थिए ती ।अतिक्रमणकारी कै पछि लाग्दै ‘काम गर, सोच्ने काम नगर …’ भन्ने गीतावादी जस्तै भैसकेका लाग्ने नेपाली पाठकका लागि यसले राम्रै सन्देश दिने लाग्छ ।समाजमा जे जति चलन र धर्मविशेषताहरु छन् ती सबैमानव चलन सिर्जनाहरु समयसापेक्ष परिवर्तन हुन सक्ने हुन् र पनि चरम अज्ञानता, भेंडाप्रवृति र हुवीखुवीअभावमा आत्मा -परमात्मा, ईश्वर,बुद्ध, अल्लाह, भगवान,प्रभू आदिका पछाडि समाज दौडिरहेको देखाउँछयो कथाले ।

लोकमुखी हुने कि परलोकमुखी हुने ? हिन्दू,क्रिश्चियन,यहुदी,बोन ,केन्टम ,आर्य अनार्य आदि धर्महरु पनिप रलोकमुखी धर्महरु हुन् भन्ने सिकाउन मगरकाका जस्ता पात्रहरुका उपस्थिति सङ्ग्रहमा सार्थक देखिन्छ । ‘भगवान भनेको सम्पन्नता हो । स्वर्गका अर्थ सुख हो ।धन,पद,मान,ज्ञान, सम्मान सबैकुराले सम्पन्न हुनलोकवासीहरु कहिल्यै नसक्लान् ।परलोकी विश्वासमा मान्छे देखिनुका कारण पनि यही हुनु पर्छ ‘ भन्नेमापनि पाण्डेका पात्र सजक देखिन्छन् ।

१-२-६ बौद्धिकहरुमाथि मगर काकाका चुनौति

मगर काका र ‘म’ कथाका मुख्य पात्र देखिन्छन् । ‘म’ पात्र(कथाकार) कथामा प्रश्नकर्ता हुने र पात्रहरुबाट कथाकारले चाहेकै उत्तर दिने काम पनि कथामा भएको छ ।मगरकाका जनजातिकाप्रतिनिधित्व गर्ने सचेत र प्रगतिशील समाज चाहने गतिशील पात्र हुन् । उनी कथाकारका मुख पात्र पनि हुन्। वर्णाश्रमभित्रका बाहुन,क्षेत्री, वैश्य, शूद्र , तिनका जीवीका चलन , संसारका आआफ्ना नियममा चलेकाअन्य धर्म सम्प्रदाय र पुर्खादेखिकै जातीय जीवीका चलन , आदिम जनजातिहरुका इतिहास र परम्पराचलन, शासकहरुका चलन ,पृथ्वी (धर्ती) सिंगार्ने बनाउने र बिगार्नेदेखि पशुपङ्क्षी , जङ्गली जनावरकीटजगतसम्मका अज्ञानता, अन्धविश्वास, कुसंस्कार, प्राचीन शिकारी पुर्खाहरु , टुनामुना,जादु , मन्त्र,परलोकी पूजक र प्रकृतिपूजक र जडिबुटी, झारफुकलाई लोक चिकित्साजस्ता आयातीत यावत सन्दर्भकाकुरामा मगर काकाजस्ता पात्रहरुलाई सचेत देखाइनु , अन्धविश्वास र कुसंस्कारका दलदलबाट मुक्त हुननसकेका नेपालका बौद्धिक वृत्तकै लागि पनि ठूलै चुनौति हो ( मगरकाका : ५- ४८ )।

नेक अनुष्ठान, पुर्खाका अंश र हंस जोडिएका भूतप्रेत सन्दर्भ,अँगेनो र प्रकृतिलाई देवता मान्ने मगर जातिका रोचक इतिहास परम्परा सन्दर्भ पनिपाठकका लागि रोचक विषयहरू मानिन्छन् ।

जनजातिका आदिमकालीन इतिहास बुझ्न पनि सङ्ग्रह उपयोगी लाग्छ । अनेक अनुष्ठान, पुर्खाका अंश र हंस जोडिएका भूतप्रेत सन्दर्भ,अँगेनो र प्रकृतिलाई देवता मान्ने मगर जातिका रोचक इतिहास परम्परा सन्दर्भ पनिपाठकका लागि रोचक विषयहरू मानिन्छन् । दक्षिणतिरबाट खस आर्यहरुका पेलान, उत्तर चीनतिरबाटबोन धर्मावलम्बीहरुका पेलान , आर्यनहरुलाई राम्रा र गतिला कुरा देख्नै नहुने रोचक ऐतिहासिकसूचनाग्रहण निम्ति पनि सङ्ग्रह नवीन र उपयोगी देखिन्छ । यथास्थिति परम्परा र आधुनिक नवीनताबीचद्वन्द्व चलिरहेका बेला अन्य एनजिओ सर,सार्की दाइ, पिछडापन , साधु बाजे जस्ता कथाहरु पनि बैयक्तिक लाभआर्जनका भोकले ग्रसित आजका वौद्धिक विमर्शहीन र निष्कर्षच्युत अर्थपिपासु वौद्धिकजगतका लागि नै चुनौति र व्यङ्ग्य त बन्छन् नै ।

२- जीवन र जगतप्रतिका विश्वास

भास्कर अदित्तीय प्रतिभा क्षमता भएका मालेमावादी आदर्श प्रभावित स्रष्टा हुन् ।चैतन्य, निनु चापागाई, ईश्वरचन्द्र ज्ञवाली , हीरामणि दुखी ,जगदीशचन्द्र भण्डारी, जीवेन्द्र ,अमर गिरी ,इस्माली, ताराकान्त पाण्डे, मित्रलाल पंज्ञानी आदि सयौंका लामो सङ्गत अनुभव भएका स्रष्टा पनि भएका कारण क्रान्ति परिवर्तनमा कुनै सौदावाजी नहोस ठान्ने र आफू पनि त्यो बाटोमै निरन्तर रूपमा समाहित हुने, मालेमावादी विचार राजनीति बुझेका र राजनीति गरेका सशक्त रुपान्तरणमुखी चेतनास्तर भएकावैचारिक रूपमा पराजीत हुन नजानेका अनुभवी पाका ,वौद्धिक र आदर्श अभिभावक पनि हुन् ।

३-कथाहरूका भावभूमि

सामाजिक यथार्थमा आधारित मगरकाका जस्तै खण्ड दुईका ‘एनजिओ सर ‘ शीर्षकका कथा कर्णाली,जुम्ला,खलङ्गा , गमगढी , राराताल सेरोफेरो,त्यहाँको जनजीवन,प्रकृति, एनजिओमा काम गर्नेआफ्ना पुराना साथी र अहिले अमेरिका बस्ने गुरुसंगका भेट, उनैका सहयोगमा पाएका रहष्यमय प्रोजेक्ट आदिका सन्दर्भ परिवेशबाट शुरु भएको कथा हो ।तेस्रो विश्वका असन्तुष्ट जनताहरुलाई धार्मिक, लैङ्गिक,जातीय क्षेत्रीय अन्धपरम्परावादी, पहिचानवादी, साम्प्रदायिक सङ्घर्षमा मोड्ने र जनतामा भ्रमसिर्जेर उत्पीडक शासकहरुका रक्षाकवच हुने यथार्थलाई कथाले चित्रण गरेको छ ।वास्तविक जनाधिकारसम्बन्धित आन्दोलनलाई नष्ट गर्ने र खण्डित , उपखण्डित सौन्दर्यमा रम्ने रमाउन लगाउने एनजिओ, आइएनजिओ संस्कृतिका धज्जी उडाउन कथा सफल देखिन्छ ।साम्राज्यवाद, पुँजीवाद,दलाल भतुवापुँजीवादका तलुवा चाटेर वामपन्थी आन्दोलनमा जोडिएकै पात्रहरुबाट गरिव उत्पीडित देशमा आकर्षकनारासहित साम्राज्य कायम गर्ने नियत आदिका उद्घाटन गरिएको छ ।

उत्तरमार्क्सवादी र नवमार्क्सवादीहरू जात,लिङ्ग र क्षेत्रीयताका कुरा गर्छन् र नवसामन्तवादका भतुवा र तिनकावफादार पोष्यपुत्र भएर सारमा जनक्रान्तिविरोधी हुन्छन् र हुँदै आए ।

माक्सवाद बर्ग एकता खोज्छ । उत्तरमार्क्सवादी र नवमार्क्सवादीहरू जात,लिङ्ग र क्षेत्रीयताका कुरा गर्छन् र नवसामन्तवादका भतुवा र तिनकावफादार पोष्यपुत्र भएर सारमा जनक्रान्तिविरोधी हुन्छन् र हुँदै आए । एनजिओका चरित्र विचारधाराकाअन्त्य ,उपभोक्तामुखी, बजारमुखी , समावेसी, कल्याणकारी राज्यव्यवस्था , उपनिवेशवादी , वहुलवादी, अनिश्चयवादी चिन्तन ,ससाना राहत,विकास आदिमा समाजलाई अल्मल्याएर मुक्तिकामी जनताकाक्रान्तिकारी आन्दोलन र त्यसप्रतिका मोह आदिलाई भ्रष्टीकरण गर्नु हो भन्ने यथार्थमा कथा केन्द्रीत छ। जुन नेपाली क्रान्तिले पटक पटक धोका खाएका यथार्थसंग मिल्छ नै । साठी वर्षअघि नेपाल छिरेकाएनजिओहरू सङ्गठित नेपाली जनशक्तिका चेतनाका बन्ध्याकरणमा लागेको र सरकारलाई कमिसन दिने, समाजसेवीका नाममा पार्टीका गुण्डा, तलवभोगीहरुमार्फत शिक्षा,स्वास्थ्य,कृषि, रोजगारी अनेक क्षेत्रमा काम गर्दै आएका पनि देखिएकै छ।त्यसलाई कथाहरुले जस्ताको तस्तै बोलेका छन् ।

४- सार्की दाइ कथा

सिप र श्रमका सम्मान नहुने र जातीय सङ्कीर्ण छुवाछुत गर्ने समाजमा गोथे सार्की जस्ता चेतनशीलपात्रहरुका पनि कदर हुँदैन । गोथे यो कथाको वर्ग प्रतिनिधि मुख्य पात्र हो । यो मनुस्मृति परम्परादेखिका वास्तविकता पनि हो ।सामाजिक,धार्मिक, सांस्कृतिक ,नैतिक पौराणिक,ऐतिहासिक समग्र जीवन जगतकाज्ञाता भएर पनि प्रतिशोधी सामजिक चेत आदिले क्षमतैवान भए पनि दलित भनेर उनका कुरा समाजले सुन्नै चाहन्न । रक्तनाताबाट मानिसलाई नहेरिने चलन गलत हो । कथामा छुवाछुतजन्य विभेदलाई गलत मानिएको छ । आफू निर्माण मजदुर भएर पनि जातजातिका धर्म संस्कृतिसंग जोडिएका अनेक कथा , नेवार, बाहुन, मगर, कामी र अन्य जनजाति र दलितहरुकै वारेमा हँसाउने किस्सा सामर्थ्य क्षमतावान बाहुनकाभन्दा चानचुने पनि देखिदैन । गोथे प्रतिभाशाली विद्यार्थी हुँदाका स्मृतिमा पनि भास्कर डुबेका छन् ।

पाठकका ध्यानलाई तान्ने गरी आफ्ना मुखपात्रमार्फत दलितलाई सामाजिक न्याय र तिनका मुक्तिका आकाङ्क्षामा डुब्छन् स्रष्टा । करिव आधा शताब्दीपछिका परिवर्तित चेतना, आफ्ना पुरानै पेशाप्रतिकागर्व, आर्य र द्रविडहरुका युद्ध सन्दर्भकै बेलादेखि द्रबिडहरुलाई फुटाएर आर्यहरुले मच्चाएका उत्पीडननिरन्तरतालाई माओवादी जनयुद्धले केही भत्काएसम्मका वास्तविकता कथामा छ । शासकहरु पुरानैसंस्कृतिका निरन्तरता कायम राख्ने अभियानमा हुनुलाई पनि दुखद मानिएको छ । सामन्त र दलाल वर्गकापूजापाठकै निरन्तरतामा लागेर शासकहरु बिग्रिएका बेला परिवर्तित सामाजिक सोचका अपेक्षा कथामा गरिएको छ ।

आफू निर्माण मजदुर भएर पनि जातजातिका धर्म संस्कृतिसंग जोडिएका अनेक कथा , नेवार, बाहुन, मगर, कामी र अन्य जनजाति र दलितहरुकै वारेमा हँसाउने किस्सा सामर्थ्य क्षमतावान बाहुनकाभन्दा चानचुने पनि देखिदैन ।

शासन सत्ता रूपान्तरण विरोधी नदेखिएका भए युद्धकालीन अन्तरजातीय विवाहहरु समेतभत्कन्थे । राणा प्रधानमन्त्रीकै पालामा जोसमनि सन्त परम्पराबाट प्रभावित भएर काठ्माण्डौंमा जगन्नाथमन्दिर निर्माण गरी सहभोज चलाए । कट्टर बाहुन पुजारीहरुका सर्वस्वहरण गरे । जोसमनि सम्प्रदायकै प्रचारक जातभात विरोधी कवि ज्ञान दिलदास,अखण्ड दिलदास आदिलाई जङ्गबहादुर राणाले नजरबन्दगरी देश निकाला गरेका र बिपि कोइराला , पुष्पलालसम्मका छुवाछुत विरोधी विचार र दलित मुक्तिआन्दोलनमा गोपाल लम्जेल, सर्वजीत विक आदिका सातसाल पूर्वकै विद्रोह र आन्दोलन घटनाबाट पनिगोथे सार्कीजस्ता कथाका पात्रहरु परिचित देखिन्छन् । भास्कर यो कथामा गोथे सार्कीलाई आफ्ना मुखपात्रबनाएर ऊमार्फत जातीय भेदभाव र सामाजिक छुवाछुतका विपक्षमा दरोसंग उभिएका छन् | कथा भन्छ –

क) ऋग्वेदका पुरुषसूक्त बनेपछि शासकहरुकै निर्देशनमा ब्राह्मणहरुले नश्ल र वर्णाश्रम चलन चलाए । ख)आर्य र गैरआर्य बीचका भेदभावले पनि छुवाछुतले प्रश्रय पायो ।
ग)सामाजिक हैसियत र श्रमविभाजन (काम विभाजन ।
घ)नैतिकवानमाथि अनैतिक यौनपिपासु शासक र सामन्तहरुका विजय ।

कथाका यी निष्कर्ष पात्रहरुबाटै देखाइको छ । वैदिककालदेखि नै द्रबिड जातिमाथि युद्ध जितेपछि भारतमा दलितमाथि चरम विभेद र उत्पीडन गरिन्थ्यो । शासकहरुले आफ्ना हितमा शास्त्रहरु लेख्न लगाए । त्यसका प्रभाव नेपालमा पर्नु स्वभाविक थियो पनि । कथाकारले यो कथामार्फत भीक्षा वा दान मागेर अधिकार नपाउने निष्कर्षमा पाठकलाई पुग्न बाध्य बनाएका छन् ।

५.साधु बाजे कथाका भावभूमि

चौथो खण्डमा कर्णाली क्षेत्रकै पृष्टभूमिबाट आरम्भ यस कथा ‘साधु बाजे ‘भौगोलिक विकटता, कठिनाइ,त्यस क्षेत्रका मनोरम प्राकृतिक सौन्दर्य,वन्यजन्तु आरक्षण , यात्राका त्रास आदि वर्णित सामाजिक कथा हो । लोककथा वा पुराणमा वर्णित एकादेशका दन्त्यकथाका सन्दर्भ पनि यसमा छन् । जे छन्खँदिला छन् । रोचक मननीय र पठनीय छन् ।

डरलाग्दो एकान्तस्थल, खिचडी पकाइरहेको एक्लो मानिस रउसका बाध्यात्मक यथार्थ अवस्था आदि सौन्दर्य परिवेशमा कथा आधारित देखिन्छ । परासर ऋषिलेसत्यवतीलाई बलात्कार गर्दाजस्तो अंध्यारो र तान्जानियाका बनवासी मानिसजस्ता लाग्ने धर्मराज रफोटोका दृष्यहरुले कथामा अनेक प्रश्न र शङ्काहरु जन्माएका छन् ।

प्राकृतिक सन्तुलन भएका ठाउँहरु , स्वस्थ्यकर हुने जोगी सन्त धर्मराजका गहन अभिव्यक्तिहरु आजकालोभी, द्रव्यपिपासु , पतीत र भ्रष्ट समाजका लागि कथामा सान्दर्भिक लाग्छन् । बीच जङ्गलमा भेटिएकासाधुकै कुराले पाठकहरुलाई जीवनवारे सोच्न बाध्य बनाउँछ । ईश्वर वा देवतालाई कसैले देखेभेटेको नभए पनि ऋग्वेदका पुरुषसूक्तले उल्लेख गरिदिएदेखि पुराणकालसम्म अज्ञानताबाटै समाजले स्वीकारेका सन्दर्भ ,पूजाचाकडी परम्पराकै निरन्तरता, अपूर्णताले आत्मविश्वासमा कमी ,प्रार्थना, भक्तिभाव, दुखसुनिदिने कोही नभएपछि काल्पनिक ईश्वरले सुन्लान् भन्ने बिश्वास आदिले पानीका लागि ईन्द्र,धनलाईकुवेर,वरदान आदिलाई ब्रम्हा,विष्णु, महेश्वर आदि देवताहरुका काल्पनिक भिड बनाइ दिने परम्परालाईअहिलेका आधुनिक विद्वानहरुले पनि चिर्न नसक्नुलाई जोगीमार्फत देखाउनुले कथा निकै उत्कृष्ट लाग्छ।

चार्वाक,बुद्ध आफै ईश्वर मान्दैनथे । प्रकृति र निराकार ईश्वरका ठाउँमा कृतिम, काल्पनिक ईश्वर र मानिसबीच मध्यस्तकर्ताका काम गर्ने गुरुहरुबाटै यथार्थका निन्दा र पुनर्जन्म,परलोकका झूटो शिक्षाभ्रम आदिमार्फत लुट मच्चाउदै आएका यथार्थलाई पात्रमार्फत कथामा देखाइएका छन् ।

हिलेकाही देखेका बाढी,पहिरो, बर्षादेखिसूर्य,चन्द्र,पर्वत,नदी, समुन्द्र आदिका रहष्य थाहा नपाएकालाई ब्राहमण गुरुले देवता भनिदिएपछि सामान्य मानिसले पनि त्यसलाई पत्यायो ।

दर्शनका प्रारम्भ नै आश्चर्यबाट भयो (भास्कर पृ.११७) । कहिलेकाही देखेका बाढी,पहिरो, बर्षादेखिसूर्य,चन्द्र,पर्वत,नदी, समुन्द्र आदिका रहष्य थाहा नपाएकालाई ब्राहमण गुरुले देवता भनिदिएपछि सामान्य मानिसले पनि त्यसलाई पत्यायो । ईश्वर नमान्ने जतिलाई राक्षस भनियो । यसबारे सङ्ग्रह प्रष्ट छ ।

डेकार्ड, फायरवाख, मार्क्स, एङ्गेल्स ,नित्से , वुद्ध आदिका मतमा पनि आजका दुनिया कसैका सिर्जना होइन। जुन कुरामा कथाकार सचेत छन् । ग्रहण सन्दर्भ,स्वर्ग,नर्क,नर र नारीका द्वन्द्वात्मक सम्बन्धबाट मानवसृष्टिप्रसङ्ग, पूर्व र पश्चिमका अनेक दार्शनिक मतमतान्तर, नेपालमा बेदका सत्तामा विश्वास गर्ने आस्तिक(न्याय,वैशेविक, सांख्य,मिमांसा,वेदान्त) र नास्तिक (जैन,वौद्ध र चार्वाक )जस्ता पूर्वीय दर्शन र खिचडीविचारधाराका विरोधाभासपूर्ण अनौठा समीश्रण ,अनौठा र अवैज्ञानिक तर्क र झूटा कल्पनामा सामन्तशासकहितमा लेखिएका शास्त्र र शास्त्र ब्यापार, विज्ञान , प्रकृति ,तारा, ग्रहगणप्रतिका त्रुटिपूर्ण भ्रमहरूकाराम्रो चिरफार गर्नुले पनि कथा निकै विशिष्ट लाग्छ पाठकलाई ।

कुनै परिवर्नन नआउने म्युजियम समाज पनि आजको यथार्थ हो ।दर्शन, दार्शनिक र दार्शनिक पद्धति , मानिसले पाल्नु पर्ने ईश्वर ,कर्मकाण्डीय धार्मिक अफिम , संसारलाई दुखमयी देख्ने बुद्ध दर्शन, युनानीहरुका स्वतन्त्र चिन्तन र तिनका प्रगति , शूद्रलाई मानिस नदेख्ने र कुकुरभन्दा पनि तुच्छ राख्ने ऋग्वेदकालीन ऋषिहरुका सोचकैनिरन्तरता,आस्तिक नास्तिक सन्दर्भ र कर्मकाण्डीय नरककुण्डबाट मुक्त हुनै नचाहने आधुनिकता विरोधीवर्तमान दानवहिस्सा चित्रणमा प्रयुक्त मुखपात्रका सशक्त भूमिकाले पनि सङ्ग्रह सशक्त बन्न पुगेको छ। प्रकृतिका रहष्य र सृष्टिका प्रेरकतत्व बुझ्न नसक्नेहरु गुरुत्वाकर्षण र चुम्बकीय शक्तिलाई पनि ईश्वरीय शक्ति देख्दै ईश्वरमा आनन्द देख्छन् अझै । कथाकारले यो कथामार्फत संसारका रहष्य खोतलेका छन् ।

६ -‘पिछडापन’ कथामा भास्कर

वुद्धि र ज्ञानको स्रोत प्राचीन संस्कार र संस्कृतिलाई मात्र बुझ्न थालियो भने मानिस अपाङ्ग हुन्छ ।अपाङ्ग दिमाखका प्रतिफल राजनीति, अर्थनीति,सामाजिक नीति ,कानुन प्रशासन सबै क्षेत्रमा परेको हुन्छ(कोइराला : दर्शन परिचय /लेखकीय ) । गरिव हुनुका कारण द्वन्द्ववादका नियम नबुझी बुझिन्न । भास्करलाई यो ज्ञानकै गुरु मानिन्छ । दर्शन र मानवीय व्यवहार,दृष्टिहरु वर्ग निरपेक्ष हुँदैन । विदेशीहरु नेपालमा जे प्रयोजनले आउँछन् । उनकै फाइदाका लागि आउँछन् ।

पर्यटन ,मनाङ सेरोफेरोका परिवेश , पन्ध्रवर्षपछि जापानिज प्राध्यापक र बिद्यार्थी सहित कुसुण्डा,राउटेजस्ता घुमन्ते आदिवासी सिमान्तगरिवका वारेमा अध्ययन गर्न विकासे परियोजना लिएर मकवानपुर, सिन्धुपाल्चोक र मुगु आएका भएपनिएकहप्ते फुर्सदका बेला घुम्न मनाङ आएका र मनाङमै भेटिएका पूर्वपरिचित कण्ठरामका सम्वादबाट योकथा आरम्भ छ । बिदेशी मोह पाल्ने नेपाली बौद्धिकहरु र नेपाली राज्य सन्चालनका भ्रष्ट मनोविज्ञानका चित्रण कथामा छ ।

नेपालका शक्तिपूजकहरु अभिशाप छन् । लोकतन्त्र पनि उत्तरमार्क्सवाद रउत्तरपुँजीवाद मिश्रित बुर्जुवातन्त्र भएकामा लेखक दुखी छन् ।

अफ्रिका,भारत,बङगालादेशका गाउँहरुमा पनि नेपालमा जस्तै गरिवहरु छन् । रोयल्टी तिरे पूर्व स्वीकृत नलिइ आउन पाउने देश नेपालमात्रै हो । कथाले बुर्जुवा बौद्धिकहरुका कारण सारमा परिवर्तन नआएका यथार्थलाई दर्शाउँछन् । नेपालका शक्तिपूजकहरु अभिशाप छन् । लोकतन्त्र पनि उत्तरमार्क्सवाद रउत्तरपुँजीवाद मिश्रित बुर्जुवातन्त्र भएकामा लेखक दुखी छन् । हेर्दा खासै अन्तर नपाइने फरक नामका पार्टी रतिनका व्यवहार तथा मतदाताकरण हुन नसकेका भाषणमात्र पत्याउने र ठीकबेठीक वहस क्षमता नभएका जनताका आलुचेतप्रति कथामा सशक्त व्यङ्ग्य छ । पाठक उठून् का सोझो आग्रह नभए पनि पात्र माध्यमका कथ्यमा सशक्तता छ। विदेशीसामु झुक्ने,वर्गीय समाज सौन्दर्य नबुझ्ने र अमेरिका,युरोपजस्ता आदिवासी,जनजाति गरिबलाई व्यापार बनाउने दृष्टि, क्षमताहीनहरुका राजनीतिप्रतिपनि कथामा व्यङ्ग्य छ । कथामा बुद्ध,महावीर नित्से, डार्विन, मार्क्स,ऐगेल्स,चोमनोम्स्कीहरुका विचारप्रतिसम्मान छ ।

अन्धता,विदेशुखी सोच, पुरातनमोह,अधिकारका दुरुपयोग प्रवृत्ति, परिवर्तन विरोधीहरुलाई सत्ता अवसर , सडेगलेका थोत्रा कुरालाई सम्पदा र गौरव ,अन्धता,अन्धविश्वास,दासता ,भाग्य,कर्मकाण्ड रपरलोक विश्वास ,शोषण र भेदभावलाई कानुनी रुप दिने प्रवृति ,देवता, व्रत, भूतप्रेत,सैतान, र कामभन्दा ईश्वर प्राथनामा जोड ,जादु,चमत्कार, ज्योतिष ,ग्रहशान्ति चिनाटिपोट आदिमा विश्वास गर्नु आदिलाई पिछडापनका कारण भनेर दर्शाइएको छ । मोहन वैद्य ‘किरण ‘ , निनु, ऋषिराज बराल, ईश्वरचन्द्रलगायतका सौन्दर्य चिन्तक आदिकै हाराहारीकै स्रष्टा प्रतिभा भास्करका यो कथा पनि अन्य कथाजस्तै वैचारिक कोणबाट पनि सशक्त देखिन्छ ।

७ .सहज र सरल सम्वाद

मगरकाका कथा सङ्ग्रहभित्र सङ्ग्रहित पाँचवटा कथाहरु नै थोरै तर सशक्त पात्र प्रयोग भएका कथाहरुहुन् । केही गौण जस्ता लाग्ने पात्रहरुमा पनि जीवनबोध छ ।कथाकारका मुख पात्रका प्रयुक्त पात्रहरुमाध्यमबाट कथाकारका विचारहरु प्रकट भएका छन । सम्वादमा कृतिमता देखिदैन । परिचय रसमसामयिक विषय उठानसहित प्रश्नोत्तरमय वार्ता शैली कथामा प्रयोग भएको छ ।त्यसपछिकासहानुभूतिशील सरल र सहज बोलीवार्ता, पात्रहरुका स्तरअनुरुपका भाषा , भेषभूषा , जीवनशैली प्रस्तुतिलेकथा उत्कृ्ट बन्न पुगेका छन् ।

८- निष्कर्ष

प्रा.डा.भवानीप्रसाद पाण्डे ‘भास्कर ‘ प्रगतिवादी नेपाली आख्यान ,समालोचना र सामाजिक राजनीतिक शैक्षिक क्षेत्रमा क्रियाशील र परिचित नाम हो । प्रलेस नेपाल,इच्छुक सांस्कृतिक प्रतिष्ठान, अखिल नेपालजनसाँस्कृतिक महासङ्घ, अखिल नेपाल लेखक सङ्घ, सांस्कृतिक फाँट , बुद्धिजीवी तथा प्राध्यापन क्षेत्रका उच्च तहमा रहेर समग्र रूपान्तरणका लागि भौतिक , नैतिक ,सांस्कृतिक रूपमा पाण्डेबाट खेलिएका भूमिका साना देखिदैनन् ।

साहित्य समाजकै लागि लेखिन्छ । यो अठारौं कृति ‘मगर काका ‘ दार्शनिक , सांस्कृतिक , सामाजिक प्रगतिशील उन्नत चेतनाबोध भएको समाजशास्त्रीय यथार्थ धरातलमालेखिएको वस्तु सौन्दर्य पहिचानमुखी नवीन खालको कथासङ्ग्रह हो । समाजकै सुक्ष्म विश्लेषण यसमा गरिएको छ । उन्नत रूपको अग्रगमन अपेक्षा यसले गरेको छ । पाठकलाई द्वन्द्वात्त्मक भौतिकवादी चेतअङ्कुरण गर्दै राष्ट्रिय अन्तराष्ट्रिय मानवीय मूल्य र नयाँ युगका खोजी यसमा भएको छ । प्रकाशनवर्ष,विषयसूचि आदिमा केही त्रुटि र एकाध ठाउँमा शिल्पशैलीगत कला पुग्न नसके पनि प्राय सबै कथाकाvअन्तरवस्तुमा मननीय सौन्दर्य छ । भोग्य मानव जीवनका यथार्थ नै यसमा देखिन्छ ।स्वर्ग र नरककाविश्वासलाई पछौटे चेतका उपज देखिएको छ ( पृ,११८) ।यो चिन्तनबाट समाज मुक्त नभएको सत्य हो ।

यो अठारौं कृति ‘मगर काका ‘ दार्शनिक , सांस्कृतिक , सामाजिक प्रगतिशील उन्नत चेतनाबोध भएको समाजशास्त्रीय यथार्थ धरातलमालेखिएको वस्तु सौन्दर्य पहिचानमुखी नवीन खालको कथासङ्ग्रह हो ।

पूर्ववर्ती साधनाचरणका तुलनामा भास्करका उत्तरवर्ती साधनाचरण अरू भिन्न र पाको देखिन्छ । यो कृति पनि पाकोपनकै उपज देखिन्छ । उपन्यासीय संरचनाका ४८ पृष्टसम्मका कथाहरुका फैलावट संरचना पनियस सङ्ग्रहका नवीन पक्ष हुन् । समाजका कुनाकुना घुमेको अनुभूत गराउनु सङ्ग्रहका बिशेष पक्ष हो । ईश्वरप्रतिका नवीन दृष्टि प्रस्तुत गर्न कथाकारले प्रयोग गरेका मुख पात्र र तिनका निर्भिक दृष्टिकोणआदिले कथाकार सफल बनेका छन् । नवीन दृष्टिकोण, चिन्तन र प्रयोगबाटै आधुनिक पाठकहरू लाभान्वित हुने तथ्यलाई दृष्टिगत गर्दै आउदा दिनहरूमा पनि यस्तै रुपान्तरण चेत भरिएका पठनीय सुन्दर कृतिहरूका अपेक्षासहित श्रद्धेय अग्रज प्रगतिवादी साधक भास्कर गुरूका सशक्त र समृद्ध साधना निरन्तरताको कामना गर्दछु ।

पोखरा, २०७७-०४-२०

सन्दर्भसूची

१,कोइराला,परशुराम (२०६५ ,प्र. संस्क.), दर्शन परिचय ,पोखरा : गण्डकी साहित्य सङ्गम

२,भास्कर ( भवानीप्रसाद पाण्डे), ( २०७६ ),मगरकाका (समाजशास्त्रीय कथासङ्ग्रह ),काठमाण्डौं : विवेक सिर्जनशील प्रकाशन प्रा.लि

३,कोइराला,संजीव(मोहन/मातृका) (२०७६), जिन्दगीका सत्ताइस वर्ष, ज्याग्दी,स्याङ्जा : तुलसीराम, तोयनाथ,संजीव स्मृति परिवार

४, सुवेदी,राजेन्द्र र डा. लक्ष्मणप्रसाद गौतम (सम्पा.)(२०६८), रत्न बृहत नेपाली समालोचना, काठमाण्डौं : रत्न पुस्तक भण्डार ।