पोखरा महानगरले थाल्यो फोहोर वर्गीकरण तथा व्यवस्थापन अभियान

पोखरा महानगरपालिकाले घर घरमा फोहोर वर्गीकरण तथा व्यवस्थापन अभियान थालेको छ ।महानगरले वडा नम्बर ५, ८, १६, १७, १९, २६ र २७ मा आइतबारदेखि अभियान सुरु गरेको हो ।

छुट्याऔं फोहोर बनाऔं मोहर भन्ने उद्घोषका साथ अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सुरुआत गरे ।

आइतबार बिहान सबैभन्दा पहिले पोखरा १७ मा भएको कार्यक्रममा मेयर जिसीले यो अभियानलाई राजनीतिक अभियानको संज्ञा दिए । उनले सबै विषयको मूल राजनीति भएकाले सरसफाई र सभ्यताको अगुवाइ पनि राजनीतिक नेता, कार्यकर्ताले नै गर्नुपर्ने उनको भनाइ छ ।

वर्षेनी फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले युगसापेक्ष अभियान थालिएको उनले बताए । मेयर जिसीले भने, ‘पोखरामा वर्सेनि १० देखि १५ हजार घर थपिन्छन् । अहिले नै फोहोर व्यवस्थापनको उचित योजना नथाल्ने हो भने यो पछि निकै ठूलो चुनौती बन्छ ।’

उनले यो अभियानलाई अनुदानमा आधारित नबनाइने प्रस्ट पार्दै बस्ती बस्तीबाट नागरिकको साथको अपेक्षा गरे । उनले भने, ‘आयआर्जनसँग जोड्दै सहरलाई सफा, सभ्य र नमूना बनाउन सबै पोखरेलीले उत्साहपूर्वका साथ दिने अपेक्षा गरेका छौं ।’

सहरी योजना आयोगका उपाध्यक्ष रामचन्द्र लामिछानेले पोखरामा अहिले निस्किने फोहोरमध्ये ८० प्रतिशत कुहिने खालको भएको उल्लेख गरे । उनले भने, ‘यो फोहोरबाट कम्पोस्ट मल बनाएर आयआर्जन बढाउन सकिन्छ भने पुनप्रयोग हुने खालका वस्तु आफैं फेरि प्रयोग गर्न सकिन्छ वा बेच्न सकिन्छ । फेरि प्रयोग गर्न नमिल्ने फाल्नैपर्ने १० प्रतिशतभन्दा पनि कम फोहोरमात्रै घरबाट निस्कने वातावरण बनाउन जरुरी छ ।’

पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले फोहोरलाई हेर्ने नागरिकको दृष्टिकोण परिर्वतन जरुरी भएकोमा जोड दिए । उनले अहिले विश्वले नै व्यहोर्नु परेको महामारीमा जस्तै यो अभियानमा पनि वडावासीको साथ रहने अपेक्षा गरे ।

अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडा अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मूल समिति र सचिवालय समिति गठन गरिने मूल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले बताइन् । उनले भनिन्, ‘अभियानलाई सफल बनाउन चेतना विस्तार र सबैमा जिम्मेवारी बोध जरुरी छ ।’

कार्यक्रममा नेकपा पोखरा १७ सचिव ईश्वरीप्रसाद लम्साल, कांग्रेस पोखरा १७ सचिव डिआर भट्टराई, नेपाल रेडक्रस सोसाइटी पोखरा १७ का सभापति झपिन्द्रराज रेग्मी, पोखरा १७ का वडासचिव ईश्वरीप्रसाद पोखरेल, सन्तोष पौडेल लगायतले बोलेका थिए ।

पोखरा ५ मा भएको कार्यक्रममा वडाध्यक्ष धनबहादुर नेपालीले यो अभियान महानगरमा अपरिहार्य भएकाले अब महानगर यसबाट पछि हट्न नसक्ने उल्लेख गरे । महानगरका प्रवक्तासमेत रहेका उनले अभियानबाट सभ्य, समृद्ध र स्वस्थ समाज निर्माणका लागि योगदान पुग्ने अपेक्षा गरे ।

पोखरा ५ की वडा सदस्य अञ्जु केसीले सरसफाइ नै सभ्यताको पहिचान र समृद्धिको आधार भएको बताइन् । कार्यक्रममा नेकपा ५ का अध्यक्ष विष्णुप्रसाद बराल, कांग्रेसका प्रतिनिधि धनञ्जय पौडेल, वडा सदस्य उज्ज्वल खत्री लगायतले बोलेका थिए ।

महानगरले फोहोर वर्गीकरण मापदण्ड तयार गर्ने, घर, घरमा ३ प्रकारका फोहोरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी ४ महिनासम्म निरन्तरता दिने, ४ महिनाभित्रमा फोहोर मैला व्यवस्थापन, मूल्य लगायतका मापदण्ड निर्माण गर्ने जनाएको छ । पोखरामा दैनिक करिब १ सय ८२ टन फोहोर हुने बताइन्छ ।

यो अभियान क्रमश महानगरका सबै ३३ वटै वडामा सञ्चालन गर्ने योजना छ। अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १ सय ४८ सदस्यीय मुल समिति गठन गरिएको छ ।

पोखरामा २०५५ सालमा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र ५९ सालमा सम्पन्न भए पनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।