अपराधी वा अभियुक्तलाई टेलिभिजन वा आमसञ्चारमाध्यममा अन्तर्वार्ता लिनुहुँदैन किनभने कानुनी वा अदालती प्रक्रियामा रहेको व्यक्तिले आफूलाई निर्दोष देखाउने, एक पक्षीय एवम् भावनात्मक कुरा गरेर जनमत सिर्जना गर्ने र न्यायिक प्रक्रियालाई अबरुद्ध गर्न सक्ने अवस्था रहन्छ ।
ऋषि धमलाजीको जनता जान्न चाहन्छन्ू कार्यक्रममा निम्त्याइएका पाहुना रञ्जन कोइराला नियतपूर्वक, योजनाबद्ध र क्रूर तरिकाले श्रीमती मारेर प्रमाण नष्ट गर्न खोज्ने पूर्वप्रहरी अधिकृत हुन् । सर्वोच्च अदालतले रञ्जनको सर्वस्वहरणसहित आजीवन काराबासमध्ये १२ वर्ष माफी गरेर छुटकारा दिएको भए पनि त्यो फैसला विवादित भएर पुनरावलोकनका लागि पुनः सर्वोच्च अदालतमा पेस भएको अवस्था छ । यसको अर्थ रञ्जन जेल बाहिर भए पनि उनी अझै न्यायिक प्रक्रियाको दायराभित्र छन् ।
यस्ता मान्छेले आफ्नो सफाइ दिने भनेको अदालतमा हो, टेलिभिजन वा कुनै आमसञ्चार माध्यममा होइन । पत्रकारिता पेसामा संलग्न मान्छेले कम्तिमा यति कुरा बुझ्नु आवश्यक छ किनभने कुनै पनि सर्तमा पत्रकारिता सामाजिक न्यायको प्रक्रियाको विरुद्धमा जानु हुँदैन । केही वर्षअघि एभिन्युज टेलिभिजनमा चुडामणि शर्मालाई अख्तियार दुरुपयोग गरी करोडौं भ्रष्टाचारको आरोप लागेको बेला आफ्नो सफाइ पेस गर्ने गरी एक जना अनुभवी भनिएका पत्रकारले अन्तर्वार्ता लिएका थिए ।
पत्रकारिताका न्युनतम सर्तहरुलाई बुझ्न सकिएन भने कपाल फुलेर मात्रै वा वरिष्ठ भनिदिएर मात्रै पत्रकार हुन सकिन्न ।
पत्रकारिताका न्युनतम सर्तहरुलाई बुझ्न सकिएन भने कपाल फुलेर मात्रै वा वरिष्ठ भनिदिएर मात्रै पत्रकार हुन सकिन्न । पैसा वा अन्य प्रलोभनका कारणले अपराधीहरुको पहुँच वा नियन्त्रणमा मिडिया पुग्नु भनेको नेपालको संविधानको धारा १९ ले दिएको अधिकारको दुरुपयोग हो ।
रञ्जन अन्तर्वार्ता प्रकरणमा ऋषि धमलाजीले यथाशीघ्र सार्वजनिक क्षमायाचना गर्नुपर्छ । साथै, प्रेस काउन्सिल नेपालले ऋषि धमलाजी र उहाँको प्राइम टेलिभिजनलाई स्पष्टीकरण सोध्न जरुरी छ ताकि आगामी दिनमा अपराधीहरु आमसञ्चारमाध्यममा आफ्नो वकालत गर्न आइपुग्न नपाउन् ।




