डियर कमरेड!
तिमी किन पटक्क
डराउँदैनौ
मृत्युको छायाँसित..??
अाकाश जत्रो पैतालाले
जुन दिन तिम्रो भोकको
नक्सा कुल्च्यौ
तिमी त्यही दिनदेखि बाघी बन्यौं।
अधिकार
लडेर मात्र पाइने हो,
यो मन्त्र कस्ले सिखायौं तिमीलाई?
कार्ल मार्क्सको हिरोइजम
तिमीमा कहाँबाट अायौ हँ??
कसैसित अन्याय भईरहँदा पनि
चुपचाप
चुपचाप
बगरै बगर खोलाको बाटो
केही चाल नपाए जस्तो गरि
हामी हिडिरहँदा पनि
तिमी त्यो खोलाको अावज उछिनेर
बेस्सरी चिच्याई रहन्छौ
विद्रोह गर्छौं
न्याय माँगछौ!!
डियर कमरेड!
तिम्रा साथीहरु थोरै
दुश्मनहरु धेर
किन छ हँ?
चौकमा
जहाँ तिमी उभिएर
इन्कलाब भन्छौ
मजदूरहरुको कुरा गर्छौ
दलितहरुको पक्षमा बोल्छौ
जुलुस निकाल्छौ
ती राता झण्डाहरुले
बोकेका
हसिँया
मार्तलहरुले
किन अझसम्म भत्काउन सकेको छैन
समान्तीहरुको फलामे पर्खाल !
तिम्रो नाउँमा फटाहाहरु
राजनिति गर्छन्
बदनाम बन्छन्
पैसामा अाफ्नै इमान बेच्छन,
कमरेड
तिम्रा अाँखाहरु
किन हरबखत रातो..??
मार्कसलाई पढेपछि
सबले बराबरीको हक पाउनु भन्ने सिख्यौ कि
कि चेतनाको पखेँटा अाफै उमार्यौ??
सैधान्तिक द्वन्द!
समान्तर
इमानदारी!
के तिमी एक्लैले
यो लडाई जित्छौ त!
चारु मुजुमदारको
ब्ल्याक एण्ड व्हाइट फोटो
अस्ति तिम्रो खलतीमा पुलिसले भेटेदेखि
मलाई डर लागेको छ!
न्युजले दिनभरि
देशको भ्रष्टचार
राजनैतिक अडकलबाजी
हत्या
बल्तकार
अंधविस्वास
सत्ताको खिचातानी
लाइभ प्रसारण देखाइरहन्छ
एेसी रुममा
समाचार वाचक / पत्रकार
गरिबहरुको झुपडी देखाउँदै
चुकचुकाइरहन्छ
टिअारपी बड्छ
देशको गरिबी घट्दैन!
धनी र गरीब
मजदूर र मालिक
किन यो घडीसम्म एक हुन सकेन?
सत्ताको दावपेचमा
किन सर्वहाराले जीतको गीत गाउन सकेनन्??
डियर कमरेड
तर….
सत्यको इमान नबेच्ने
तिमी जस्ता बहादुर
जब यो माटो कुल्चिन्दै हिड्छ
लाग्छ
तिमी एक्लैले थालेको युद्धको
विजयी सिपाही
तिमी नै बन्नेछौं
एक दिन।




