पोखरामा भानुभक्तको सम्झना

वर्षातको परवाह नगरी पोखरामा साहित्यकार भानुभक्त आचार्यको सम्झना गरिएको छ । आचार्यको २ सय ७ औं जन्मजयन्तिको अवसरमा भएका कार्यक्रमका सहभागीले उनको प्रतिमामा माल्यार्पण, उनका रचनावाचन र योगदानको चर्चा गरे ।

भानु वाङ्मय प्रतिष्ठानले सोमबार बिहान आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मीनाकुमारी गुरुङले नेपाली भाषाको उन्नयनमा भानुको योगदान अतुलनीय रहेको बताइन् । प्रतिष्ठानका अध्यक्षसमेत रहेका साहित्यकार सरुभक्तले भानुपार्कलाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

समारोहमा समाजसेवी गणेशबहादुर भट्टराईले स्थापना र भानु वाङ्मय प्रतिष्ठानले सञ्चालन गरेको भानु वाङ्मय पुरस्कार २०७६ प्रदान गरियो । पृथ्वीनारायण क्याम्पसबाट नेपाली स्नातकोत्तर २०६६ मा सर्वाेत्कृष्ट अंक ल्याउने स्याङ्जा वालिङका वसन्त खनाल १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत भए ।

कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, भानुमार्ग महिला समिति अध्यक्ष मीठु गुरुङ, प्रतिष्ठानका उपाध्यक्ष हनिफ मियाँ, सचिव अम्बिकाप्रसाद भट्टराई लगायतले बोलेका थिए । समारोहमा साहित्यकार पद्यराज ढकालले भानुका सिर्जना सुनाए ।

कार्यक्रमका सहआयोजकमा भानुमार्ग महिला समूह र भानुमार्ग टोल विकास समिति, आदिकवि भानुभक्त आचार्य साहित्य प्रतिष्ठान थिए ।

यस्तै,तनहुँ सम्पर्क समाजले पनि भानु जयन्ती मनाएको छ । समाजले भानुको प्रतिमामा माल्यार्पण र कवितावाचन आयोजना गरेको हो । कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालले गण्डकी प्रदेशले नेपालको राजनीतिक र साहित्यिक दुवै क्षेत्रमा नेतृत्व गरेको उल्लेख गरे । उनले भने, ‘पृथ्वीनारायण शाहले नेपालीलाई एकताको सूत्रमा बाँधे भने भानुभक्तले भाषाको माध्यमबाट नेपालीबीचको एकता मजबुत बताए ।’

अहिले पनि गण्डकी प्रदेशले स्थापित र नयाँ नयाँ प्रतिभाबाट साहित्य, संगीत, कलामा प्रभावशाली उपस्थिति जनाइरहेको उनले उल्लेख गरे । कार्यक्रममा गायिका चन्द्रावती वाग्लेको तीजगीत ‘सहरको सुविधा र म’ पनि सार्वजनिक गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईको अध्यक्षतामा भएको थियो ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।