भानुभक्त : नेपाली भाषा, साहित्यका चहकिला नक्षत्र

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायण नेपाली भाषा र साहित्यको पहिलो महाकाव्य हो।

मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ‘आदिकवि’ त्यतिसारो चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि मात्र तमामको जिभ्रोमा भानुभक्त आदिकवि हुन थाले । अनि सूर्यविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे ।

मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यस मितिलाई सच्याएर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको ठोकुवा गरेर १९९८ सालमा “भानुभक्त मणिमाला” नाउँको किताब निकालिन् । त्यस कितापमा भानुभक्तले नै बनाएको जन्मकुण्डली र जन्मकुण्डली उपर उनैले लेखेको श्लोक भनेर पनि पेस गरियो । तर उक्त श्लोक र कुण्डली भानुभक्तबाट नै तयार भएको भन्नेबारे कुनै प्रमाण देखिदैन ।

भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायण नेपाली भाषा र साहित्यको पहिलो महाकाव्य हो।

वास्तवमा कुनै पनि ब्राम्हणको निधनसँगै जन्मकुण्डली चितामा जलाउने हिन्दू परम्परा नै छ । त्यसमाथि भानुभक्त त पण्डित नै थिए । त्यतिमात्र होइन उनको जन्मकुण्डली जोगाएर राख्नुपर्ने कुनै कारण नै थिएन । अनि त्यतिखेर उनी आदिकवि पनि थिएनन् । तर उनको निधनको ७३ बर्ष पछाडि भानु जन्मकुण्डली प्रकाशित हुनुको अर्थ के हो ? मोतीराम पछाडिका लेखकले भानुजीवनी लेख्ने क्रममा यस्ता अनेक नाटकीय दस्तावेज प्रस्तुत गर्दै आए ।

नरनाथ आचार्यले पनि मोतीरामलाई खसाल्ने काम नै गरेको देखिन्छ । त्यतिमात्र होइन, विष्णुमायादेवीबाट प्रस्तुत भएको भानुभक्तको जन्म श्लोक र जन्म कुण्डली सहितका प्राय: धेरै दफामा उनले पनि आफ्नो बुढी औठा थिचे । त्यसपछि प्राय: अरुहरु आचार्य पनि धुरिएर विष्णुमाया र नरनाथकै साक्षीमा नै मौजुद देखिए । वास्तवमा त्यस बेहोराले भानुभक्तबारेका तथ्यहरु कुन ठीक र कुन बेठीक भनेर छुट्याउन गाह्रो पर्न थाल्यो । कतिसम्म भने आचार्य खलकबाट नै भानुभक्तका कवितामा समेत पाठभेद हुन थाल्यो।

अन्तत: नेपाल सरकारबाट भानुभक्त आचार्य द्विशतवार्षिकी कार्यक्रममार्फत नरेन्द्रराज प्रसाईकृत “भानुभक्त आचार्यको जीवनवृत्त” नामक जीवनीकृति २०७१ सालमा प्रकाशित भएपछि थुप्रै जिज्ञासाको सावधान हुन थाल्यो ।

भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए ।

भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक काशीका एक जना विद्वान्ले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :

पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया
खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।

भानुभक्तले जति जाने आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट जाने । किनभने उनका बाजे नेपालका छेउभित्तादेखि भारतको काशीसम्म जताजता गए पनि भानुभक्त पनि उनको हातको चोर औंला समाउँदै हिंड्थे। अनि उनका बाजे धार्मिक भइकन विद्वान् पनि थिए । त्यस बखत तनहुँभरि श्रीकृष्णको सुनाउँ थियो । त्यसैले बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो ।

श्रीकृष्ण आचार्यका छोरा धनञ्जयले पनि बाल्यकालदेखि नै विद्याआर्जन गरे । पछि उनी सरकारी खरदार भए र जागिर खाएको केही वर्षमा उनले छोरो पाए । भनौं तनहुँ रम्घाको चुँदीबेसीको आचार्य निवासमा धनञ्जय र धर्मावतीदेवीको छोराको रूपमा भानुभक्त जन्मे । तर ,आदिकवि भानुभक्तको सृजनात्मक न्वारन मोतीरामले नै गरिदिए ।

बाल्यकालदेखि भानुभक्तको जीवनचर्या एउटा कविको जस्तो, एउटा जमिनदारको जस्तो र एउटा राजर्षि ठाँटको जस्तै थियो ।

भानुभक्तलाई टाउकोमा राखेरै मोतीराम पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे । भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने अनेक कला झिके । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्‍याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो चरित्र नायकका रूपमा काँधमा बोके ।

वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे । तर भानुभक्तकी नातिनी विष्णुमायादेवीबाटै मोतीरामलाई छोप्ने षड्यन्त्रको सुरुवात हुन थाल्यो । अनि त्यस कलामा आबद्ध हुन अरु आचार्यहरु पनि त्यति चुकेका देखिएनन् । उनकी नातिनी विष्णुमायादेवीको कृति “भानुभक्त मणिमाला”मा त मोतीरामको ‘मो’ पनि उच्चारण गरिएको पाइदैन ।

भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । तर, उनका हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।

वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे । तर भानुभक्तकी नातिनी विष्णुमायादेवीबाटै मोतीरामलाई छोप्ने षड्यन्त्रको सुरुवात हुन थाल्यो ।

नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले नेपाली बस्ने देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।

भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले `नेपाली´ भन्ने शब्दको प्रतिपादकका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा धेरै भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ जिल्ला र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् ।

त्यस दिन नर्सिङ्गा, ट्याम्को दमाहा र झ्याम्टाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपाली गोरखालीका लागि भानुजयन्ती दसैँभन्दा पनि ठूलो चाड मानिन्छ । वास्तवमा दार्जिलिङमा भानुजयन्ती मनाउन थालेपछि मात्र नेपालमा पनि भानुजयन्ती मनाउने परम्पराको थालनी भएको हो ।

वास्तवमा दार्जिलिङमा भानुजयन्ती मनाउन थालेपछि मात्र नेपालमा पनि भानुजयन्ती मनाउने परम्पराको थालनी भएको हो ।

पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।

भानुभक्तले रामायणको बालकाण्ड समेत ७ काण्ड, प्रश्नोत्तर लघुकाव्य, भक्तमाला, वधूशिक्षा र रामगीतानामक कृतिहरू नेपाली भाषासाहित्यको क्षेत्रमा दिए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पार्‍यो । अनि त्यही रामायणले नेपाली भाषालाई समेत लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्‍यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।

भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको ‘रामगीता’को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई ‘रामगीता’ टिपाएर नै छाडे । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ साल असोज ६ गते भानुभक्तको देहावसान भयो।

आदिकवि भानुभक्तमा हार्दिक श्रद्धाञ्जली ।