बाजे
ओ भानुभक्त बाजे
सबैले सम्झिरहेका छन् तिमीलाई
मैले सम्झिरहेको छु हजुरआमालाई
सम्झिरहेको छु गजाधर बाजेको परिवारलाई

जुन बेला म सानै थिए
स्कुल जाने उमेर भएकै थिएन
हो त्यै समयमा
मलाई मेरी हजुरआमाले
रामायण सुनाउनु हुन्थ्यो
एक दिन नारद सत्य लोक पुगिगया भन्दै
मैले रमाइलो मानी मानी घण्टी बजाउथे
दाइले खुसी हुँदै शंख बजाउथ्यो
बहिनी छेउमै हात जोडेर बस्थी
खुब आनन्द लाग्थ्यो हामीलाई
तिमीले
रामायण लेख्दै गर्दा
अह कहिँ कतै लेखेनौ
नारीहरुले पढ्न पाउनु पर्छ भनेर
नारीहरुले लेख्न पाउनु पर्छ भनेर
लेख्दै गर्दा
थुप्रै कविताहरु
लेख्यौ तिमीले नारीले हांस्न हुँदैन भनेर
हांस्ने नारीहरु वेश्या हुन् भनेर
हो बाजे
इतिहासको त्यस घडीमा
बिद्रोह नै सहि
अलिकति मात्रै नारीको पक्षमा लेखिदिएको भए
मेरी सय वर्षकी हजुराआमाले
तिम्रो बाल्मिकीय रामायणमा
उहिल्यै पिएचडी गरिसक्थिन् ।









