‘हामी जिउँदै छौ, जिउँदा सती हौं’

सय वर्षअघि जन्मेका भए हामी जिउँदै जलाइन्थ्यौं । अहिले हामी बाँचेका छौं ।
जूना केसी यति बोल्दा बोल्दै भक्कानिइन् । १३ वर्षमा विहे भएकी जूना २६ वर्षमै विधवा बनिन् । त्यसपछिको उनको जीवन संघर्षले भन्छ : विधवा अहिले पनि जिउँदा सती हुन् ।

मानवअधिकारका लागि महिला एकल महिला समूह कास्की अध्यक्ष जूनाले सती प्रथा उन्मूलन भएको १९७७ साल सम्झिइन् । उनले भनिन्, ‘हाम्रो संस्थामा मात्रै ९ लाख एकल महिला छौं ।
त्यो कुप्रथा नहटेको भए शायद हामी हुने थिएनौं ।’

फाउन्डेसन फर अ जस्ट सोसाइटीको सहकार्यमा मानवअधिकारका लागि महिला एकल महिला समूह कास्कीले पोखरामा सोमबार सतीप्रथा उन्मूलन भएको सय वर्षको अवसरमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा समूहका संरक्षक दुर्गा न्यौपानेले सती प्रथा र नेपाली महिलाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिन् ।

न्यौपानेले सतीप्रथालाई महिला हिंसाको सबैभन्दा चरम रुपका रुपमा चित्रण गरिन् । एकल भएपछि महिलालाई हिन्दू समाजले बाच्ने अधिकार नदिएको उल्लेख गर्दै उनले थपिन्, ‘शरीरमात्र हुनु जीउँदो हुनु होइन ।’ सतीप्रथा उन्मूलन भएको असार २५ गतेलाई एकल महिला दिवस वा राष्ट्रिय नारी दिवसका रुपमा मनाउनुपर्ने उनको सुझाव छ ।

पोखरा महानगरपालिका वडा नं. ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले समयक्रममा हट्नैपर्ने सती प्रथा हटेको र महिला विकास र सभ्यताको मूल प्रवाहमा आएको बताए । उनले इतिहास जति जान्न खोज्यो उति गहन हुने उल्लेख गर्दै ज्ञानले मानिसका धारणा र मार्गचित्र परिवर्तन गर्ने उल्लेख गरे ।

समूहका गण्डकी प्रदेश अध्यक्ष प्रमिला तझ्याले एक शताब्दी बिते पनि विधवाको जीवनमा ठूलो परिवर्तन नआएको तर्क गरिन् । उनले भनिन्, ‘अधिकांश एकल दिदीबहिनी जिउँदा सतीकै अवस्थामा छन् ।’

आमा मिलन केन्द्रकी अध्यक्ष इन्दिरा पौडेलले सती प्रथाको अवशेषको उदाहरण सुनाइन् । २०३३ सालमा श्रीमान्सँगै सती जान खोज्ने भाउजूलाई सारीको फेरोमा समातेर रोक्न खोजेको र घरमा ल्याएर चाबी लगाएर राखेको स्मरण गरिन् ।

कार्यक्रममा संस्थाका सचिव विष्णु श्रेष्ठ, सहसचिव हरिमाया बराल, महिला आधार सहकारीका प्रबन्धक सरिता कोइराला लगायतले महिला हिंसाको स्वरुप बदलिए पनि कतै न कतै यो कायमै रहेको बताए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।