शुक्रबार राति आएको अविरल वर्षाका कारण पोखरा १८, सराङ्गकोट, गोठादीमा ५ जना व्यक्तीको ज्यान गएको छ । जसमा ४ जना एकै घरपरिवारको र १ जना छिमेकीको दुखःद निधन भएको छ । त्यस्तै गरेर पोखरा २६, बराल डाँडामा १ जना, पोखरा २५, हेम्जामा १ जनाको दुखःद निधन भएको छ । यस दुखःद र अकल्पनिय घटनाबाट ज्यान गुमाउनुहुने मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
यसै घटनामा घाइते हुनुभएका सबै जनाको शीघ्र स्वास्थ्य लाभका कामना पनि गर्दछु । खास गरेर पूर्वाधार विकास कार्यक्रम र विकासको नाममा गरिने असारे विकासको कारण यस्ता दुखद घटना घटिरहेका छन् । सराङ्गकोटमा घटनास्थल देखि करिब १०० मिटरमाथि सडक खनिएको कारण यो घटना घट्न पुग्यो । विना योजना तथा प्रविधिक अध्ययन विना गरिने यस खाले विकासले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ । यसतर्फ माननीय सभामुखमार्फत प्रदेश सरकारको ध्यानाकृष्ट गर्न चाहन्छु । साथै मृतकको परिवारलाई क्षतीपुर्ती र घाइतेको निशुल्क उपचार गरिदिन म सभामुखज्यूमार्फत प्रदेश सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु ।
गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखराका अधिकांश मुख्य तथा सहायक सडकहरु खाल्डाखुल्डीले तथा अन्य कारणले असाध्यै धेरै जीर्ण भएका छन् । वर्षात्को समयमा खाल्डामा पानि जम्ने र दुर्घटनासमेत हुने गरेको छ । यससँगै खानेपानीको पाइप लाइन विस्तारको क्रममा धेरै सडक खनिएका छन् र वर्षतको पानीले भत्काएको अवस्था छ । हामीले यस समस्याबारे महानगरमा अनुरोध गर्न गएका थियौं ।
महानगरको भनाइ अनुसार यो सडक सडक विभाग अन्र्तगत पर्दछ । यहाँ पर्दैन सडक विभाग जानुस् भन्ने जबाफ पाइयो । त्यसपछि सडक विभाग जाँदा हामीसँग बजेट छैन त्यसकारण अहिले सडक मर्मत गर्न सक्ने अवस्थामा छैनौ भन्ने जवाफ आयो । विषेष गरेर पोखरा ११, नारायण स्थानदेखि मणिपालसम्मको सडक, नारायण स्थानदेखि भलामसम्मको सडक, महेन्द्रपुलदेखि काहुँ खोलासम्मको सडक, पोखरा जिरो किमिदेखि हल्लन चोकसम्मको सडक, पृथ्वीचोकदेखि कोत्रेसम्मको सडक लगाएत अन्य सडक असाध्यै धेरै खाल्डाखुल्डी भएका छन् ।
सराङ्गकोटमा घटनास्थल देखि करिब १०० मिटरमाथि सडक खनिएको कारण यो घटना घट्न पुग्यो । विना योजना तथा प्रविधिक अध्ययन विना गरिने यस खाले विकासले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ ।
त्यस कारण भौतिक तथा पूर्वाधार मन्त्रालय अन्र्तगत प्रदेश सरकारले मर्मत सम्भार भनेर आ.व. ०७७÷०७८ को लागी बजेट विनियोजन गरेको छ । तसर्थ पोखरा गण्डकी प्रदेशको राजधानी पनि भएको तथा प्रदेश सरकारको दायीत्व पनि भएकाले र खासै ठूलो रकम पनि नचाहिने हुँदा उक्त सडकहरु महानगर र सडक विभागको मुख नहेरिकन मर्मत गर्न म सभामुख मार्फत प्रदेश सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु ।
शुक्रबार राति आएको अविरल वर्षका कारण पोखरा ४, स्काउट अफिस देखि नजिक सुकुम्बासी बस्तीमा नजिकै रहेको फिर्के खोलाको बहाव बढेको कारण र उक्त स्थानमा बन्दै गरेको पुलको कारण माटो थुप्रीएको र खोला थुनिएको छ । उक्त ठाउँको निरिक्षण गर्दा खोला थुनिएको कारण बस्ती नै जलमग्न भई ढुवानमा परेको र बस्ती विस्थापित हुने अवस्थामा रहेको छ ।
त्यस्तै गरेर पोखरा ४, सिद्धार्थ चोक देखि फिर्के खोलासम्म जाने बाटो र गैह्रापाटन लगायतका ठाउँमा पनि जमिन भासिएका छन् । तसर्थ भासिएका ठाउँ पुर्न तथा मर्मत संभारका लागि पनि अन्य निकायसँग मुख नताकीकन प्रदेश सरकारले यसतर्फ ध्यान पुर्याउन सभामुखमार्फत प्रदेश सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु ।
२०७७ असार २६ गते शुक्रबार प्रदेश सभामा शून्य र विषेष समयमा थापाले प्रस्तुत गरेको भनाइ









