सरकार, टेस्ट घटायौं कि विवरण लुकायौं ?

- मन्त्रालय भन्छ : भारतबाटै आउने घटे

पछिल्ला दिनको संक्रमितको ग्राफ हेरेपछि जनस्वास्थ्य विद् डा समीरमणि दीक्षितलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ याद आउँछ । अमेरिका लकडाउनका लागि नबनेको टिप्पणी गर्ने ट्रम्पले केही दिनअघि जाँच कम गरिदिए संक्रमितको संख्या कम आउने र टन्टो नै साफ हुने आशयको अभिव्यक्ति दिएका थिए ।

नेपालमा पछिल्लो २४ घन्टामा १ सय ८ जनामात्र नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तथ्यांकमा विज्ञहरुको त कुरै छाडौं, सर्वसाधारण पनि विश्वास गर्न तयार छैनन् ।

जनस्वास्थ्यका अध्येताहरु सरकारले वास्तविक तथ्यांक लुकाएको हुन सक्ने बताउँछन् । नेपाल सुरक्षित छ भन्ने सन्देश दिन यस्तो गरिएको हुन सक्ने उनीहरु बताउँछन् । दिनदिनै सार्वजनिक एउटै खालको संक्रमितको विवरणले यो शंका थप बलियो बनाएको छ ।

अर्का जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डे महामारी शास्त्र, संक्रमणको इपिडेमियोलोजी र कोरोना संक्रमण वृद्धिको अन्तर्राष्ट्रिय प्रवृत्ति विपरीत नेपालमा विगत ५/७ दिन यता संक्रमितको संख्या नाटकीय ढंगले घट्नु अस्वभाविक भएको बताउँछन् । बुधबार २४ घण्टामा २०४ संक्रमित थपिएका थिए ।

महामारी शास्त्र, संक्रमणको इपिडेमियोलोजी र कोरोना संक्रमण वृद्धिको अन्तर्राष्ट्रिय प्रवृत्ति विपरीत नेपालमा विगत ५/७ दिन यता संक्रमितको संख्या नाटकीय ढंगले घट्नु अस्वभाविक

नेपाल कोरोना संक्रमण अध्ययन तथा विश्लेषण केन्द्रका संयोजकसमेत रहेका पाण्डे सरकारले बाँडेको किटमै खराबी हुन सक्ने सम्भावना पनि औंल्याउँछन् । उनले भने, ‘कहिले कुनै मेसिनमा जाँचिएका सबैको रिपोर्ट पोजेटिभ आएको थियो । अहिले सामग्री अभावले जाँच कम गरिएको हुन सक्छ । पछिल्ला केसमा कन्टयाक्ट टे«सिङ नै नभएको देखिन्छ ।’

उनी उपत्यकामा ७५ जना संक्रमित देखिँदा उनीहरुको सम्पर्कमा आएका एक जनाको १० जना भए पनि ७५० जनाको जाँच हुनुपर्नेमा त्यसो नभएको टिप्पणी गर्छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढे अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको छैन ।

बिहीबार विज्ञप्ति निकालेर उनले भनेका छन्, ‘परीक्षणको गति एकदम सुस्त हुनु, लामो समय होल्डमा राखेका स्याम्पलको आरएनए नष्ट हुनु, प्रयोगशालामा गलत रिपोर्ट आउनु, कन्ट्याक्ट ट्रेसिंग नगर्नु तथा पद बचावटको लागि आम नागरिकको जनस्वास्थ्य जोखिममा राख्ने वा विषयान्तर गर्ने काम कसले किन गरेको छ, त्यसको छानबिन गर्न नेकोसाक माग गर्दछ ्र’

त्यस्तै सामुदायिक तथा नीजी प्रयोगशालालाई पिसिआर गर्न दिने सरकारको निर्णय शीघ्रातिशीघ्र कार्यान्वयन गरी परीक्षणको दायरा बढाउन पनि उनको माग छ । कोरोना संक्रमण समुदायमा कुन स्तरमा छ भनेर परीक्षण नगरी एकाएक सार्वजनिक यातायात खोल्ने निर्णय पनि अवैज्ञानिक रहेको डा पाण्डेले दाबी गरे ।

जनस्वास्थ्य विज्ञ डा दीक्षित अब विदेश र भारतबाट आउने करिब सकिए भनेर नयाँ परीक्षण नबढाइएको विचार राख्छन् । उनी भन्छन्, ‘समाजलाई हेरिएन । समुदायमा पनि संक्रमण हुन सक्छ भन्नेमा ध्यान दिइएको छैन । परीक्षण नै कम गरौं संक्रमण पनि देखिदैन भनेजस्तो भएको छ ।’

मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतम भने परीक्षणको दायरा कम भएकाले संक्रमित कम देखिएको मान्न तयार छैनन् ।

असार १९ गते २४ घण्टामा संक्रमितको संख्या अहिलेसम्मकै धेरै ७७४ थियो । त्यसको भोलीपल्ट नै असार २० गते २३२ जनामा मात्रै संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि परीक्षणको दायरालाई बढाएर दैनिक १० हजार पुर्याटउने घोषणा गरेका थिए । तर अहिलेसम्म एकै दिन करिब ८ हजार भन्दा बढीको जाँच हुन सकेको छैन । पछिल्ला दिनमा दैनिक ४ हजार आसपास स्वाब जाँच गर्ने गरिएको छ । बिहीबार २४ घण्टामा ४ हजार ५ सय ८८ पीसीआर जाँच गरिएको थियो ।

मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतम भने परीक्षणको दायरा कम भएकाले संक्रमित कम देखिएको मान्न तयार छैनन् । उनी अहिले भारतबाट आउनेको संख्या घटेकाले यस्तो भएको दाबी गर्छन् ।

मन्त्रालयले अहिले ५ जिल्ला कोरोना फ्रि रहेकोसमेत जनाएको छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य रहेको मन्त्रालयले जनाएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।