१.आमुख
सम्भवत: सृष्टिसँगै छन्दको प्रादुर्भाव भएको हुनुपर्दछ ।त्यसैले ‘छन्द पादौ तु वेदस्य…’ पाणिनीय शिक्षा ४१-४२ ले इङ्गित गरे पनि लौकिक साहित्यमा छन्दको प्रचुर प्रयोग भएको छ छन्द : सूत्रका प्रथम प्रणेताका रूपमा आचार्य पिङ्गल नै सर्वाधिक प्रसिद्ध छन् ।अन्य विद्वानहरुले पनि छन्दशास्त्रको रचना गरेका छन् ।छन्दको व्यापकता असीमित छ ।
गद्य र पद्य गरी काव्यका दुई भेद छन् । साहित्य दर्पणकार आचार्य विश्वनाथले ‘…छन्दोवद्ध पदं काव्यम्’ भनेका छन् । भलै रस-भाव केही नहोस् तथापि त्यो पद्य मानिन्छ ।छन्द लक्षणमा निबद्ध नभएको रचना गद्य मानिन्छ । यहाँनेर छन्दसँगै रस, ध्वनि र अलङ्कार आदि रहने तथ्यलाई बिर्सनु हुँदैन ।
२.ऐतिहासिकता
यहाँ छन्दशास्त्रको प्राचीनता , व्युत्पत्तिमूलक विवेचना , वेदमा छन्दको प्रयोग , छन्दमा उपनिषद् , छन्दमा पुराण , संस्कृतकाव्यमा छन्दको प्रभाव , छन्दको व्यापकता , छन्दको महनीयता र नेपाली साहित्यमा छन्दको फैलावट एवम् नेपाली कवि र तिनका काव्यकृतिहरुको वारेमा केही उल्लेख गरिने छैन । अतएव सोझै छन्दका अविश्रान्त कर्मठ अभियन्ता माधव वियोगीबाट छन्दका निम्ति गर्नु भएका सङ्घर्षहरुका वारेमा सङ्क्षिप्त चर्चा प्रस्तुत छ ।
३.छन्द बचाऊँ अभियान-२०५३
नेपाली कविताको थालनी लोकसाहित्यबाट भएको मानिन्छ । वि. सं. १८२६ कालदेखि वि. सं. १९७५ हुँदै आजपर्यन्त १०५ जना भन्दा बढी कविहरुद्वारा महाकाव्यको रचना भइसकेको अवस्थामा छन्दकविताले धेरै फड्को मारिसकेको भए पनि वि. सं. २०५३ अघितिरको छन्दकविताको अवस्थालाई हृदयङ्गम गरी छन्द अभियान चलाउनै पर्ने गम्भीर अवस्था देखी तुरुन्तै देश व्यापी रूपमा अविस्मरणीय र ऐतिहासिक कदम चाल्नुभएको बुझिन्छ ।
यतिखेर छन्द धपक्क बलेको छ । महाकाव्यहरु धमाधम लेखिन थालेका छन् । छन्दका कविताहरु गाउन थालिएका छन् ।
विलक्षण प्रतिभावान वियोगीले कविता गजल निबन्ध समालोचना खण्डकाव्य र महाकाव्य समेत गरी २६ ओटा सारगर्भित कृतिहरु लेखिसक्नु भएको छ । आफू वर्षको एउटा महाकाव्य लेख्ने र साथीहरुलाई पनि महाकाव्य लेख्न सुझाव वा प्रेरणा दिइरहनुहुने ‘ महाकाव्य लेखन अभियान -२०६०’ का अभियन्ता माधव वियोगीको साहित्य सिर्जना सम्बन्धी अझ खास गरी कविता काव्यप्रतिको योगदानको उच्चतम कदर गर्दै उहाँको ५० औं वर्ष प्रवेश को सन्दर्भमा वि. सं. २०६७ मा महाकविका रूपमा माधव वियोगी वाङ्गमय प्रतिष्ठान नेपालले भव्य अभिनन्दन गरी अभिनन्दन ग्रन्थसमेत प्रकाशित गरिसकेको छ ।
४. छन्द-अभियानको स्वरूप , लक्ष्य र विस्तार
छन्द-प्रगतिको कामनासहित अत्यधिक छन्द र लोकलयहरुको प्रयोग गर्दै विशालकाय महाकव्य रचना गर्न कटिबद्ध रहने माधव वियोगीले वि. सं. २०५३ सालपूर्व छन्द कवितामा आएको शिथिलता र गतिहीनताप्रति दृष्टिगत गरी छन्द कविताकाव्यलाई तीव्रतर गति प्रदान गर्न ‘ प्रस्तावना , पृष्ठभूमि, छन्दको परम्परा , जीवन शैलीका रूपमा छन्द , कवि र कविताका सम्बन्धमा मेरो दृष्टिकोण , गद्य किन कविता होइन ? , छन्दको महत्व , नियम र उदाहरण , कार्यक्रम सञ्चालकको झलक र माग तथा अनुरोध ‘ जस्ता सान्दर्भिक शीर्षकका आधारमा घोषणा पत्र नै तयार पारी तदारुरताका साथ राष्ट्र व्यापी आन्दोलन गर्दै छन्द बचाऊँ अभियान-२०५३ लाई सङ्घर्षकै रूपमा अघि सार्नु मात्र भएन अपितु प्रत्येक वर्षको वैशाख ८ गतेलाई ‘छन्द दिवस ‘ का रूपमा नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृति दिलाएर ऐतिहासिक कार्य पनि सम्पन्न गर्नुभएको छ ।
५.उपसंहार
नेपाली छन्दका धरोहर एवम् महाकवि माधव वियोगीले घोषणापत्रमात्र जारी गर्नुभएको छैन किन्तु प्रशस्त खण्डकाव्य र महाकाव्यहरुका साथै छन्दका नव साधकहरुका लागिसमेत ‘छन्द केशर ( छन्दसूत्र सङ्ग्रह,२०६३ प्रकाशन गरेर देश व्यापी रूपमा प्रचार प्रसार र छन्द प्रशिक्षण दिने कार्यसमेत गरी धेरै ऐतिहासिक र अनुकरणीय कार्यहरु सम्पन्न गर्नुभएको छ ।
यतिखेर छन्द धपक्क बलेको छ । महाकाव्यहरु धमाधम लेखिन थालेका छन् । छन्दका कविताहरु गाउन थालिएका छन् । काव्यग्रन्थका निम्ति ठुलाठुला पुरस्कार स्थापित भएका छन् ।घोषणापत्र अनुकूल नै आफ्नो जीवन शैली बनाउनु हुने माधव वियोगीको छन्दनायकको पद सार्थक भएको छ । छन्दको विकास र प्रगतिका निम्ति जे जति माधव वियोगीबाट कार्य सम्पादन भएका छन् ती ज्यादै प्रशंसनीय , अनुकरणीय , कीर्तनीय , वन्दनीय र स्तुत्य छन् ।










