दुर्गेशले चोरे अली मियाँको गीत (भिडियोसहित)

चर्चित गायक दुर्गेश थापा बेला बेलामा अनेक फन्डा गरेर चर्चामा आइरहन्छन् । गत वर्ष बीच्च बीच्चमा बोलको तीजगीतबाट चर्चा बटुलेका थापाले यसपालि नयाँ तीजगीत बजारमा ल्याएका छन् ।

बीच बीचमा २ एउटा फोटो खिच बोलको तीजगीत उनले हालै सार्वजनिक गरेका छन् । आफ्नै नामको युट्युब च्यानलमा उनले अपलोड गरेको यो गीत सोमबारसम्म करिब १८ लाखले हेरिसकेका छन् ।

उनको गीतको तेस्रो अन्तरा र लोककवि अली मियाँको गीत आकाशमा बादलु डम्मै छ हुबहु छन् । गायक थापाले आफूले गाउँतिर सुनको भाका प्रयोग गरेको जिकिर गरे । उनले नेपालदुतलाई भने, ‘काम गर्दा गल्ती पनि हुन सक्छ । मैले सुनेको भाका प्रयोग गरेको हुँ ।’

अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले यसरी गीत चोरिनु दुःखको कुरा भएको बताए । उनले भने, ‘गल्ती गरिहाले छन्, माफी माग्लान् नि ।’ यो गीत प्रेमराजा महत र हरिदेवी कोइरालाले करिब एक दशकअघि गाएका छन् ।

यसअघि तिहारबारे उच्छ्रिङ्खल गीत गाएपछि दुर्गेश पक्राउ गरेका थिए । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा प्रयोग गरिएको शब्दका कारण उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो ।