लघुकथा: सच्चा गुरु

निरु बिहानै उठेर कुचो लाउँदै थिई , पल्लो घरका छिमेकीकोमा खैला बैलाको आवाजले कान ठाडो पारेर सुनी । कुरो त सामान्य नै रहेछ । मनमनै ” ईन्डियनका सल्लाह र नेपालीका हल्ला उस्तै हुन् ” भन्दै कामतिरै लागी । उनीहरुका हल्ला रुपि सल्लाहले आज गुरु पूर्णिमाको दिन भएको थाहा पाई ।

गुरुलाई श्रद्धा पूर्वक सम्झिने , सम्मान गर्ने दिन । वरिपरिका फलफूल र मिठाइ पसलहरुमा पनि निकै घुइँचो लागेको थियो ।
निरुले पनि २ किलो स्याउ किनेर ल्याई । गुरुलाई भेट्न जाने निर्णय गरी । तर ऊ निकै दोधारमा परी ।” यतिका गुरु छन् , अब यो फल कुन गुरुलाई लगेर दिउँ ?” मनमनै आफैसित प्रश्न गरी ।

जीवनको पहिलो गुरु आफ्नी आमालाई सम्झी । आफु सानै छँदा छोडेर आमा अर्कैसित पोइला गएको सम्झिंदै आँखाबाट तुरुक्क आँसु झारी । फेरि दोस्रो गुरु आफ्नै बुवा सम्झी । सौतेनी आमाको कुरा सुनेर घरबाट नै निकालिदिएको सम्झेर फेरि तुरुक्क आँसु झारी । मन सम्हाली । कामको खोजीमा भौंतारिंदा काम दिएर गुन लाएका साहुलाई सम्झी । पटक पटक यौन दुर्व्यवहार गरेर मानसिक पीडा दिएको सम्झी । यसै गरि जस जसलाई सम्झिन्छे उसैप्रति सम्मान र इज्जत भाव आउनुको साटो निरुलाई उल्टै उनीहरुका दुर्व्यवहार र उनीहरूले गरेका नकारात्मक कामको मात्र सम्झना आयो ।

उसले फेरि मनमनै सोंची, “संसारमा आफ्नो लागि सच्चा गुरु त आफै पो रहेछ । जति पीडा भएपनि आफ्नो मन सम्हालिदिने आफै नै रहेछ । अरुका कुरा जति सुनेपनि निर्णय लिने भनेको त आफू स्वयंको नै रहेछ ।” त्यसपछि गुरुलाई दिन भनी ल्याएको स्याउको झोला उठाई । एउटा दाना झिकेर आफ्नै मुखमा राखेर गड्याम् गड्याम् चबाई ।